arrow

कांग्रेस संसदीय दलको बैठकमा एमसीसीको चर्चा, सभापतिले भने- ‘अघि बढ्छ’

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ भदौ २२ मंगलबार
Congress-parliamentary-meet.jpg
नेपाली काँग्रेस संसदीय दलको मङ्गलबार नयाँ बानेश्वरमा बसेको बैठकमा सहभागी कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालगायत । तस्विर: रासस

काठमाडौं। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विषयमा चर्चा भएको छ। मङ्गलवार नयाँ वानेश्वरस्थित संघीय संसद् भवनमा बसेको बैठकमा कांग्रेस सांसदहरूले एमसीसीका बारेमा चासो राखेका हुन्। 

सो क्रममा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी अघि बढ्नेमा ढुक्क रहन आफ्ना सांसदहरूलाई आग्रह गरे । उनले अन्य दलसँगसमेत एमसीसीका विषयमा परामर्श गरेर आफू अघि बढ्ने भन्दै सो विषयमा कुनै भ्रममा नपर्न सांसदहरूलाई आग्रह गरे । 

‘अन्य दलसँग पनि छलफल भइरहेको छ, एमसीसीका विषयमा सबै दलसँग परामर्श गरेर अघि बढ्ने हो, तपाईँहरू कसैले पनि एमसीसीका विषयमा भ्रम पाल्नु पर्दैन, भ्रम चिरेर अघि बढ्नु होला,’ देउवाले बैठकमा राखेको धारणाबारे एक सांसदले जानकारी दिँदै भने । 

सो क्रममा देउवाले बुधवार बस्ने संसद् बैठकमा अनिवार्य रूपमा उपस्थित हुन पार्टीका सांसदहरूलाई निर्देशनसमेत दिए । सङ्घीय संसद्को दुवै सदनको बैठकमा अनिवार्य रूपमा उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका सांसदहरूलाई सभापति देउवाले निर्देशन दिएको संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन् । 

‘माननीयज्यूहरूलाई सङ्घीय संसद्को दुवै सदनको बैठकमा अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिकाहरू खेल्न सभापतिले आग्रह गर्नु भएको छ,’ भुसालले भनिन् । 

बैठकमा सांसदहरूले मन्त्रीपरिषद् विस्तारमा भइरहेको ढिलाइका विषयमा पनि चासो राखेका थिए । सो विषयमा प्रधानमन्त्री देउवाले अन्य दलसँग पनि छलफल गरेर मन्त्रीपरिषद्लाई पूर्णता दिने जवाफ दिएका छन् । 

संसदीय दलको बैठकमार्फत कांग्रेसले सङ्घीय संसद्को बुधवारबाट सुरु हुने बैठकमा संसद्मा विचाराधीन अध्यादेश तथा विधेयकहरू पारित गरेर जाने निर्णय पनि गरेको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्मा विचाराधीन राजनीतिक दलसम्बन्धी अध्यादेशलगायतका अध्यादेश र विधेयकहरू संसद्को पहिलो बैठकबाटै छलफलका लागि अघि बढाउने जानकारी गराएका थिए भने गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाका सम्बन्धमा भारत सरकारलाई पठाइएको कूटनीतिक नोटबारे संसद्लाई जानकारी गराउने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ