एमसीसीको विरोधमा सडकमा विप्लव : खुलामञ्चमा विरोध सभा
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २८ सोमबार
453
Shares
तस्वीर सौजन्य : प्रकाश डुम्रे
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल नेकपाले अमेरिकी परियोजना एमसीसीको विरोधमा काठमाडौंको सडकमा विरोध प्रदर्शन गरेको छ ।
विप्लव भूमिगत अवस्थाबाट सार्वजनिक भएपछि पहिलो पटक सडकमा आयोजित विरोध कार्यक्रममा निस्किएका हुन् । सो समूहले अहिले एससीसी खारेज हुनुपर्ने मागसहित खुलामञ्चमा विरोध सभाको आयोजना गरिरहेको छ । विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाले एमसीसी परियोजनाका विषयमा छलफल नै आवश्यक नभएको भन्दै सिधै खारेजीको माग गरे ।
‘एमसीसीका विषयमा केही संसदवादीहरु संसदमा छलफल र बहस गरौं भन्दै छन्, त्यो विषय संसदमा छलफल हुनु आवश्यक छैन, सिधै खारेज गरिनु पर्छ,’ बाँस्तोलाले हाम्राकुरासँग भने । विप्लव समुहले एमसीसीको विरोधमा गरेको कार्यक्रममार्फत काठमाडौंमा आफ्नो शक्तिसमेत देखाएको छ ।
सोमबार माइतीघर मण्डलाबाट शुरु भएको विरोध प्रदर्शन खुलामञ्चमा पुगेर विरोध सभामा परिणत भएको हो । कार्यक्रममा विप्लवसहित नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका सहभागी छन् ।
सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो । सो सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।
सो परियोजनाका विषयमा छलफल गर्न भन्दै अमेरिकाबाट एमसीसीको प्रतिनिधि मण्डल काठमाडौं आएर सत्तारुढ दलसहित विपक्षीदलहरुसँग समेत छलफल गरेर फिर्ता भइसकेको छ ।