एमसीसी जस्ताको त्यस्तै पास गर्न हुँदैन : डा.सुर्यराज आचार्य
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २७ आइतबार
914
Shares
काठमाडौं । पूर्वाधार विकास विज्ञ तथा अध्येता डा.सुर्यराज आचार्यले एमसीसीमा भएका गलत प्रावधानहरु सच्याउनुपर्नेमा जोड दिएका छन् । उनले एमसीसी जस्ताको त्यस्तै पास गर्न नहुने धारणा राखे ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले एमसीसी पास गर्ने वा के गर्ने भन्नेबारे अहिलेसम्म धारणा बनाएको छैन भनेर भन्नु गलत भएको पनि टिप्पणी गरे ।
उनले भने,‘म एमालेका साथीहरुलाई भन्न चाहन्छु, तपाइँहरु शेरबहादुरलाई होइन, जनतालाई जवाफ दिनुपर्छ । केपी ओली बहुत वाचाल हुनुहुन्छ । मलाई त सिंहदरबारमा बस्ने नेताहरुको व्यवहारसँग डर छ । हाम्रो नेताहरुमा सार्वभौमसत्ता सम्पन्न देशलाई व्यवस्थापन गर्ने क्षमता छ र ? अमेरिका सुपरपावर देश हो, यत्रो रकम दिँदा उसको स्वार्थ छ । एमसीसीको उपाध्यक्ष भनेको एउटा कर्मचारी हो, उहाँहरु आउँदा देश नै एमसीसीमय भयो । हाम्रा नेताहरु आन्तरिक राजनीतिको पोको फुकाउनुहुन्छ । यस्तो विषयमा त सबै दलहरु एक कठ्ठा हुनुपर्छ । म एमसीसी जस्ताको त्यस्तै पास हुनुहँदैन भन्ने व्यक्ति हुँ ।’
राजनीतिक दलहरु, यसका नेताहरु र राज्य संयन्त्रमा भएका व्यक्तिहरु र बौद्धिकहरुले राष्ट्रप्रति ठूलो अन्याय भएको पनि उनको भनाई छ । उनले एमसीसी सम्झौता गर्दासम्म नेपालको तर्फबाट पर्याप्त लापरवाही रहेको सुनाए । उनले भने,‘राष्ट्रिय हित के-के हुन ? भन्ने विषयमा लापरवाही भयो । अमेरिका नेपालमा ४०-५० वर्षदेखि विकासको सहयोगी हो । सम्झौतामा राजनीतिक र रणनीतिक प्रकृतिका शर्त छन् ।’
उनले अहिलेसम्म ४६ देशमा एमसीसी सम्झौता भएको र तीमध्ये तीन/चार वटा देशमा सम्झौता खारेज भएको पनि स्मरण गराए । उनले भने,‘सम्झौतामा अमेरिकी कानून लागु हुने कुरा लेखिएको छ । कम्प्याक्टको दफा ३.३ मा यो कुरा लेखिएको छ । वैदेशिक अनुदान कहिल्यैपनि फ्रि हुँदैन । चीनले पोखरा विमानस्थल बनायो, त्यहाँ उसले आफ्नै ठेकेदार राखेको छ । भारतले हुलाकी राजमार्ग बनाउँदापनि त्यस्तै गरेको छ । यो सम्झौतामा अमेरिकी स्वार्थलाई बढावा दिने कुरा लेखिएको छ ।’
उनले एमसीसी आईपिएसको अंग हो कि होइन भन्ने प्रश्न नै गलत रहेको पनि सुनाए । उनले भने,‘कुटनीतिमा देखिने र नदेखिने पाटा हुन्छन् । यो एमसीसीमा नौंवटा शर्तहरु अनन्तकालसम्म रहने कुरा लेखिएको छ । ५.५ मा हेर्दा अमेरिकी हितभन्दा बाहिर हुनुहुँदैन भनिएको छ ।’
संरचना बनिसकेपछि संरचनाको उपयोगबारे पनि अमेरिकीको चासो हुन्छ भनेर लेखिएको पनि उनले सुनाए । उनले भने,‘विकासको आयोजनाको लागि संसद्मा गएर सन्धी ऐन बनाउने हो ? भोलि अन्य देशले पनि ल्याए भने हामी कहाँ पुग्छौं । भोलि हामी गलपासोमा पर्नसक्छौं । अमेरिकी सिनेटमा छलफल हुँदा अमेरिकी रणनीतिक स्वार्थबारे पनि स्पष्ट रुपमा राखिएको छ । देशको हितमा हुँदा पास गर्दा हुन्छ । तर, यो त छलफल गर्नुपर्छ । हामीले उठाएका प्रश्न अनावश्यक होईन तर अप्ठ्यारा लाग्ने हो । कांग्रेस र एमालेका नेताहरुको व्यवहार जनसंगती छैनन् ।’