arrow

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुँदैन : निगमका प्रवक्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
binitmani.JPG

काठमाडौँ । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमले पछिल्लो समय गरेको पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नहुने बताएका छन् । उनले अहिलेको अवस्थामा मूल्यवृद्धि फिर्ता लिन नसकिने बताएका हुन् । 

शुक्रवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रवक्ता उपाध्यायले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिनु निगमको बाध्यता भएको भन्दै यो फिर्ता नहुने बताएका हुन् । उनले भने,‘समायोजन भन्नुहोस् वा अरू केही भन्नुहोस्, तर यो मूल्यवृद्धि भएकै हो । समायोजन त निगमको बाध्यता हो । अहिलेको अवस्थामा यो फिर्ता हुँदैन ।’

उनले पछिल्लो चार÷पाँच वर्षको मूल्य हेर्दा पेट्रोलियम पदार्थको मात्रै मूल्यवृद्धि बढेको हो र ? भन्दै प्रश्न उठाएका छन् । आम उपभोक्तासँग जोडिएका अन्य वस्तुमा पनि मूल्यवृद्धि भएको उनको भनाई थियो । 

उनले भने,‘अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सवालमा यो मूल्यवृद्धि हो कि समायोजन ? भनेर साथीहरूले भन्नुभयो । यो दुवै हो । मूल्य बढ्दा पनि समायोजन नै भन्छौँ, अनि घट्दा पनि समायोजन नै भन्छौँ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ हुँदा हामीले पनि यता समायोजन गर्ने हो । यो पूर्ण रूपले अन्य मुलुकमा निर्भर हुने विषय हो। अन्तर्राष्ट्रिय बजारमा हामीले हस्तक्षेप गर्न पनि नसक्ने अवस्था छ । आयल निगमले जुन मूल्य सूचि प्राप्त गर्छ, हरेक चोटि हामीले मूल्य प्राप्त गर्दा निगमको सबै कुरा छर्लङ पार्छौँ । सरकारको सम्बन्धित निकायले विश्लेषण गरेको हुन्छ । लेखा परीक्षणको रिपोर्टमा हाम्रो वार्षिक प्रतिवेदन आउँछ । हामीले आफ्नो प्रतिवेदन सार्वजनिक गर्नको लागि साधारण सभा आह्वान गर्दै आएका छौँ, गत पुसमा हामीले साधारण सभा गरेका थियौँ ।’

उनले मूल्यवृद्धि नगर्दा निगमलाई अरबौँ घाटा हुने भएकोले बाध्य भएर मूल्यवृद्धि गरिएको स्पष्ट पारे । उपाध्याय पोडियममा बोल्दै गर्दा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका महासचिव सरोज सिटौलाले मूल्यवृद्धि फिर्ता हुन्छ कि हुँदैन ? ठ्याक्कै भन्नुहोस् भनेर सोधेका थिए । सिटौला आक्रामक रूपमा प्रस्तुत भएपछि उपाध्यायले लोकतन्त्रमा सबैको बोल्ने अधिकार हुन्छ भन्दै सिटौला बोल्दै गर्दा आफूले धैर्यतापूर्वक सुनेको भन्दै अब आफ्नो बोल्ने पालोमा पनि शान्त भइदिन आग्रह गरेका थिए । 

उपाध्यायलय थप भनेका छन्-‘अहिलेसम्मको अवस्था हेर्दा मूल्यवृद्धि फिर्ता हुँदैन । सरकारले त यातायातको भाडा वृद्धि गरेको छ, अब निगमले मूल्यवृद्धि फिर्ता गर्ने या नगर्ने भन्ने कुरा होइन, यो सरकारको रिलेटेड कुरा हो । पेट्रोलियम पदार्थमा नाफारहित मूल्य हुनुपर्छ । यो कुरा त हामी पनि भन्छौँ । राज्यको पूर्ण स्वामित्व भएको संस्था हो-आयल निगम । पाइपलाइन आउँदा २ रुपैयाँ घटाएका थियौँ । यो त सुधारको कार्यक्रम हो ।’ उनले आफूहरू गत २० वर्षदेखि बोनस नखाएको पनि स्पष्ट पारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ