arrow

नेपाल प्रहरीतर्फ ६ डीआइजीको दरबन्दी थप्ने गृहकार्य : अवकाशका मुखमा रहेका एसएसपी लविङमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
Nepal-police_HQ.jpeg

काठमाडौँ। सरकारले नेपाल प्रहरीतर्फ ६ जना डीआइजीको दरबन्दी थप गर्ने गरी तयारी अघि बढाएको छ। त्यसका लागि गृह मन्त्रालयले आन्तरिक रूपमा प्रक्रियासमेत थालेको छ।

प्रहरी प्रधान कार्यालयले डीआइजीको सङ्ख्या कम हुँदा कार्यसम्पादनमा असर परिरहेको भन्दै पहिले डीआइजीले सम्हाल्दै आएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, ट्राफिक प्रहरी महाशाखा लगायतमा डीआइजी थप गर्न मन्त्रालयमा प्रस्ताव गरेको थियो।

प्रहरी प्रधान कार्यालयको सो प्रस्तावपछि गृह मन्त्रालयसमेत डीआइजीको दरबन्दी थपका लागि सकारात्मक बनेको हो। गृहमन्त्री बालकृष्ण खाँणसमेत डीआइजीको दरबन्दी थप गर्ने विषयमा सकारात्मक छन् । डीआइजीको दरबन्दी थपका लागि अर्थ मन्त्रालयले स्वीकृति दिनुपर्छ।

गृहमन्त्री खाँणले गत शनिवार गृह मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा समेत डीआइजीको सङ्ख्या बढाउनु पर्ने आवश्यकता रहेको बताएका थिए।

‘पहिले डीआइजीले हेर्ने कतिपय स्थानमा अहिले एसएसपीले नेतृत्व गरिरहेका छन्, सुरक्षाको गम्भीरतालाई लिएर सुरक्षाकर्मीबाटै सङ्ख्या बढाउनु पर्ने आवाज उठेको छ,’ पत्रकारसँगको भेटघाटमा खाँणले भनेका थिए।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, ट्राफिक प्रहरी लगायतमा पहिले डीआइजीको दरबन्दी रहेको र अहिले पनि ती स्थानमा सुरक्षा चुनौती कम भएको अवस्था नरहेको भन्दै सङ्ख्या बढाउनु पर्ने आवश्यकता औँल्याएका थिए।

प्रहरीमा यसअघि प्रशासनका २६ र प्राविधिकतर्फ ८ गरी ३४ डीआइजीका दरबन्दी थियो। तर चैत २०७६ मा केपी ओली नेतृत्वको सरकारले प्रशासनका २६ मध्ये १० वटा दरबन्दी कटौती गरी १४ मा झारेको थियो । पछि पुनः ५ दरबन्दी थप गरी १९ पुर्‍याइएको थियो।

डीआइजी बन्ने दौडमा एसएसपीहरू नरबहादुर खत्री, विक्रम चन्द, हरिराज वाग्ले, मोहनकुमार आचार्य, नलप्रसाद उपाध्याय, पूजा सिंह, सुशील यादव, शेखर कोइराला, नरबहादुर केसी, सन्दीप भण्डारी, उमेश जोशी, टेकप्रसाद राई, श्यामलाल ज्ञवाली, दीपक थापा लगायत छन्। यसमध्ये केही एसएसपीहरू यही कार्तिकदेखि फागुन भित्रसम्ममा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जानेछन्।

त्यस कारण पनि अवकाशको मुखमा रहेका एसएसपीहरू डीआइजी बन्ने दौडमा लबिङमा लागेका छन्। एसएसपी खत्री ३० वर्षे सेवा अवधिका कारण आगामी २८ कार्तिकबाटै अवकाशमा जाँदै छन्। यस्तै एसएसपी चन्द ९ मङ्सिर, कोइराला २५ मङ्सिर, वाग्ले १५ पुस, यादव १५ माघ, सिंह ७ फागुनमा अवकाशमा जानेछन्।

हाल प्रहरी सङ्गठनमा ८० हजारको दरबन्दी छ। तर प्रहरीको सङ्ख्या दरबन्दी भन्दा झन्डै आठ/नौ हजार नै कम छ। प्रहरी भित्र तोकिएकै दरवन्दीमा समेत भर्ना हुन नसक्दा प्रहरी कार्यालयहरूमा जनशक्ति अभाव रहेको बताइने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ