arrow

सिभिल ग्रुप ठगी प्रकरण : सीआईबीमा जाहेरी बढेको बढ्यै, ठगी रकम ५ अर्ब साँढे २२ करोड पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
cib-final.jpeg

काठमाडौं। सिभिल ग्रुपको ठगीका विषयमा अनुसन्धान गर्दै आइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा हालसम्म १३ सय १० जाहेरी परेको छ।

तीन वर्षअघि देखि रकम फिर्ता नपाएको भन्दै सिभिल ग्रुपको ठगीका विषयमा जाहेरी पर्न थालेपछि सीआइबीले सो संस्थाका संचालकसहितका कर्मचारीहरुलाई पक्राउ गरेको थियो।

सो क्रममा सिभिल ग्रुपका सञ्चालक तथा नेकपा एमालेका पूर्व सांसद इच्छाराम तामाङसहित १२ जना अहिले प्रहरी अनुसन्धानको दायरामा छन्। सीआईबीले उनीहरुविरुद्ध हालसम्म ५ अर्ब २२ करोड ४८ लाख ठगीका जाहेरी परेको जनाएको छ।

सीआइबीका प्रमुख डीआइजी धिरजप्रताप सिंहले बुधबारसम्म १३ सय १० जना विरुद्ध सिभिल ग्रुपका विरुद्ध ठगी तथा रकम अनियमितताको जाहेरी परेको जानकारी दिए।

‘अहिलेसम्म १३ सय १० जनाले सिभिल ग्रुपका विरुद्ध ठगीको जाहेरी आएको छ, हालसम्म ५ अर्ब २२ करोड ४८ लाख ठगी भएको देखिएको छ, थप अनुसन्धानको क्रममा नै छौं,’सीआइबीका प्रमुख डीआइजी सिंहले हाम्राकुरासँग भने।

तामाङ सञ्चालक रहेको सिभिल ग्रुपले विभिन्न व्यक्तिबाट करोडौं रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा उजुरी परेपछि सीआइबीले मुख्य सञ्चालक तामाङसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान गर्दै आइरहेको छ।

पक्राउ पर्नेहरूमा तत्कालीन सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका सञ्चालक र कर्मचारीसमेत छन्। सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका तत्कालीन अध्यक्ष तामाङ, वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ र प्रबन्धक भगवानबहादुर सिंह छन्।

उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट संगठित अपराधमा ६० दिनको म्याद थप गराएर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ। सिआइबीले ठगीमा अन्य व्यक्तिहरूसमेत तानिन सक्ने र त्यस तर्फसमेत अनुसन्धान जारी रहेको जनाएको छ।

सीआइबीका अनुसार सिभिल ग्रुपबाट ठगिनेमा व्यापारी, नेपाल प्रहरीका पूर्व कर्मचारी, नेपाल सरकारका पूर्व सचिव, युएनमा कार्यरत कर्मचारी, गृहीणी, विदेशमा बसोवास गर्नेहरुको परिवार लगायत छन्। यस्तै केही आइएनजीओको रकम पनि ठगी भएको गुनासो छ।

सीआइबीका अनुसार एकै परिवारको एक लाखदेखि चार करोडसम्म पनि ठगी भएको पाइएको छ। केही व्यक्तिको परिवारका तीन जनासम्म पनि ठगीमा परेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ