arrow

अन्नपूर्ण र धौलागिरिको समीपमा पुर्‍याउने पुनहिल... (फोटो कथा)

logo
सरोज पाण्डे,
प्रकाशित २०७८ असोज १० आइतबार
Article-Saroj-poonhill.jpg

‘घोरेपानी - पुनहिल’ नेपालको अन्नपूर्ण क्षेत्रको एउटा सजिलो पदमार्ग हो। सीमित समयमा नै प्राकृतिक सौन्दर्यमा रमाउँदै सूर्योदय र सूर्यास्तसँगै नजिकै देखिने अन्नपूर्ण र धौलागिरि हिमशृङ्खलाका धेरै हिमालहरूको मनमोहक दृश्यको लागि पुनहिल उत्तम गन्तव्यको रूपमा परिचित छ। हिमाली दृश्यको लागि मात्र नभएर गुरुङ तथा मगर संस्कृतिको अनुभव बटुल्न समेत घोरेपानी - पुनहिल पदयात्रा उपयोगी बन्न सक्छ।

पुनहिलसम्मको पदमार्ग सुन्दर गाउँहरू, मनमोहक झरनाहरू र लालीगुराँसको जङ्गल हुँदै अघि बढ्छ। लालीगुराँस फुल्ने समयमा देखिने फुलको रङ्गमा रङ्गिने डाँडाहरूले पर्यटकहरूलाई अवर्णनीय आनन्द प्रदान गर्छ। ३ हजार २ सय १० मिटरको उचाइसँगै पदमार्गको उच्चतम स्थान, पुनहिलबाट देखिने अन्नपूर्ण र धौलागिरि हिमशृङ्खलाको अन्नपूर्ण दक्षिण, अन्नपूर्ण फ्याङ, माछापुच्छ्रे, हिउँचुली, धौलागिरि, निलगिरी लगायतका गगनचुम्बी हिमालहरूमा उदाउँदो सूर्यको प्रकाश पर्दा जोकोही पनि मन्त्रमुग्ध नभई रहन सक्दैनन्।

पुनहिलसम्मको यात्राको सुरुवात गण्डकी प्रदेशको सुन्दर शहर पोखराबाट हुन्छ, जुन राजधानी काठमाण्डौंबाट २०० किलोमिटर टाढा छ। ३० मिनेटको विमान यात्रा वा ५-६ घण्टाको सडक यात्राबाट पुगिने पोखरा तालहरूको एक शहर हो र ती तालहरू हिमालका दर्पण हुन। फेवाताल र बेगनास तालको किनारमा बसेर हेर्दा पानीभित्र देखिने अन्नपूर्णको शानदार दृश्य पोखरा घुम्न जाने पर्यटकको लागि पनि मुख्य आकर्षणको केन्द्र हो। त्यही सुन्दर शहरमा एक दिन बसेर, भोलिपल्ट बिहानै हामी नयाँ पुल तिर लाग्यौँ जुन पोखराबाट झण्डै ४५ किलोमिटर पर पोखरा-बागलुङ राजमार्गमा पर्दछ। पोखराबाट ट्याक्सी वा बसमा नयाँ पुल पुग्न सकिन्छ जहाँबाट हामीले हाम्रो पदयात्रा सुरु गर्दै थियौँ।

पोखरा - बागलुङ सडक खण्डको नयाँ पुलमा ओर्लेर बिरेठाँटी बजारबाट देब्रे तिरको बाटो हुँदै उल्लेरी पुगिन्छ। नयाँ पुलबाट जिप कुद्ने कच्ची बाटो उल्लेरीसम्मै पुग्छ तर हामी भने नयाँ पुल देखिनै हिँड्दै थियौँ। उल्लेरी नपुगुन्जेल रामघाई, सुदाम, तिखेढुङ्गा र हिले नामका केही साना मानव बस्तीहरू लगायत मनोरम वातावरणको दृश्यावलोकन गर्दै पदयात्रा गर्न पाइन्छ। पुनहिल पुग्नका लागि सबैभन्दा छोटो बाटो पनि यही नै हो। तिखेढुङ्गामा खाना खाएर हामी भयानक उकालो बाटो अघि बढ्यौँ। ढुङ्गा छापिएको सो बाटोबाट उल्लेरी पुग्दा ३२०० वटा खुट्किला पार गर्न पर्छ।

आकाश धुम्मिरहेकै थियो भने पानीले पनि बेला बेला दुख दिई रहन्थ्यो। आकाश खुलेको दिनमा, पदमार्गबाट अन्नपूर्ण दक्षिण, हिउँचुली, माछापुच्छ्रे लगायतका दृश्यहरूको आनन्द उठाउन सक्नुहुन्छ। हामीलाई भने वर्षाले पुरै दिन हिमाली दृश्यहरू देखाउन इन्कार गरिरह्यो। उल्लेरीको उकालो कटेपछि जङ्गलको बाटो घोरेपानी तिर अघि बढ्यौँ, त्यो बेला पनि हल्का पानी परिरहेकै थियो। उकालो चढ्दै गर्दा, देवकोटाले झैँ हामीले पनि पहाडमा छाया, घाम, पानी र कुहिरोका चित्रहरू देख्थ्यौ। पहाडी क्षेत्रका ती सौन्दर्यलाई आत्मसाथ गर्दै जङ्गलैजङ्गल हाम्रो  यात्रा अघि बढिरह्यो। 

साँझको ७ बजे २ हजार ८ सय ७४ मिटरमा अवस्थित घोरेपानी पुगेर होटेलमा बस्यौँ। समयको पाबन्दीका बीच घुम्न निस्केका पदयात्रीलाई समेत भिन्न खालका प्राकृतिक सुन्दरताको रसास्वादन गराउन सक्षम ठाउँ छ घोरेपानी। सो क्षेत्रमा होटेल तथा गेष्ट हाउसहरूको राम्रो व्यवस्था भएकाले खान बस्नको लागि खासै समस्या पनि हुँदैन र सञ्चालित होटेल तथा गेष्ट हाउसहरूको मूल्य पनि करिब करिब एउटै खालको हुन्छ।

त्यो रात घोरेपानीमा बिताएर, हामी सूर्योदय र शानदार हिमशृङ्खला हेर्नको लागि घोरेपानीबाट पुनहिलसम्मको छोटो यात्राको लागि बिहान सबेरै तयार भयौँ। हाम्रो पदयात्राको मुख्य गन्तव्य थियो पुनहिल। होटेलबाट निस्किँदा, बिहानको लगभग ५ बजेको थियो। सूर्योदय भन्दा पहिला नै पुग्न विदेशी र स्वदेशी पर्यटकहरूको घुइँचो तँछाडमछाड गर्दै ढुङ्गा बिछ्याइएको उकालो बाटो हुँदै अघि बढिरहेको थियो, पुनहिलको प्रवेशको लागी चाहिने पास लिएर प्रवेशद्वार कटेपछि भिड झन् बढ्यो। अघिल्लो दिन पानी परे पनि, बिहान बाहिर निस्केर आकाशतिर हेर्दा देखिएका चम्किला ताराहरूको सफा आकाशको झल्को दिइसकेको थियो। घोरेपानीवाट ३,२१० मिटर उचाइमा रहेको पुनहिल पुग्न आधा घण्टा भन्दा अलि बढी लाग्यो। उकालो यात्राको क्रममा हिमालका अग्ला चुचुराहरू चन्द्रमाको प्रकाशमा धमिला देखिइरहेका थिए। 

पुनहिल हिमालय सहित सूर्योदयको अविश्वसनीय दृश्य हेर्नको लागि एउटा उपयुक्त गन्तव्य हो। सूर्योदयको समयमा पुनहिल पुग्दा त त्यो 'हृदयनिनादिनी प्राकृतिक छटा' (के नेपाल सानो छ ? - लक्ष्मीप्रसाद देवकोटा)ले विश्वकै सबैभन्दा सुन्दर ठाउँमा पुगेको आभास भइरहेको थियो। त्यसै बीच माछाको पुच्छर जस्तो देखिने माछापुच्छ्रे हिमाल, अन्नपूर्ण दक्षिण, निलगिरि, धौलागिरि लगायतका हिमालहरु सूर्योदयसँगै सुनजस्तै टल्किन थालेपछि त पुनहिलको सुन्दरता जादुगरी बन्न पुग्यो। पुनहिलवाट सबैभन्दा नजिकै देखिने हिमाल अन्नपूर्ण दक्षिण र धौलागिरि हो। अन्नपूर्ण दक्षिण ७२१९ मिटर अग्लो छ भने संसारको सातौँ अग्लो धौलागिरि हिमाल ८११६ मिटर अग्लो छ। अघिल्लो रातको भारी वर्षाको बाबजुद सफा मौसममा रमाउन पाउँदा हामी सबै खुसी थियौँ। पृष्ठभूमिमा रहेका सुन्दर हिमाली दृश्यले आनन्द र शान्ति महसुस गराइरहेको भान हुन्थ्यो। 

सूर्यका किरणहरू छिप्पिएसँगै पर्यटकहरू घोरेपानी तिर झर्न थाले पनि हामीलाई भने हिमाली दृश्यले मोहित पारिरहेकै थियो। लगभग ९ बजे तिर तल झर्दै गर्दा, हरेक पाईला पिच्छे रोकिन मन लाग्थ्यो, फोटोमा ती दृश्यले कैद गर्नको लागि किनकि सो क्षेत्रको वन जङ्गलमा ढकमक्क फुलिरहेका विभिन्न रङ्गका लालीगुराँसले वरिपरिको वातावरणलाई झलमल्ल पारिरहेको थियो। यही कारण चैत्र महिना पछिको समय घोरेपानी - पुनहिल यात्राको विशेष समय मानिन्छ। नेपालमा पाइने ३१ प्रजातिका लालीगुराँस मध्ये घोरेपानी क्षेत्रमा ८ प्रजातिका लालिगुराँस पाइन्छ। लालीगुराँसका फूलहरूले भरिएको राजसी पहाडहरूसँगै मनमोहक सौन्दर्यको कारण यो तपाईँको जीवनकै सबैभन्दा रोमान्टिक ट्रेकहरू मध्ये एक बन्न सक्छ। पुस माघको जाडो समयमा भने यो क्षेत्रमा पनि हिमपात हुने भएकाले पदयात्रीलाई अन्नपूर्ण हिमालकै नजिकमै पुगेको महसुस हुन्छ।

पुनहिलबाट पुनः घोरेपानीमा फर्किएर खाजा खाएर हामी फर्कने तरखरमा लाग्यौँ। फर्कनको लागी हामीले छानेको मार्ग थियो चित्रे, सिखा, घारा हुँदै तातोपानी अनि त्यहाँबाट बसमा बागलुङ। पुग्नु पर्ने ठाउँ धेरै पर भएकाले ढिला नगरी लाग्यौ सोही मार्ग तर्फ। सो दिन हिमाल र लालीगुराँसको दृश्यको  साथ दिनभरि नै रह्यो जसले ओरालो हिँड्दाको थकाई छिनभरमै मेट्दिन्थ्यो। उचाइ कम भएसँगै हिमाली दृश्यहरू ओझेल पर्दै गए। सूर्यास्तको समयमा तातोपानी पुग्दा पर क्षितिजमा निलगिरी हिमाल भने टल्किरहेको थियो।

एक घण्टाभन्दा बढी समय तातोपानीमा डुबुल्की मार्दा थाकेको ज्यानले केही राहत महसुस गर्‍यो, रात झमक्कै परिसकेको थियो। अब चिन्ताको विषय भने बागलुङ जाने गाडी पाइएला की नपाइएला भन्ने थियो। बेनी - जोमसोम सडकमा आएर कुरेको २० मिनेट जति पछि मात्र बस आइपुग्यो जसले ४० किलोमिटर बाटो पार गर्न नै २ घण्टा भन्दा धेरै लगाइदियो, रातको १० बजेको थियो। मालढुङ्गा बस स्टपबाट बागलुङ बजार पुग्न मध्य पहाडी लोकमार्ग हुँदै ६ किलोमिटर जति जान पर्छ। रातीको समयमा कुनै गाडी पाउने सम्भावना नदेखेपछि राजमार्गको छेउमा राखिएको होटेलका विज्ञापनका बोर्डमा राखिएको नम्बरमा फोन गरेपछि होटेलबाटै गाडी आयो र यात्रा र बसाई सहज भयो। भोलिपल्ट बिहानै बागलुङको चर्चित कालिका मन्दिरको दर्शन पछि हामी लाग्यौँ  कुस्मा बजार तिर। कुस्मा बजार क्षेत्र र केही पर रहेको ३४४ मिटर लामो र ११४ मिटर अग्लो कुस्मा -ग्यादी झोलुङ्गे पुलमा समय बिताएर हामी पोखरा हुँदै लाग्यौँ काठमाडौंतिर।

हाम्रो यात्रा

दिन १. काठमाडौं बाट पोखरा (ड्राइभ)

दिन २. पोखरा बाट नयाँ पुल (ड्राइभ) सम्म तिखे ढुङ्गा देखि घोरेपानी

दिन ३. घोरेपानी, पुनहिल बाट सिखा हुँदै तातोपानीबा (ड्राइभ) बागलुङ

दिन ४. बागलुङदेखि पोखरा हुँदै काठमाडौं। (ड्राइभ)

यो बाहेक घोरेपानी र पुनहिल क्षेत्रको भ्रमणका लागि आन्तरिक तथा बाह्य पर्यटकहरूले आफ्नो इच्छा र समय अनुसार विभिन्न ठाउँबाट यात्रा सुरु गर्न सक्दछन्। कास्कीको नयाँ पुलबाट घान्द्रुक, घोरेपानी हुँदै पुनहिल, म्याग्दीको बेनीवाट पोखरेबगर, शिखा, घोरेपानी हुँदै पुनहिल वा मुस्ताङबाट म्याग्दी आएर भूरुङ, तातोपानी, घार, शिखावाट घोरेपानी हुँदै पुनहिल। 

अब अर्को यात्रा पछि भेटौँला :)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ