arrow

लागु औषध तस्करीको ट्रान्जिट बन्दै झापा, प्रहरीको आक्रामक शैली 

logo
यज्ञराज आङ्देम्बे,
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
drugess-jhaoa.JPG

दमक । पछिल्लो समय झापा जिल्ला लागु औषध तस्करीको ट्रान्जिट बन्दै गएको छ ।  खुला सिमाना कारण पछिल्लो समय झापा लागु औषध प्रयोगकर्ता तथा कारोबार गर्नेहरूको अखडा बन्दै सप्लाई गर्ने ट्रान्जिट बन्दै गएको हो । जिल्लाका मुख्य सहरी क्षेत्रमा दिनहुँ जसो लागु औषध ओसारपसार तथा प्रयोगकर्ता नियन्त्रण हुने क्रम बढ्दै गएपछि लागु औषधको त्यस्तो अवस्था बाहिर आएको हो ।

सरकारको ऐन तथा नीतिलाई लत्त्याउँदै कतिपय औषधि पसलमा समेत त्यस्ता प्रतिबन्धित लागु औषध बिक्री वितरण भइरहेको बताइएको छ । सरकारले तोकेका मापदण्ड विपरीत औषधि व्यवसायीले खुलेआम लागूपदार्थ बिक्री वितरण गरिरहेका कारण पनि समस्या बन्दै गएको पाइएको छ ।

लागु औषधको दुरुपयोगको समस्या दिनानुदिन बढिरहेकाले झापा प्रहरी आक्रामक शैलीमा लागु औषध कारोबारी पक्राउ गर्न थालेको प्रहरीले जनाएको छ । लागु औषध ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी हुने गरेको तथ्याङ्कले देखाएको छ । विश्वव्यापी समस्याका रूपमा रहेको लागु औषध प्रयोग र कारोबार झापामा पनि जटिल बन्दै गएको प्रहरी अधिकारीको दाबी छ । 

लागु औषध प्रयोग गरेका कारण पनि जिल्लाको शान्ति सुरक्षामा समेत नकारात्मक असर परिरहेको प्रहरीले जनाएको छ । बाहिरी देशमा सङ्गठित र सक्रिय गिरोहको सञ्जालले गर्दा पनि नियन्त्रण कार्य चुनौतीपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वी काँकडभिट्टा र दक्षिणी गौरीगञ्ज भारतीय नाकाबाट बढी जसो लागु औषध जिल्लामा भित्रिने गरेको छ । त्यो नाका हुँदै कारोबारीले जिल्लाको सहरी क्षेत्र धुलाबारी, चारआली, बिर्तामोड, भद्रपुर, दमकलगायतका क्षेत्रमा पुर्‍याउने गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार खुला सीमाका कारण नेपाल र भारतको स्थल मार्ग हुँदै ठुलो परिणाममा लागु औषध ओसारपसार हुने गरेको छ । भारतबाट ब्राउन सुगर, हेरोइन, कोकिनलगायत लागु औषध नेपाल आउने गरेको पाइएको छ । नेपालबाट गाँजा, चरेस र अफिम ठुलो परिणाममा भारततर्फ तस्करी हुने गर्छ । 

सङ्गठित रूपमा हुने लागु औषध तस्करी रोक्न प्रहरीले प्रयास गर्दै आए पनि सफल हुन सकेको छैन । तस्कर समूहले विभिन्न उपाय लगाएर लागू औषधको कारोबार गरिरहेको र त्यसलाई नियन्त्रण गर्न प्रहरी परिचालित भइरहेको उनको भनाइ छ । झापा जिल्लामा गत आर्थिक वर्ष २०७६-७७ को तुलनामा चालू आर्थिक वर्ष २०७७-७८ को मङ्सिरसम्म लागु औषधका मुद्दा ६५ दशमलव ७ प्रतिशतले वृद्धि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७ देखि २०७८ मङ्सिरसम्म ७९० लागु औषध कारोबारी पक्राउ परेका छन् । गत आर्थिक वर्षमा लागु औषधसम्बन्धी कसुरमा प्रहरीले १८२ जनालाई पक्राउ गरेको थियो । अघिल्लो आर्थिक वर्षमा लागु औषध सम्बन्धीका ११८ मुद्दा दर्ता भएका थिए । तर चालू आर्थिक वर्षको यो अवधिमा लागु औषध प्रयोग तथा ओसारपसारमा संलग्न हुनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा बढेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा अधिकांश १४ देखि ४० वर्ष उमेरसम्मका छन् । उनीहरूले शरीरका विभिन्न भागमा लागु औषध लुकाएर ल्याएका थिए । पक्राउ पर्नेहरूमध्ये अधिकांशले आफू भरिया भएको बताउँछन् । लागु औषध सीमा कटाएबापत रु एक हजारदेखि १० हजारसम्म ज्याला पाउने उनीहरू बताउँछन् । 

लागु औषध प्रयोगकर्ताहरूका अनुसार नेपाल–भारत चल्ने बस, सहज रूपमा सीमा वारपार गर्ने रिक्सा, मोटरसाइकल, मालवाहक ट्रक र बाह्रै मास किनमेलका लागि काँकडभिट्टा र गौरीगञ्ज बजार जाने नेपालीको भीडबाट प्रहरीको आँखा छल्न सहज हुने लागू औषध मुद्दामा जेल जीवन काटिरहेका एक युवा बताउँछन् । जहिल्यै भिडभाड हुने मुख्य नाका र त्यसवरपर नेपाल प्रहरीको निगरानी कम पुग्दा लागु औषध तस्करले खेतबाट रात साँझको समयमा समेत लागु औषध नेपाल भित्र्याउने उनले बताए ।  काँकडभिट्टा र गौरीगञ्जमा रु डेढ सयदेखि दुई सय पर्ने लागु औषध काठमाडौँ, चितवन र पोखरा पुर्‍याउँदा रु एक हजारदेखि तीन हजारसम्म प्रतिडोज मूल्य पर्ने भएकाले तस्करहरू यस नाकातर्फ पल्किएको ती युवाको भनाइ छ ।

लागु ओषत ओसारपसारका घटनामा कानुन कठोर भए पनि नियन्त्रणका उपाय भने प्रभावकारी देखिएका छैनन् । प्रहरीले ओसारपसारमा संलग्न साना भरिया समाते पनि मुख्य नाइके तथा कारोबारी पक्राउ परेका घटना भेटिँदैनन् । 

विदेशी नागरिकले लागु औषध नेपालको सिमानासम्म ल्याइदिने र त्यहाँबाट भने नेपालीले लागु औषध स्थानीय स्तरमा पुर्‍याउने गरेको पाइएको छ । जसकाकारण मुख्य कारोबारी पक्राउ गर्न हम्मे हम्मे पर्ने गरेको प्रहरीको भनाइ छ । त्यसो त नेपालमा प्रतिबन्धित लागु औषध भारतीय बजारमा सहजै खरिद गर्न पाउने भएकाले पनि नेपाली प्रयोगकर्ताका लागि भारतीय बजार रोजाइँदा पर्ने गरेका प्रहरी उपरीक्षक भट्टराईले बताए । 

लागु औषधको कारोबार तथा प्रयोगकर्ता घटाउन सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले काम गरि आएपनि झापामा भने खासै प्रभावकारी बन्न नसकेको सरोकारवालाले बताउँछन् । झापामा एक दर्जन बढी गैरसरकारी संस्थाले जिल्लाभरि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिआएका छन् । त्यतिकै सङ्ख्यामा लागु औषध प्रयोगकर्ताका लागि सुधार केन्द्र सञ्चालनमा छन् । 

सरकारी तथ्याङ्कका अनुसार अहिले देशभर लागु औषध प्रयोगकर्ताको सङ्ख्या दुई लाखभन्दा बढी रहेको छ । पुरुषको सङ्ख्या बढी भए पनि महिला पनि लागु औषध कारोबारमा सक्रिय रहेको बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ