arrow

गृहमन्त्रीको निर्देशन

‘प्रहरीमा कसैलाई तँ नभन्नू, सम्मानार्थी शब्द प्रयोग गर्नू’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
balkrishna-khand.jpg

काठमाडौं। प्रहरी, सशस्त्र र अनुसन्धान विभागका जुनसुकै तहका कर्मचारीहरुलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले तीनै सुरक्षा निकायलाई संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले समेत संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न गृहमन्त्रीबाट निर्देशन भएको जानकारी दिए ।

‘मन्त्रीज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन भएको छ, अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न मिल्दैन, ‘सम्मानाथी’ शब्द प्रयोग गर्नुपर्छ।’ नेपाल प्रहरीका एआइजी पोखरेलले भने।

हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले मुस्कान सहितको सेवा संचालन गर्दै आइरहेका छन्। यो अभ्यास लागू गर्दा प्रहरी संगठनप्रतिको आम सर्वसाधारणको व्यवहार र नजर पनि उच्च हुने गृहमन्त्रीको बुझाइ छ।

‘संगठनको छवि बाहिर राम्रो बनाउन र सम्मानसहितको सेवा संचालन गर्न पहिले संगठनभित्र एकले अर्कालाई सम्मान गर्नु पर्छ, त्यसले प्रहरी संगठको गरिमालाई पनि उच्च बनाउँछ,’गृहमन्त्री खाँणले निर्देशनका क्रममा भनेका छन्।

मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाललगायत सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ