arrow

देउवाले उपप्रधामन्त्री नराख्ने भनेपछि उपेन्द्रले अड्काए मन्त्रीपरिषद् विस्तार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १५ शुक्रबार
upendra-yadav.jpg
फाइल तस्विर।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा उपप्रधानमन्त्री नराख्ने भनेपछि उपेन्द्र यादव रुष्ट बनेका छन्।प्रधानमन्त्री देउवाले गत बुधवार नै मन्त्रीपरिषद्लाई पूर्णता दिन चाहेका थिए ।

सचिवालयले सोही अनुसार तयारीसमेत गर्दै थियो । तर जसपा अध्यक्ष यादवले उपप्रधानमन्त्री नपाउने भएपछि मन्त्रीपरिषद् विस्तारमा किचलो गर्न खोजेका हुन् ।

‘प्रधानमन्त्रीको चाहना गत बुधवार नै मन्त्रीपरिषद्लाई पूर्णता दिने थियो, तर उपेन्द्रजीसँग केही कुरा मिल्न बाँकी रह्यो, उपप्रधानमन्त्री नराख्ने विषयमा उहाँको फरक मत आयो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।

उनले पार्टीका तर्फबाट मन्त्री बन्नेहरूको लिस्टसमेत अझैसम्म प्रधानमन्त्रीलाई दिन सकेका छैनन् । प्रधानमन्त्रीले लिस्ट मागेपछि उनी पार्टीको बैठकका लागि भन्दै जनकपुर लागेका थिए । हाल उनी जनकपुरको पार्टीको बैठकबाट फर्किएर पुनः पोखरा लागेका छन् ।

अहिले भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसमेत बिरामी परेपछि मन्त्रीपरिषद् विस्तार फेरी रोकिएको छ ।

तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने गत मङ्गलवारबाट नै मन्त्रीपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्रीलाई आग्रह गर्दै आइरहेका छन् ।

प्रधानमन्त्री देउवा भने सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिएसँगै मन्त्रीपरिषद् विस्तारको तयारीमा छन् । यादवको अडानपछि नै सत्ता गठबन्धनले सो अध्यादेश फिर्ता लिएको थियो । सत्ता गठबन्धन आबद्ध दलका बिचमा भएको सहमति अनुसार सोमबार सरकारले मन्त्रीपरिषद्बाट निर्णय गर्दै दल विभाजन अध्यादेश फिर्ता लिएको थियो ।

गठबन्धन आबद्ध दलका बिचमा मन्त्रालयको सङ्ख्या भने भागबण्डा भइसकेको छ । कांग्रेस नेता मीन विश्वकर्माका अनुसार सङ्ख्यामा मोटामोटी सहमति भइसकेको हो । ‘सङ्ख्यामा मोटामोटी सहमति भइसकेको छ, मन्त्रालय कुन कुन लिने दिने भन्ने निर्णय हुन बाँकी छ, त्यसमा पनि छलफल हुँदै छ,’ नेता विश्वकर्माले हाम्राकुरासँग भने ।

संख्यामा सहमती भए पनि केही दिन यता गठवन्धन बैठक बस्न नसक्दा कुन दलले कुन मन्त्रालय लिने भन्ने सहमती भइसकेको छैन । प्रधानमन्त्री देउवाले सबै उपस्थित हुने उपयुक्त समय मिलाएर गठवन्धनको बैठक बोलाउन चाहेका छन् ।

सत्ता गठबन्धनमा भएको सहमति अनुसार गठबन्धन आबद्ध नेपाली काँग्रेसले ७ मन्त्रालय लिने छ । यस्तै माओवादी केन्द्र, नेकपा एस र जसपाले ६/६ मन्त्रालय लिने सहमति बनेको छ ।

संविधानमा भएको व्यवस्था अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा कूल २५ मन्त्री राख्न पाउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ