एमालेमा ७० वर्षे बहस: फागुनपछि महाधिवेशन भए केपी ओली अध्यक्ष उठ्न नपाउने
संसदीय दलको नेता बन्न पाउने नपाउनेमा बहस जारी
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १० आइतबार
2.2k
Shares
फाइल तस्विर।
काठमाडौं। नेकपा एमालेमा ७० वर्षे उमेर हद कायम राखेर विधान महाधिवेशन हुने भएको छ । विधान महाधिवेशनअघि तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा बहुमत केन्द्रीय सदस्यहरूले ७० वर्षे उमेरहदलाई कायम राख्नुपर्ने सुझाव दिएपछि विधान महाधिवेशनमा पनि सो प्रस्ताव जस्ताको जस्तै पेस हुने देखिएको छ । मुलतः केन्द्रीय कमिटीले पास गरेपछि विधान महाधिवेशनले पनि त्यसलाई उल्ट्याउने सम्भावना न्यून हुन्छ ।
पार्टीको नेतृत्व दोस्रो पुस्तामा आउने गरी तयार पारिएको सो विधान मस्यौदामाथिको छलफलमा अधिकांश केन्द्रीय सदस्यहरूले ७० वर्षे प्रावधानलाई कायमै राख्नुपर्ने अडान राखेका थिए । एमालेका केही केन्द्रीय सदस्यले ७० वर्षे उमेर हद हटाउन माग गरेका थिए । तर, उनीहरूको मागलाई बहुमत केन्द्रीय सदस्यले अस्वीकृत गरेका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको साङ्गठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधनसम्बन्धी प्रस्तावमाथि समूहगत निष्कर्ष सुनाउँदै १० वटै समूहका नेताले पदाधिकारी सङ्ख्या बढाउनुपर्ने बताए भने ७० वर्षे उमेर हदलाई कायम राख्न माग गरे । ‘केन्द्रीय कमिटी बैठकमा ७० वर्षे उमेरहदको विषय उठेको थियो यसलाई कायम राखेर जानुपर्छ भन्नेमा सबै साथीहरु सहमत हुनुहुन्छ केन्द्रीय कमिटी बैठकबाट उमेर हद कायमै भएर जान्छ । यो नवौ महाधिवेशनको निरन्तरता हो’, पार्टीको प्रचार विभाग सदस्य योगेश भट्टराईले भने ।
तर पार्टीको संसदीय दलको नेता हुन पाउने की नपाउँने भन्ने विषयमा भने अझै परिभाषित गर्नै बाँकी रहेको उनले भनेका छन् ।
‘अध्यक्ष उठ्न नपाउने भनेपछि दलको नेतामा चाँही के गर्ने भन्ने विषयमा परिभाषित गर्नै बाँकी छ, तर एक व्यक्तिका लागि कार्यकारी पद चाँही दुई पटक भनेका छौं,’ भट्टराईले थपे ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले ७० वर्षे उमेरहदका विषयमा पार्टी भित्र कुनै समस्या नरहेको बताए । उनले सो व्यवस्था कायम हुने जानकारी दिए । ‘७० वर्षे उमेरहद कायम रहन्छ, यो व्यवस्थाका विषयमा कतै पनि कुनै असमझदारी छैन, १० वटा विभिन्न समूहमा बहस हुँदा पनि यो विषयमा विवाद छैन,’ एमाले प्रमुख सचेतक भट्टराईले हाम्राकुरासँग भने ।
यो व्यवस्था लागू भए अब फेरी केपी ओली अध्यक्ष उठ्न पाउने कि नपाउने ? भन्ने प्रश्नमा सचेतक भट्टराईले विधानमा सो व्यवस्था लागू भए ७० वर्ष पुगेका जो कोही पनि आगामी महाधिवेशनमा अध्यक्षमा उठ्न नपाउने बताए ।
‘सो व्यवस्था कायम हुँदा ७० वर्ष पुगेका जो कोही पनि आगामी महाधिवेशनमा अध्यक्षमा उठ्न पाउनु हुन्न, यो व्यवस्था सबैलाई लागू हुन्छ ।’ सचेतक भट्टराईले भने ।
७० वर्षे उमेर हदले ओलीलाई दशौँ महाधिवेशनमा अध्यक्ष हुन रोक्दैन । मङ्सिरमा महाधिवेशन भए एक पटक अध्यक्ष हुन पाउँछन् । फागुन १० गतेमात्र ७० वर्षका हुन्छन् तर मङ्सिरमै महाधिवेशन हुँदा उनलाई उमेर हद नलाग्ने भएकाले यति बेला सो विषयमा ओली चुपचाप रहेका छन् । विधानको ७० वर्षे प्रावधान र ओली दोहोरिने अवस्थामा त्यसको प्रत्यक्ष असर भने हालका एमालेका उपाध्यक्ष र महासचिवलाई पर्नेछ ।
एमालेमा हाल रहेका शीर्ष नेतामध्ये ओलीपछिका सबैभन्दा सिनियर ईश्वर पोखरेल हुन् । अध्यक्षमा ओली दोहोरिँदा दोस्रो पुस्ता भनिएका तर उमेर र राजनीतिक योगदानका आधारमा पहिलो पुस्ताकै नेता रहेका ईश्वर पोखरेल, सुवास नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापाहरूलाई असर पर्ने देखिए पनि उमेर हद हटाउने विषयमा उनीहरूको पनि कुनै जोड नचल्ने भएको छ ।
‘ओलीको हकमा पार्टीले विशेष निर्णय गर्न सक्छ। त्यो भनेको के हो भने – स्थानीय निकायको निर्वाचन र सङ्घीय निर्वाचन ओलीकै नेतृत्वमा जाने, त्यसपछि आएको परिणामको आधारमा ओलीलाई सरकारको नेतृत्व गर्न पठाएर पार्टीको जिम्मेवारीमा अरू नेताहरूलाई ल्याउने’, एमालेका एक स्थायी कमिटी सदस्यले भने । उनका अनुसार संविधानले सरकारको नेतृत्व गर्न कुनै व्यक्तिको उमेर हद नतोकेकाले ओलीलाई सरकारमा पठाउदा पार्टीमा अर्को व्यक्तिलाई ल्याउन सकिने र एघारौँ महाधिवेशनसम्म पुग्दा अहिलेका धेरै नेताहरूले पार्टीको जिम्मेवारीबाट अलग हुँदा पार्टी स्वतः दोस्रो पुस्तामा आउनेछ ।
‘७० वर्षे उमेरहदको विषयमा ओली मौन बस्दा सबैभन्दा बढी सकस ईश्वर पोखरेललाई परेको छ । ओलीका विरुद्ध अध्यक्षमा उठ्न नसक्ने ओलीले पोखरेललाई अध्यक्ष चुनाव उठ पनि नभन्ने, एघारौँ महाधिवेशन अघि नै बिदा हुनुपर्ने बाध्यता भएपछि सकस परेको हो’, एमालेका एक स्थायी कमिटी सदस्यले भने । उनका अनुसार पार्टी अध्यक्ष हुनुपर्यो भन्दै धेरै पटक भने पनि ओलीले पोखरेललाई पत्याउन सकेका छैनन् । ओलीले नपत्याएपछि पोखरेलका लागि व्यवस्थापनको उपयुक्त पद भनेको उपाध्यक्ष मात्रै हो ।
तर ओलीको हकमा भने पार्टीभित्रबाट अहिलेसम्म प्रतिस्पर्धाका लागि नेताहरू तयार नभए पनि विधान महाधिवेशन लगत्तै दशौँ महाधिवेशनको रौनक तयार हुनेछ । सो रौनकमा ओली पार्टी अध्यक्षमा चुनाव लडेमा दोस्रो पुस्ताका कोही न कोही नेताहरू ओली विरुद्ध चुनाव लड्ने तयारीमा छन् । ओलीलाई सकेसम्म एक्लै नछाड्ने उनीहरूको तयारी छ ।
एमालेले १५ देखि १७ असोजसम्म विधान महाधिवेशनमा तय गरिसकेको छ । विधान महाधिवेशनमा अहिले तयार पारिएका दस्ताबेज पेस हुनेछन् ।