arrow

प्रचण्ड सहमतिमा एमसीसी अगाडि बढाउन राजी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
prachanda-fatima-mcc.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका आधारमा मात्रै अमेरिकी सहयोगी परियोजना (एमसीसी) लाई अगाडि बढाउन सकिने बताएका छन् । एमसिसीका सम्बन्धमा अनेकन खालका विवाद र द्विविधा रहेको उल्लेख गर्दै उनले केही विषयमा संशोधन हुनुपर्छ भन्ने आफूहरुको मत रहेको बताए । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालसँग शिष्टाचार भेटका लागि एमसिसीका उपाध्यक्ष फतिमा सुमार शुक्रबार बिहान उनको निवास खुमलटार पुगेकी थिइन् । अध्यक्ष दाहालले नेपालका सबै राजनीतिक दलबीच साझा सहमतिका आधारमा मात्रै आयोजना अगाडि बढाउन सकिनेमा आफूहरु स्पष्ट रहेको बताएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । “नेपालका राजनीतिक दलबीचको सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउनुपर्छ भन्नेमा हामी एकमत छौँ”, अध्यक्ष दाहालले भने ।

आफूहरुको पाँच दलीय गठबन्धनको बीचमा पनि साझा धारणा बनाएर मात्रै यसलाई अगाडि बढाउने पक्षमा रहेको उनको भनाइ थियो । सो अवसरमा उपाध्यक्ष फतिमाले नेपालका राजनीतिक दलबीचमा अन्तक्र्रिया गर्न आफू नेपाल आएको बताएकी थिइन् । उनले नेपालका राजनीतिक दलका बीचमा साझा सहमतिका आधारमा आयोजना अगाडि बढोस् भन्ने आफूहरुको चाहना रहेको उल्लेख गरिन् । 

आयोजनाको उपादेयताका बारेमा जानकारी दिँदै उपाध्यक्ष फतिमाले पारदर्शीपूर्ण छलफलका आधारमा मात्रै अगाडि बढ्न सजिलो हुने बताएकी थिइन् । उनले आफूहरु कुनै पनि दबाब दिने उद्देश्यले नआएकाले यसलाई नियमित भ्रमण भएको बताएकी थिइन् । 

सो अवसरमा उपाध्यक्ष फतिमाले प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यलाभको समेत कामना गरेकी थिइन् । बिहीबार नेपाल आएकी उपाध्यक्ष फतिमाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरिसकेकी छिन् । एमसीसीका बारेमा परस्परविरोधी मत रहेका बेला आयोजनाका बारेमा जानकारी लिने उद्देश्यका साथ फतिमा नेपाल आइपुगेकी हुन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ