arrow

सर्वोच्चका न्यायाधीश र बारबीचको बैठक निष्कर्ष विहीन

अवरोध धेरै नलम्ब्याउन आग्रह, बार आन्तरिक छलफलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ३० मंगलबार
suprim_cort.jpg

काठमाडौं। सर्वोच्च अदालतका आन्दोलनमा उत्रिएका न्यायाधीश र नेपाल बार तथा सर्वोच्च बार एसोसिएसनका पदाधिकारीबीचको बैठक बिना निश्कर्ष सकिएको छ।

करिब दुई घण्टा भएको छलफलमा सर्वोच्च अदानलतका न्यायाधीशहरुले अवरोध धेरै लम्ब्याउँदा न्याय प्रवाहमा असर पर्ने धारणा राखेका थिए। तर बारका पदाधिकारीहरुले भने प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोलन नरोकिने अडान लिएका छन्।

‘न्यायाधीशहरु र बारबीच छलफल भयो, हाम्रो मूल सर्त प्रधानन्यायाधीशको राजीनामा नै हो,’ नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने।

बैठकमा १३ न्यायाधीश सहभागी थिए। पाँच जना न्यायाधीशहरु भने सहभागी भएनन्। उनीहरु सोमबारबाट नै असन्तुष्ट न्यायाधीशहरुको समूहबाट अलग भएका थिए।

सर्वोच्चको विवादमा प्रधानन्यायाधीशविरुद्ध उभिएकामध्ये ६ जना न्यायाधीश आन्दोलनबाट अलग भएर मंगलबारबाट इजलासमा फर्किएका छन्।

प्रधानन्यायाधीश विरुद्ध सर्वोच्च अदालतमा नेपाल बार एसोसिएसन र सर्वोच्च बारको नेतृत्वमा भइरहेका आन्दोलनका कारण विगत तीन सातायता मुद्धाको सुनुवाइ प्रभावित हुँदै आइरहेको छ। त्यसयता न्यायाधीशहरु पनि आन्दोलनमा उभिंदै आइरहेका थिए।

तर लामो समयसम्म अदालतमा आन्दोलन हुँदा जनताले न्याय पाउने नसकेको र न्याय नै प्रभावित भइरहेको भन्दै यस्तो अवस्था लामो समयसम्म लैजान ठीक नहुने निश्कर्षसहित ६ जना न्यायाधीश आन्दोलनबाट अलग हुने निणर्यमा पुगेका हुन्।

यस्तो निणर्य लिने न्यायाधीशहरुमा तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ, प्रकाश ढुंगाना, कुमार चुँडाल र मनोज शर्मा छन्।

यी मध्ये न्यायाधीश प्रकाश ढुंगाना बाहेकले हिजो सोमबार नेपाल बारसँग भएको छलफल पनि बहिष्कार गरेका थिए।

आज भने ढुंगाना पनि सोही कित्तामा उभिएका हुन्। न्यायाधीशहरुसँगको छलफलपछि अहिले बारको आन्तरिक छलफल जारी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ