संसदबाट विधेयक फिर्ता लिने र अध्यादेशमार्फत ल्याउने काम एमालेलाई मान्य नहुने
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
1.8k
Shares
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘निजामती सेवा विधेयक–२०७५’ फिर्ता गरेर सरकारले गल्ती गरेको टिप्पणी गरेको छ ।एमालेका संसदीय दलका उपनेता सुवाष नेम्वाङले संसदीय समितिमा समेत छलफल गरेर आएको सो विधेयक संसद्बाट फिर्ता गरेर सरकारले साह्रै बेठिक र उल्टो काम गरेको प्रतिक्रिया दिएका छन् ।
शुक्रवार संसद् बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै विधेयकहरूलाई फिर्ता लैजाने र अध्यादेशमार्फत विधेयक ल्याउने काम गरे आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी समेत दिएका छन् ।
उनले भने, ‘लामो समय समितिमा छलफल गरेर यहाँहरूले देखिराख्नु भएको छ । निजामती विधेयक कति समय समितिमा छलफल भयो । त्यत्रो समय लिएर बल्लबल्ल तपाई हामी सबैको दवाव चाँडो ल्याऊ, चाँडो पास गर भनी राखेको यो विधेयक हो । बल्लबल्ल संसद्मा प्रवेश गर्यो । संसद्मा त्यतिन्जेल रह्यो । अव अहिले आएर त्यसलाई फिर्ता लैजाने भनेर सरकारले फिर्ता लिने काम गर्यो । यो साह्रै बेठिक र उल्टो काम भइराखेको छ । संसद्मा विधेयक नै नल्याउने, भएको विधेयकलाई फिर्ता लैजाने अनि के गर्ने ? यो बेठिक हो । यो वास्तवमा गर्नेलाई भन्दा देख्नेलाई लाज भन्छन् नि हाम्रो गाउँघरतिर । तपाईँहरू आफैले पनि देखिराख्नु भएको छ ।’
उपनेता नेम्वाङले सरकारले आफूहरूको कारणले कुनै पनि विधेयक नरोकेको पनि स्मरण गराउनु भयो । तर सरकारले अध्यादेशको बाटो रोजेर निजामती सेवा विधेयक फिर्ता लिनु उपयुक्त नभएको उहाँको तर्क थियो ।