खेलकुद मन्त्रीलाई राखेपको सम्मान, भने - ऐन कुरान, बाइबल होइन
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १० बुधबार
999
Shares
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)लाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारीहरूले स्वागत तथा सम्मान गरेका छन् । राखेपका अध्यक्ष समेत रहेका मन्त्री अथकलाई बुधबार दशरथ रङ्गशालामा आयोजित एक कार्यक्रमका बिच राखेपका उपाध्यक्ष शिव कोइराला सहितका पदाधिकारी तथा खेलाडीहरूले स्वागत तथा सम्मान गरेका हुन ।
स्वागत समारोहमा बोल्दै मन्त्री अथकले खेलकुद क्षेत्रको विकासकालागि सबै मिलेर अगाडी बढ्नुपर्ने बताए । काम गर्ने समयमा राजनीति गर्न नहुने बताउँदै मन्त्री अथकले खेलकुद क्षेत्रलाई राजनीतिबाट मुक्त गराउनु आफ्नो मुख्य लक्ष्य रहेको प्रस्ट पारे। “यो राजनीति गर्ने समय होइन” मन्त्री अथकले भने, “खेलकुदलाई राजनीतिमुक्तबाट बनाउँदै सम्मानित क्षेत्रका रूपमा विकास गर्न आवश्यक देखिएको छ ।”
खेलकुद ऐनका विषयमा बाहिर चल्लेका हल्लाप्रति लक्षित गर्दै मन्त्री अथकले खेल क्षेत्रको विकासकालागि ऐन बाधक नहुने दावी समेत गरे । “ऐन कुरान, बाइबल होइन, यसलाई परिमार्जन गर्न सकिन्छ” मन्त्री अथकले अगाडी भने, “खेलकुद क्षेत्रको विकासकालागि ऐनलाई आफ्नो अनुकूलतामा प्रयोग गर्न सकिन्छ ।”
ऐनलाई बाघको संज्ञा दिदैं मन्त्री अथकले भने, “बाघ, भालु वा हात्तीसँग सँगै सुत्न त सकिँदैन, तर आवश्यकताका आधारमा नियन्त्रणमा राख्न भने सकिन्छ ।” अथकले लामो समयपछि आएको खेलकुद ऐनमा केही अपूर्णताहरू देखिए पनि त्यसलाई संशोधन गर्दै लैजान सकिने बताए ।
साथै नवौँ खेलकुद प्रतियोगितालाई सममयमै सञ्चालन गर्न आवश्यक तयारी सुरु गरिएको, खेलकुद विश्वविद्यालय सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको र खेल क्षेत्रको विकासकालागि नयाँ तथा पृथक् योजनाको खाका कोर्ने काम सुरु गरिएको मन्त्री अथकले बताए ।
खेल क्षेत्रमा लामो समय देखी विज्ञता हासिल गरेका खेलाडीहरू नै आफ्नो मुख्य सल्लाहकार भएको उल्लेख गर्दै मन्त्री अथकले खेलाडीहरूबाटै नयाँ योजना आएको खण्डमा त्यसलाई कार्यान्वयनमा लैजान मन्त्रालय प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।
खेल गतिविधि सञ्चालनमा रकम अभाव हुन नदिने बताउँदै मन्त्री अथकले भने, “तपाईँहरू योजना ल्याउनुहोस्, स्रोतको व्यवस्थापन राज्यले गर्छ ।”