arrow

‘जय नेपाल’ संविधानमा राष्ट्रिय अभिवादनको रूपमा लेखिनुपर्छ

logo
भीमसेनदास प्रधान
प्रकाशित २०७८ असोज १३ बुधबार
bhimsen-pradhan-final.jpg

‘जय नेपाल’ शब्द यतिबेला संचारमाध्यमहरुले विशेष बहसको विषय बनाएका छन् । संचार माध्यममात्र होइन यो वाक्य वा शब्दलाई आम नेपालीको बहसको विषय बनाइनु पर्छ । यस विषयमा मैंले पहिले देखिनै आवाज उठाउँदै आएको हुँ । नेपालका कम्युनिष्ट पार्टीहरुले यो शब्दलाई नेपाली कांग्रेसको निजी शब्द वा निजी अभिवादनका रुपमा ब्याख्या गरिरहेका छन् । संकुचित सोचाइ र राजनीतिक पूर्वाग्रहका आधारमा यो पवित्र शब्दलाई खुम्च्याउन खोज्नु सरासर गलत हो । म जनप्रतिनिधि भएर संघीय संसदमा प्रवेश गरिसकेपछि प्रारम्भदेखि नै राष्ट्रिय अभिवादनका रुपमा जय नेपाल शब्दको प्रयोग गरौं भन्दै आइरहेको छु । लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको राय सुझाव दिने क्रममा २०७२ सालमा संसदकै रोष्टमबाट ‘जय नेपाल’ लाई  राष्ट्रिय अभिवादनको  रुपमा  लेखिनुपर्छ भनी बोलेको  थिएँ ।

संविधानको धारा ८ र ९ उपधारा १, २ मा राष्ट्रिय झण्डा, राष्ट्रिय गान, राष्ट्रिय निशानको साथै राष्ट्रिय जनावर-गाई, राष्ट्रिय फुल-लालीगुराँस, राष्ट्रिय रंग-सिम्रिक राष्टिय पंक्षी-डाँफे हुनेछ र पृथ्वी नारायण शाहदेखि नेपाल संवत् चलाउने शंखधर साख्वालाई राज्यले राष्ट्रिय विभूति  घोषणा गरेको छ । राणा शासनको विरुद्धमा तत्कालीन युवा विद्रोही नेताहरु शुक्रराज शास्त्री, दशरथ चन्द, गंगालाल, धर्म भक्त,गणेशमान, टंकप्रसाद आदि नेताहरूले एक आपसमा नेपाल नेपालको जय गर्न हिडेका र एक आपसमा चिनाउन ‘जय नेपाल’ भन्ने चलन शुक्रराज शास्त्रीले चलाएको, राणा शासनलाई जिस्काउन काठमाडौंका युवाहरुले पनि टोल टोलमा मनाइने ‘गथेमुगःजात्रा’ मा ओम् शान्ति र जय नेपालको नारा घन्काउने गरेको पाइन्छ । शुक्रराज शास्त्रीलाई  फाँसी दिदै गर्दा आफ्नो मातृभूमि नेपाललाई ‘जय नेपाल’ अभिवादन गर्दै देह त्याग भएको हामीले इतिहासमा पढेका छौं ।

तत्पश्चात् क्रान्तिको क्रममा कांग्रेसले यही ‘जय नेपाल’ को नारा बोक्दै २००७को कान्ति सफल पारेको हो । त्यसपछि सबै राजाले शाही सन्देश, घोषणाको अन्यमा ‘जय नेपाल’ भन्दै आएको थिए । बिराटनगरबाट संचालित प्रजातन्त्र रेडियोबाट जय नेपालको नारा बजाउँदा ‘जय नेपाल’ अझ लोकप्रिय बन्न पुग्यो । जनपथ र शसस्त्र प्रहरी आदि ले ‘जय नेपाल’ भनेर अभिवादन  गने प्रचलन अहिले कायमै छ । म रक्षामन्री हुँदा पनी नेपाली सेनाले समेत ‘जय नेपाल’ भन्नुपर्छ भनेर अभियान नै चलाएको थिएँ ।

हाम्रो राष्ट्रिय गानको अन्तिम  वाक्यांश पनि ‘जय जय जय नेपाल’ भनी मातृभूमिप्रति समर्पित गरेको छ।  राजनीतिक कुसंस्कार वोकेका तत्कालीन सरकारी प्रवत्ता संचार मन्त्री गोकुल वास्कोटाले यो शब्दलाई अपमान गर्दै गलत ब्याख्या गरेका थिए । मैंले संसदमै उभिएर बाँस्कोटा र तत्कालीन सरकारलाई हिम्मत छ भने राष्ट्रिय गानको उक्त ‘जय जय जय नेपाल’ को हरफ हटाएर देखाउनोस भनेर चुनौति पनि दिएको थिएँ । वा राष्ट्रिय गान गाउँदै गर्दा ‘जय जय जय नेपाल’ नभनी  राष्ट्रिय गान गाउने आँट गर्नुहोस पनि भनेको थिएँ ।

नत्र सरकारी प्रवत्ता भएर गैरजिम्मेवारी अभिव्यक्ति  नदिनुस् भनेको थिएँ । यदि संसदमा संविधान संशोधन सरकारले प्रस्ताव ल्याएमा ‘जय नेपाल’लाई राष्ट्रिय अभिवादनको रूपमा राखिनु पर्छ भनी पुनसंशोधन  प्रस्ताव  गरेको थिएँ । त्यसैले अब नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले संविधान शंसोधनको प्रस्ताव ल्याएमा फेरि पनि म जोडतोका साथ उही आवाज उठाउने छु । ‘जय नेपाल’लाई राष्ट्रिय अभिवादनको रूपमा राखिनु पर्छ भनी दबाब दिनेछु । र अन्त्यमा अग्रगामी राष्ट्र हाम्रो जय जय जय नेपाल !(प्रतिनिधि सभा सदस्य प्रधानले संसदमा राखेको प्रस्तावको सम्पादित अंश)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ