arrow

एनसेलको स्वास्थ्य सम्बन्धी पहलले पायो विट्सा र एसोसीओ अवार्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ६ सोमबार
ncell-awarded-2078.jpg

काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामीण, दूर दराजका सेवाबाट वञ्चित समुदायहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सञ्चालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुई वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। यो कार्यक्रमका लागि एनसेलले विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसीओ अवार्ड २०२१ जित्न सफल भएको छ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले शुक्रवार काठमाडौँमा आयोजना गरेको ‘बीटुबी बिजनेस समिट २०२१’ को अवसर पारी यी दुई पुरस्कार सम्माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले एनसेललाई हस्तान्तरण गरेका थिए। वर्ल्ड इन्फरमेसन टेक्नोलोजी एण्ड सर्भिसेस् अलाएन्स (विट्सा) र एसियन–ओसियनियन कम्प्यूटिङ् इण्डष्ट्रि अर्गनाइजेसन (एसोसीओ) मा क्यान महासँगले नेपालको प्रतिनिधित्व गर्दछ।

विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ को विजेताहरूको घोषणा गत कार्तिक २७ गते बङ्गलादेशको ढाकामा आयोजित एक कार्यक्रममाझ भएको थियो। एनसेलले यो अवार्ड मेरिट विनरको रूपमा इ–हेल्थ सोलुसन अवार्ड (प्राइभेट सेक्टर-एनजिओ) विधा अन्तर्गत जितेको हो।

त्यस्तै गत कार्तिक २६ गते बङ्गलादेशको ढाकामा आयोजित वर्ल्ड कङ्ग्रेस अन इन्फरमेसन एण्ड टेक्नोलोजी २०२१ कार्यक्रममा एनसेलले हेल्थटेक अवार्ड २०२१ विधा अन्तर्गत एसोसीओ अवार्ड जितेको घोषणा गरिएको थियो। यस कार्यक्रममा विभिन्न २४ देशका ३५ सङ्घसंस्था तथा कम्पनीहरू  एसोसीओ अवार्डबाट सम्मानित भएका थिए।

“१०० भन्दा बढी योग्य, नवीन तथा राम्रा आवेदनहरूको समीक्षा गर्ने हामीले मौका पायौ ।” विश्वभरका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सङ्घसंस्था हरूको छाता सङ्गठन विट्साका सेक्रेटरी जनरल जीम पोइसन्टले शुक्रवार कार्यक्रममा देखाइएको भिडियो सन्देशमा भने । “इनोभेटिभ इ–हेल्थ सोलुसन्स् अन्तर्गत एनसेल आजियाटा लिमिटेड विजयी भएको छ । दूर दराजका जनसमुदायलाई सेलुलर र डिजिटल प्रविधिहरूको प्रयोगमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेकाले यो पुरस्कार प्रदान गरिएको हो।”

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण, दूर दराजका सेवाबाट वञ्चित समुदायहरूलाई उनीहरूको घरदैलोमा नै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको थियो । यो कार्यक्रम धुलिखेल अस्पताल अन्तर्गतका विभिन्न ग्रामीण भेगका चार स्वास्थ्य केन्द्रहरूमा लागु गरी सकिएको छ । यस कार्यक्रम अन्तर्गत जनसमुदायले आफ्नै स्थानीय स्वास्थ्य केन्द्रमार्फत धुलिखेल अस्पतालमा रहेका विशेषज्ञ डाक्टरहरिसँग परामर्श लिन सक्छन्।

“हाम्रो सामाजिक जिम्मेवारी अन्तर्गत सुरु गरिएको स्वास्थ्य सम्बन्धी यस नवीन कार्यक्रमले प्रतिष्ठित विट्सा र एसोसीओ अवार्ड जित्न सफल भएकोमा हामी निकै खुसी छौ ।” एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले भने । “यस पहलले दूर दराजका जनसमुदायको जीवन रक्षा गर्न मद्दत गर्नुको साथै आफ्नै ठाउँमा नै सेवा उपलब्ध हुने भएकाले सहरका अस्पतालमा जाँदा लाग्ने समय र स्रोत बचत गर्नमा योगदान गर्दछ । यो कार्यक्रमले १५ हजार भन्दा बढी घरधुरीका जनसमुदायहरूलाई दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरूको उपचार सेवामा प्रत्यक्ष योगदान गर्दछ।”

कार्यक्रम पुरस्कृत भएकोमा खुसी व्यक्त गर्दै धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले भने, “एनसेलसँगको हाम्रो यस सहकार्यले अन्तर्राष्ट्रिय पुरस्कार पाउनु ठुलो सम्मान हो । जनसमुदायलाई सजिलै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न यो कार्यक्रम २० वा सो भन्दा बढी स्वास्थ्य केन्द्रमा लागु गर्ने हाम्रो योजना रहेको छ ।”

टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम धुलिखेल अस्पतालद्वारा ग्रामीण भेगमा सञ्चालन गरिएको चार वटा स्वास्थ्य केन्द्रहरू सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलान्चोकको बोल्डेमा सञ्चालन भइरहेको छ । यो कार्यक्रममा टेलिमेडिसिन र पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पीएचपी) गरी दुई क्षेत्रमा केन्द्रित रहेको छ।

टेलिमेडिसिन अन्तर्गत आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग गरी अस्पतालका चिकित्सक तथा विज्ञहरूसँग सिधै सम्पर्क स्थापित गराई स्थानीय जनसमुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान दिइन्छ । पीएचपी अन्तर्गत यो कार्यक्रम सञ्चालन भएका क्षेत्रका समुदायका स्थानीयहरूले पर्सनलाईज्ड स्वास्थ्य सेवा पाउनेछन् जसका लागि स्वास्थ्य केन्द्रहरूले त्यहाँका स्थानीय मानिसहरूको स्वास्थ्य सम्बन्धी नियमित जाँच गर्नेछ र समयमा नै आवश्यक स्वास्थ्य उपचार स्थानीय ठाउँमा नै गर्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ