arrow

चरेस ओसारपसारमा नयाँ शैली : चकटी र डायरीमा राखेर विदेशमा व्यापार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ५ मंगलबार
chares.jpg

काठमाडौं। लागू औषध चरेसको ओसारपसारमा नयाँ शैलीको प्रयोग गरिने गरेको पाइएको छ । प्रहरीले चरेस ओसारपसारमा संलग्न एउटा ठुलो गिरोहलाई पक्राउ गरेसँगै नेपालबाट विदेशमा चरेस ओसारपसारमा नयाँ शैलीको प्रयोग भइरहेको रहस्य खुलेको हो । 

प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले मङ्गलवार पत्रकार सम्मेलन गरी चरेस ओसारपसारमा संलग्न ९ जनाको गिरोहलाई सार्वजनिक गरेको हो । 

कपनस्थित हस्तकलाका सामान उद्योगबाट प्रहरीले ७ किलो ६१४ ग्राम चरेसहित ओसार पसारमा संलग्न गिरोहलाई नै पक्राउ गरेको जनाएको छ । उनीहरूले चकटी र डायरीसहितका हस्तकलाका सामग्री भित्र चरेस राखेर हस्तकलाको सामानको रूपमा विदेश पठाएको खुलेको छ । 

ब्युरोले अनुसन्धानका क्रममा उनीहरूले हस्तकलाको ती सामानमा प्रयोग गरेर चरेसलाई विदेश पठाउँदै आएको पाइएपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको हो । 

पक्राउ पर्नेमा म्याग्दीका श्यामप्रसाद रोका, बीरबहादुर रोका, दिलबहादुर रोका, धादिङका अनिलबहादुर घले, सुनबहादुर गुरुङ, याङकी भनिने जितबहादुर तामाङ, माईला भनिने कृष्णबहादुर तामाङ, नुवाकोटका सेसे भनिने उर्पा तामाङ र बीरबहादुर तामाङ छन् । 

उनीहरुको साथबाट कतार पठाउन हस्तकलाको सामानमा प्याक गरी राखेको ७ केजी ६१४ ग्राम चरेस बरामद गरिएको ब्युरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिएका हुन् ।

यस अघि उनीहरूले यसरी नै अचारको भाँडोमा समेत चरेस राखेर भारत हुँदै हङकङ, थाईल्याण्ड, टर्की लगायतका देशहरूमा पनि लागू औषधहरु ओसार पसार गर्दै आएको पाइएको अनुसन्धानमा खुलेको छ । 

पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको ब्युरोले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ