arrow

११ अफगानी नागरिकको नेपाल प्रवेशः नाका छलीमा कारवाही हुने

अध्यागमनले अनुसन्धान गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
cib-final.jpeg

काठमाडौं । अवैध रूपमा नेपाल प्रवेश गरेका ११ अफगानी नागरिकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अध्यागमन विभागको जिम्मा लगाएको छ ।

सोमबार सीआइबीले ११ अफागानी नागरिकलाई सिनामंगलको एक होटेलबाट पक्राउ गरेको थियो । उनीहरू फरक फरक मितिमा नेपाल प्रवेश गरेको पाइएको सीआइबीका प्रमुखसमेत रहेका डीआइजी धिरजप्रताप सिंहले जानकारी दिए ।

उनका अनुसार सीआइबीले उनीहरूलाई अध्यागमन विभागको जिम्मा लगाएको हो । प्रहरी अनुसन्धानमा उनीहरू युएनएचसीआर अन्तर्गत शरणार्थीको अनुमति लिने प्रक्रियाका लागि नेपाल आएको खुलेको छ । सो विषयमा अध्यागमनले थप अनुसन्धान गर्ने बताइएको छ ।

११ जनामध्ये ५ जना ३ कार्तिक र बाँकी अन्य तीन हप्ताअघि नेपाल आएको र पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधार कार्डसमेत बरामद भएको ब्युरोले जनाएको छ । ती आधार कार्ड नक्कली भएको प्रहरीको भनाइ छ ।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले उनीहरूमाथि अनुसन्धान अघि बढेको जानकारी दिए । उनका अनुसार उनीहरूमाथि नाका छली अन्तर्गत अध्यागमन ऐन अनुसार कारबाही हुनेछ ।

सो कानुन अनुसार बिना अनुमति नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई पहिले सूचना लिने, बुझ्ने, जरिवाना गराउने र देश निकाला गर्नेसम्मको कारबाही हुन्छ ।

यसरी जरिवाना गराउँदा विभागका महानिर्देशकले जरिवाना तोक्ने र जरिवाना तिर्न लगाएर गृह मन्त्रालय समक्ष उनीहरूलाई देश निकालाका लागि सिफारिस गर्ने अधिकार छ ।  तर जरिवाना तिर्न नसकेको अवस्थामा भने उनीहरू अध्यागमन कानुन अनुसार कारागार चलान हुनेछन् ।

नेपाल छिरेका ११ अफगानीमा ८ वर्षीय बालकदेखि ४३ वर्षीय पुरुषसम्म छन्। यसरी छिर्नेमा तीन जना महिला र ८ जना पुरुष छन्। 

सीआइबीका अनुसार नेपाल आउने अफगानीहरूमा ३६ वर्षीय अब्दुल्लाह मोहम्मदी, ३० वर्षीय अजमल सराफी, २३ वर्षीय अकमल जजाई, २४ वर्षीय रोमल हतोक, २१ वर्षीय इसानुल्लाह हसहेमी, २६ वर्षीय इमरान वाली जादा, ४१ वर्षीय मोहम्मद जमराई स्तानिक्जाई, ३८ वर्षीया नजिफा स्तानिक्जाई, १७ वर्षीया मिस्बाह जैनब स्तानिक्जाई र ८ वर्षीय बालक मोहम्मद रायन स्तानिक्जाई छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ