arrow

पार्टीभित्र मूल्याङ्कनको समय आयो: वरिष्ठ नेता पौडेल

logo
रासस,
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
ramchandra-poudel9.jpg

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र मूल्याङ्कनको समय आएको बताएका छन् ।   नेपाली कांग्रेस रत्ननगर नगरपालिका-१३ को कार्यालय उद्घाटन, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा आज उनले पार्टीको १४ औँ महाधिवेशन नेताको मूल्याङ्कनको समय रहेको बताएका हुन् ।

उनले भने, “पार्टीका लागि कस्ले के गर्‍यो भन्ने विषयमा मूल्याङ्कन १४ औँ महाधिवेशनले गर्नेछ ।” कार्यकर्तालाई दुविधामा राख्ने र ढाकछोप गर्ने गर्दा पार्टी बिग्रिएको उनको भनाइ थियो ।

 “अहिले पार्टी कहाँ पुग्यो मूल्याङ्कन गरेर नेतृत्व चयन गर्नुपर्छ”, उनले भने । वरिष्ठ नेता पौडेलले कांग्रेसलाई सुधार गरेर लैजानका लागि महाधिवेशनमा कार्यकर्ताले मूल्याङ्कन र विवेक पुर्‍याउनुपर्नेमा जोड दिए । अब पार्टी बनाउनका लागि निष्ठा र नैतिकताको राजनीति गर्नुपर्ने उनको भनाइ थियो ।

वरिष्ठ नेता पौडेलले पार्टीका नेता तथा कार्यकर्ताको आचरण र सिद्धान्तका आधारमा आम जनताले हैसियतमा राख्ने गरेको भन्दै कांग्रेसका नेता कार्यकर्ता नैतिकवान बन्नुपर्ने बताए । पार्टीलाई रुपान्तरण गर्दै लैजानुपर्ने समय आएको भन्दै उनले भने, “पार्टीभित्र रुपान्तरणको आवश्यकता छ । कांग्रेस उज्यालो अनुहार लिएर अघि बढ्नुपर्छ ।” 

कांग्रेसभित्र सुदृढ एकताको आवश्यकता रहेको भन्दै उनले न्याय र मूल्याङ्कनको आधारमा सँगै एजेण्डामा एकता हुन जरुरी रहेको बताए ।

वरिष्ठ नेता पौडेलले पछिल्लो समयमा लोकतान्त्रिक संस्था कमजोर बनाउने काम भएको बताउँदै संवैधानिक परिषद्को ऐन र सेटिङका कारण अदालतजस्तो संस्था ढल्ने अवस्थामा पुगेकाले अब आँखा चिम्लेर बस्ने समय नरहेको उल्लेख गरे । 

फरक प्रसङ्गमा वरिष्ठ नेता पौडेलले नेपालमा कम्युनिष्टका कारण समस्या आएको बताए । पाँच वर्ष शासन चलाउ भनेर जनताले अनुमोदित गर्दा पनि नसक्नेले देश चलाउछु भन्नु हास्यास्पद रहेको उनको भनाइ थियो । 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले पार्टीका सबै संरचना चलायमान बन्न नसक्दा कांग्रेस कमजोर भएको बताए । उनले भने, “कांग्रेस कमजोर भएको छैन । सुध्रिने र सही बाटोमा हिँड्छ की हिँड्दैन कार्यकर्ताले हेरिरहेका छन् ।” 

नेता पाण्डेले कम्युनिष्ट पार्टीहरु देशको समस्याको रुपमा रहेको भन्दै सभ्य राष्ट्र निर्माण र देशको समुन्नत विकासका लागि कांग्रेस आवश्यक रहेको बताए । १४ औँ महाधिवेशनबाट कांग्रेस सैद्धान्तिक, राजनीतिक र नैतिकताको बाटोमा हिँड्ने उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ