arrow

पूर्वन्यायाधीश फोरमले देखायो प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने आधार 

वैधानिक बाटोबाट अदालत प्रवेश गर्नै नसक्नेबाट न्यायपालिकाको नेतृत्व हुन सक्दैन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
cholendra-rana-chief-justic.jpg

काठमाडौँ। पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउने प्रशस्त आधार रहेको बताएको छ। फोरमका अध्यक्ष टोपबहादुर सिंहले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले राजीनामा दिएर अविलम्ब पदबाट बिदा हुनु पर्ने बताएको हो।

विज्ञप्तिमा प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउने पर्याप्त आधारहरू रहेको दाबी गरिएको छ। सो दाबीमा सर्वोच्चबाट जारी अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्दाको काम कारबाही र न्याय सम्पादनमा प्रभाव पर्ने गरी टीकाटिप्पणी नगर्न भनी मिति २०७७ साउन १३ मा सर्वोच्च अदालतबाट नै जारी गरिएको विज्ञप्ति र न्यायाधीशहरूको आचारसंहिताको दफा ४.४ विपरीत सर्वोच्च अदालत पूर्ण इजलासमा विचाराधीन नेपाल सरकारविरुद्ध प्रतिवादी रञ्जनप्रसाद कोइरालाको विषय देखाइएको छ।

‘अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्दाको काम कारबाही र न्याय सम्पादनमा प्रभाव पर्ने गरी टीकाटिप्पणी नगर्न भनी मिति २०७७ साउन १३ मा सर्वोच्च अदालतबाट नै जारी गरिएको विज्ञप्ति एवं न्यायाधीशहरूको आचारसंहिताको दफा ४.४ विपरीत सर्वोच्च अदालत पूर्ण इजलासमा विचाराधीन नेपाल सरकारविरुद्ध प्रतिवादी रञ्जनप्रसाद कोइराला भएको कर्तव्य ज्यान मुद्दामा आफ्नो फैसला ठिक छ आफूले त्रुटि गरेको छैन भनी सार्वजनिक सञ्चार माध्यममा गरेको प्रतिरक्षाबाट नै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा उपर न्यायाधीशहरूको आचारसंहिता उल्लङ्घन गरेको तथा पूर्व न्यायाधीश फोरमद्वारा जारी विज्ञप्तिमा उल्लेख भएका १५ बुँदे आधारमा महाअभियोग लगाउनको लागि पर्याप्त आधार भएकोले सरकार, राजनीतिक दल, सांसदलगायत संविधान र प्रजातन्त्रप्रति आस्था राख्ने सम्पूर्ण चेतनशील नागरिकहरू समक्ष आफ्नो संवैधानिक कर्तव्य निर्वाह गरी न्यायपालिका जोगाउन हामी माग गदै छौँ’ विज्ञप्तिमा भनिएको छ।

फोरमले विज्ञप्तिमा प्रधानन्यायाधीश जबराले बार र बेन्चको सम्बन्धको मूल्य बुझ्न नसकेको र वैधानिक बाटोबाट अदालत छिर्नै नसक्ने अवस्था बनाएको भनेको छ।

‘संविधानले परिकल्पना गरेको स्वतन्त्र, निष्पक्ष, सक्षम र प्रभावकारी न्यायपालिकाका लागि निष्ठावान्, दूरदर्शी, न्यायिक सुधार प्रति प्रतिबद्ध स्वच्छ आचरण भएको र नेपाल बार लगायतका संस्थाहरूबिच सम्मानित व्यक्तित्व नेतृत्वका लागि आवश्यक हुन्छ, वैधानिक बाटोबाट अदालत प्रवेश गर्नै नसक्ने, प्रहरीको संरक्षण खोज्ने, जिम्मेवारीबाट पन्छिने व्यक्तिबाट न्यायपालिकाको नेतृत्व हुन सक्दैन भन्ने हाम्रो ठहर छ।’ विज्ञप्तिमा भनिएको छ।

न्यायप्रतिको आस्था, विश्वास, प्रतिबद्धता, सहयोग र सम्मान नै न्यायाधीशको सुरक्षा कवच हो भन्ने कुरा प्रधानन्यायाधीशले बिर्सन नहुने भन्दै विज्ञप्तिमा बार र बेन्चबिचको अन्योन्याश्रित सम्बन्ध, सद्भाव र सहयोगको आधारमा न्यायपालिकाको जग अडेको हुने उल्लेख छ।

‘प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिको अभिन्न अङ्ग बारको विश्वास गुमाउनु भएको छ, त्यस कारण पनि प्रधानन्यायाधीशको पदबाट अविलम्ब बहिर्गमन हुनुपर्दछ भन्ने हाम्रो जोडदार माग रहेको छ।’ फोरमका अध्यक्ष सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ