arrow

दुईवटा एप्सबाटै सवा अर्ब ठगेको एनसेलले ९० एपबाट कति गरेको होला ठगी ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १४ सोमबार
ncell-csr.jpg

काठमाडौँ। एनसेलले सर्वसाधारण उपभोक्ताको जानकारी विना अनधिकृत रूपमा एप्स चलाइ ठगी गरेको विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गर्दै एक अर्ब ११ करोड रुपैयाँ सर्वसाधारणलाई फिर्ता गर्न निर्देशन दिएसँगै एनसेलका अन्य कर्तुतहरू पनि बाहिर आउन थालेको छ।

दुई वटा एप्सबाट मात्रै एक अर्ब भन्दा बढी ठगेको पाइएसँगै एनसेलले सर्वसाधारण उपभोक्ताको जानकारी विना नै अटो रिन्यू गरेर अन्य एप्स मार्फत पनि ठगी गरेको हुनसक्ने भन्दै प्राधिकरणलाई अनुसन्धानको लागि दबाब पर्न थालेको छ। एनसेल स्रोतका अनुसार एनसेलले यस्ता करिब ९० एप्स तथा गेमहरू सञ्चालन गर्दै आएको छ।

टेलिकम क्षेत्रका जानकारहरू एनसेलले अटो रिन्यू हुने यस्ता खालका एप्स चलाएर सर्वसाधारणको मोबाइलको ब्यालेन्स निरन्तर कटाएर अर्बौँ ठगी गरेको हुनसक्ने बताउँछन्। दुई वटा एप्सबाटै यत्रो ठुलो ठगी हुँदा अन्य एप्सबाट पनि थप अर्वौ रकम ठगी गरिएको हुनसक्ने अनुमान जानकारहरूको छ।

प्राधिकरणले कारबाहीको निर्णय गर्दा एनसेलका अन्य एप्स हरूबाट पनि के कति कमाइ गरेको हो सो को विवरण १५ दिनभित्र बुझाउन एनसेललाई निर्देशन दिएको छ । एनसेलले अन्य एप्सबाट समेत बदमासी गरेको हुनसक्ने भन्दै प्राधिकरणलाई थप अनुसन्धान गर्न समेत दबाब बढेको छ। यस बारेमा प्राधिकरणले औपचारिक रूपमा केही प्रस्ट नपारे पनि सर्वसाधारण उपभोक्ताहरूको गुनासो आइरहे प्राधिकरणले अनुसन्धान गर्न सक्ने बताएको छ।

यसअघि सर्वसाधारण उपभोक्ताको मोबाइलबाट उनीहरूको स्वीकृति नै नदिई ठगी गरी रकम कटाएर लाभ लिएको एनसेललाई प्राधिकरणले अहिलेसम्मकै ठुलो कारबाही गरेको थियो। प्राधिकरणको बोर्ड बैठकले एनसेललाई सर्वसाधारणको ठगी गरेको रकम फिर्ता गर्न निर्देशन दिएसँगै एनसेल आजियाटाको चोरी समेत उजागर भएको थियो।

प्राधिकरणको साउन ३२ गते बसेको बोर्ड बैठकले गरेको निर्णय भदौ ४ गते शुक्रवार प्रमाणीकरण गरेको थियो। सर्वसाधारण उपभोक्ताको ठगी भएको १ अर्ब ११ करोड भन्दा बढी रकम ३ महिनाभित्र उनीहरूको मोबाइलमा पठाउन निर्देशन प्राधिकरणको बोर्ड बैठकले गरेको थियो। यसरी रकम फिर्ता गर्दा विस्तृत विवरण प्राधिकरणलाई प्रत्येक महिना उपलब्ध गराउन समेत एनसेललाई निर्देशन दिइएको उनले बताए। ग्राहकको पहिचान नखुलेको अवस्थामा फिर्ता गर्नुपर्ने रकमलाई छुट्टै कोषमा जम्मा गरी प्राधिकरणलाई जानकारी गराउन पनि निर्देशनमा भनिएको थियो।

एनसेल आजियाटा लिमिटेडले सञ्चालन गरेको गेमलोफ्ट र हुवाये एप ग्यालरी सहितका भ्यालु एडेड सर्भिस सञ्चालन गरी के कति रकम आर्जन गरेको हो सो को जानकारी पनि १५ दिनभित्र उपलब्ध गराउन प्राधिकरणले एनसेललाई निर्देशन दिएको छ।

एनसेल आजियाटा लिमिटेडले सञ्चालन गरेको गेमलोफ्ट र हुवाये एप ग्यालरी नामका भ्यालु एडेड सर्भिस स्वचालित रिन्यु गरी सर्वसाधारणको रकम उनीहरूको स्वीकृति विना अनधिकृत रूपमा कटाएपछि प्राधिकरणले एनसेललाई स्पष्टीकरण सोधेको थियो। यसमा एनसेलले चित्त बुझ्दो जवाफ नदिएपछि नियामक निकाय प्राधिकरणको बोर्ड बैठकले एनसेललाई कारबाही गरेको हो।

गेमलोफ्टले ११ करोड ३७ लाख ४८ हजार ९८६ रुपैयाँ र हुवावे एप ग्यालरीले ९९ करोड ९२ लाख १८ हजार ८६३ रुपैयाँ २०७५ असोज १५ देखि २०७७ जेठ १८ सम्म उपभोक्ताहरूको स्वीकृति नलिई एनसेलले ठगी गरी कमाइ गरेको थियो।

उपभोक्ताहरूको स्वीकृति विना अटो रिन्यु गरी रकम कटाएको उजुरी परेपछि प्राधिकरणले गठन गरेको छानबिन समितिले समेत एनसेल आजियाटालाई दोषी पाएको थियो। यस लगत्तै प्राधिकरणले २०७८ असार १७ गते स्पष्टीकरण सोधेको थियो। एनसेलले २०७८ असार ३१ गते प्राधिकरणमा बुझाएको स्पष्टीकरण पनि चित्तबुझ्दो नपाइएपछि प्राधिकरणका बोर्ड बैठकले एनसेल आजियाटालाई कारबाही गरेको प्राधिकरणका सहायक प्रवक्ता अच्युतनन्द मिश्रले बताए।

प्राधिकरणको कारबाही चित्त नबुझेको अवस्थामा एनसेललाई अदालत जाने ठाउँ भने रहेको छ। तर प्राधिकरणको निर्णय भने एनसेलले परिवर्तन गराउन भने नसक्ने प्राधिकरणका एक उच्च अधिकारीले बताए।

टेलिकम कम्पनी सञ्चालन गर्नुअघि लिएको अनुमति पत्रको सर्त बमोजिम समेत प्राधिकरणको स्वीकृति नै नलिई तथा प्राधिकरणको निर्देशन विपरीत सेवा सञ्चालन र अटो रिन्यु गरे उपर प्राधिकरणबाट दूरसञ्चार ऐनको दफा ४७(१) र ४७(२) बमोजिम कारबाही गर्दा पनि पुनः प्राधिकरणको निर्देशनको अवज्ञा गर्दै सेवा सञ्चालन गरेपछि प्राधिकरणको बोर्ड बैठकले एनसेललाई कारबाही गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ