arrow

काठमाडौँ प्रहरीको दसैँ लक्षित अपरेसन : २०७ जना चोर  पक्राउ

चोरले प्रयोग गर्थे यस्ता सांकेतिक कोड 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
chor.jpg

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले दसैँ लक्षित सुरक्षा योजना सुरु गरेसँगै काठमाडौँको सुरक्षामा कडाइ गरिएको छ ।

परिसर काठमाडौँले २५ भदौबाट चाडबाड लक्षित गरेर सुरक्षा योजना लागू गरिसकेको छ । प्रहरीले यही सुरक्षा योजना अन्तर्गत नै काठमाडौँका विभिन्न स्थानमा चोरीका घटनामा संलग्न रहेका २ सय ७ जना पाकेटमार तथा चोरलाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो ।

परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले सोमबार परिसरमा पत्रकार सम्मेलन गरी चाडबाड लक्षित सुरक्षा योजनाको कार्यान्वयनका क्रममा काठमाडौँका विभिन्न स्थानबाट २ सय ७ जना पाकेटमार तथा चोरलाई नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

उनीहरू मध्ये धेरै जसो सवारी साधनमा यात्रा गर्ने यात्रुको पाकेट मार्नेहरू छन् । प्रहरीले यातायात व्यवसायीहरूसँगको समन्वयमा यो कारबाही अघि बढाएको भनेको छ ।

यसरी पक्राउ परेकाहरू मध्ये प्रहरीले १ सय ६१ जनामाथि अनुसन्धान अघि बढाइएको छ भने उनीहरूलाई अभद्र व्यवहारको मुद्दा चलाइएको परिसर काठमाडौँका प्रमुख सिंहले जनाएका हुन् ।

उनका अनुसार पक्राउ परेका मध्ये ४६ जना भने पुर्पक्षका लागि जेल चलान भइसकेका छन् । उनीहरूलाई सामान्य धरौटी पनि नतिरेपछि प्रहरीले जेल चलान गरेको हो ।

पक्राउ परेकाहरूमाथि गरिएको अनुसन्धानका क्रममा प्रहरीले उनीहरू दुई–दुई जनाको सङ्ख्यामा समूह नै बनाएर चोरीमा संलग्न हुने गरेको पाइएको जनाएको छ । उनीहरूले घटना घटाउँदा साङ्केतिक रूपमा आफ्नो समूहले मात्रै बुझ्ने भाषा प्रयोग गर्ने गरेकोसमेत पाएको छ ।

यसरी समूह बनाउँदा ६ जना सम्मको समूह बनाएर बसमा यात्रा गर्ने यात्रुहरूलाई ठेलमठेल गर्ने र सास्ती दिएर पर्स तथा गरगहनाहरू लुट्ने गरेको पाइएको प्रहरीले भनेको हो ।

चोरी र लुटपाटका घटना घटाउँदा उनीहरूले पैसा भएको व्यक्ति पहिचान गरेर ती व्यक्तिलाई चोर तथा पाकेटमारहरूले ‘रामे’कोड शब्दले चिलाउने गरेको प्रहरीले बताएको छ ।

‘पीडितलाई उनीहरूले ‘रामे’ भन्ने शब्द प्रयोग गरेर आफ्नो समूहलाई सङ्केत गर्थे, पैसालाई द, मोबाइललाई कान, जस्ता शब्द चोरीका क्रममा प्रयोग हुने गरेको पाइयो,’ परिसर काठमाडौँका प्रमुख सिंहले भने ।

उनीहरूले  पाकेटमार गर्ने आफ्नो समूहका व्यक्तिलाई मास्टर वा काशी, पैसा धेरै छ भन्ने सङ्केत दिन टानको द पैसा, कम छ भने जुटको द, गाडीलाई काँचा भन्दै साङ्केतिक भाषा प्रयोग गर्ने गरेको अनुसन्धानमा खुलेको सिंहले जानकारी दिए ।

यस्तै केटा मान्छेलाई छापा, केटीलाई भद्री, पुलिस आए ठूल्दाइ, ड्राइभरलाई माम, खलासीलाई मले, गाडीबाट झरेर भाग्दा टप्की शब्द प्रयोग गर्ने गरेको खुलेको छ ।

यसै गरी अझै अगाडि जानका लागि अकल जा र पछाडि फर्कनका लागि चिछल जा भनेर शब्द साङ्केतिक रूपमा प्रयोग गर्ने गरिएको पाइएको प्रहरीले जनाएको हो ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको र यो अभियान निरन्तर जारी रहने प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ