नेपाल फर्किएका अल्मुतारीलाई मन्त्रीले गरे स्वागत, भने -'सरकारको साथमा छ, ढुक्क भएर काम गर्नुहोस्'
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
599
Shares
काठमाडौँ । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुतारीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराज (अथक) ले स्वागत गरेका छन् ।
शनिवार नेपाल फर्किए लगतै आइतबार सिंहदरबारस्थित मन्त्रालय पुगेका अल्मुतारीलाई मन्त्री अथकले दोसल्ला र ढाका टोपी लगाएर स्वागत तथा सम्मान गरेका हुन् ।
नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन अल्मुतारीले पुर्याएको योगदान अतुलनीय रहेको भन्दै मन्त्री अथकले अबका दिनमा समेत गोर्खाली स्प्रिडलाई कायम राख्दै काम गर्न आग्रह गरे ।
विगतमा केही समस्या देखिएता पनि त्यसलाई चिर्दै अल्मुतारीलाई पुनः नेपाल फर्काउन मन्त्रालय सफल भएको उल्लेख गर्दै मन्त्री अथकले भने, “नेपाल सरकार तपाईँको साथमा छ, ढुक्क भएर काम गर्नुहोला ।”
स्वागत पछि प्रतिक्रिया दिदैं अल्मुतारीले नेपाल र नेपालीहरूको मायाले आफू पुन नेपाल फर्किएको बताए । आजको दिन आफ्नो जीवनकै अविस्मरणीय क्षण भएको बताउँदै अल्मुतारीले नेपालले आफूलाई धेरै माया दिएको बताए ।
शनिवार नेपाल फर्किएका अल्मुतारीले थप तीन वर्षका नेपालका लागि फुटबल प्रशिक्षकका रूपमा काम गर्ने छन् ।