arrow

अर्थ समितिमा शेयर बजार: हावा नचली पात हल्लिन्छ र ?

स्वार्थ जोडिन्छ भनेर धितो पत्रसम्बन्धी ऐन, २०६३ को परिच्छेद ९ मा धितो पत्रको भित्री कारोबारका सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३१ आइतबार
Parliament-sebon-dhitopatra.jpg

काठमाडौं। बजारको नियामक निकायमा बस्ने पदाधिकारी नै अनधिकृत शेयर कारोबारमा जोडिएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाको अर्थ समितिले चासो देखायो । नेपाल धितो पत्र बोर्ड नेपालको शेयर बजारको नियामक निकायको रूपमा स्थापित छ । बोर्डले समग्र शेयर बजारमा कानुन कार्यान्वयन गराउने काम गर्छ । तर बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले छोरी रेविकाको नाममा साधारण शेयर बिक्री गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता शेयर खरिद गरेको विषय सार्वजनिक भयो । 

अर्थ मन्त्रालयले गत साउन १३ गते तीन दिनभित्र स्पष्टीकरण पेस गर्न बोर्डलाई निर्देशन दियो । सोही दिन नेपाल स्टक एक्सचेन्जलाई पनि एउटै ब्यहोराको पत्र पठाइ स्पष्टीकरण दिन निर्देशन गरेको थियो ।  सामान्यतः नियामक निकायमा रहने व्यक्तिको एकाघरका सदस्यले शेयर खरिद गर्न पाउँदैनन् । स्वार्थ जोडिन्छ भनेर धितो पत्रसम्बन्धी ऐन, २०६३ को परिच्छेद ९ मा धितो पत्रको भित्री कारोबारका सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था गरिएको छ । 

अर्थ समितिको आजको बैठकमा सांसदले कानुन कार्यान्वयन गराउने निकायका व्यक्तिले अनधिकृत रूपमा शेयर खरिद गर्ने विषय कसरी कानुन संवत् भयो भन्ने जिज्ञासा राखेका थिए । सांसदको जिज्ञासा थियो, “हावा नचली पात हल्लिन्छ र ? कानुनको छिद्र खोजेर सञ्चारमाध्यमले गत समाचार लेखे भन्न पाइन्छ र ?”

बोर्डका पदाधिकारीले धितो पत्र बजारसम्बन्धी विद्यमान कानुनी व्यवस्था र बोर्डका पदाधिकारीको आचारसंहिताले सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणलाई पुष्टि गर्न नसक्ने दाबी गरेपछि समिति सभापति कृष्णप्रसाद दाहाल र सांसद रामकुमारी झाँक्री र प्रमीला राईले एकै स्वरमा सोध्नुभयो, “यस्तो गम्भीर विषयमा टालटुले जवाफ दिने र समाचारमा आएका विषय गलत हुन भनेर पन्छन मिल्छ ?”

बोर्डका अध्यक्ष ढुङ्गानाले आफू जोडिएको विषयमा नबोल्ने भन्दै आफ्नो धारणा उप कार्यकारी निर्देशक डा नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठले राख्ने बताए । उप कार्यकारी निर्देशक श्रेष्ठले पटक पटक सञ्चारमाध्यमले सस्तो लोकप्रियताका लागि भ्रमपूर्ण समाचार लेखेको र सोही आधारमा अर्थ समितिले वास्तविकता नबुझी स्पष्टीकरण मागेको धारणा राखे । उनले भने, “समाचार लेखेकै आधारमा समितिले बोर्डका पदाधिकारीमाथि आक्षेप लगाउन  हुँदैन । अनुसन्धानबाट पुष्टि हुन्छ भने हामी कारबाही भोग्न तयार छौँ । के के कागजात चाहिने हो भन्नुस्, हामी समितिलाई उपलब्ध गराउँछौँ ।”

उप कार्यकारी श्रेष्ठले मर्यादा विपरीत प्रस्तुत भएको भन्दै सांसदद्वय झाँक्री र राईले आपत्ति जनाए । सांसद राईले, “जनप्रतिनिधिले प्रश्न गर्न नपाउने हो ? संसदीय समितिको मर्यादामा आँच पुग्ने गरी जवाफ दिन मिल्छ”, भन्दै प्रतिप्रश्न गरिन् । सांसदले अनेकन् कोणबाट प्रश्न गरेपछि बोर्ड अध्यक्ष ढुङ्गानाले भने, “मेरा छोरी ज्वाइँ अमेरिका बस्न थालेको पाँच वर्षभन्दा बढी समय भयो । उनीहरूले कता लगानी गर्छन् त्यो मसँग जोडिने विषय होइन ।” धितो पत्र बजारसम्बन्धी ऐन, कानुन र आचारसंहिता यो यो विषयमा प्रष्ट पारेको र आफ्नो कुनेै कसुर नभएको उनको भनाइ थियो । 

धितो पत्र बोर्ड कर्मचारी सेवा सर्त नियमावली, २०६८ को नियम २ झ मा परिवार भन्नाले कर्मचारीसँग बस्ने तथा निज आफैँले पालनपोषण गर्नुपर्ने पति, छोरा, अविवाहित छोरी, धर्मपुत्र, अविवाहित धर्मपुत्री, बाबु आमा वा सौतेनी आमा सम्झनुपर्ने उल्लेख गरेको छ । 

सो शब्दले पुरुष कर्मचारीको हकमा निजको बाबुतर्फको बाजे, बज्यै तथा महिला कर्मचारीको हकमा सासू, ससुरालाई जनाउँछ । सो व्यवस्थाले विवाहित छोरीलाई परिवारभित्र समावेश नगरेको हुँदा निजले गर्ने कुनै पनि निर्णयमा बाबुको हक तथा नियन्त्रण नहुने हुँदा शेयर खरिद बिक्रीमा निज विवाहित छोरीको निजी निर्णय लिने हक रहने र स्वतन्त्र रूपले कार्य गर्न सक्ने देखिन्छ । 

“म बोर्ड अध्यक्ष भइसकेपछि अहिलेसम्म ऐन कानुनले परिवारको यी सदस्यले गर्न मिल्दैन भनेको छ । त्यो मान्न म तयार छु”, अध्यक्ष ढुङ्गानाले भने, “मेरो विवाहित छोरा, छोरी ज्वाइँलाई पनि राख्ने हो, सासू ससुरालाई राख्ने हो कि अथवा मेरो नाति पनातिसम्म राख्ने । कुन लेभलसम्म जाने भन्ने कुरा ऐन कानुन चाहिन्छ भने बनाऔँ ।”

उनले आफ्नो छोरी भएको नाताले कुरो उठेको भएकाले यो विषय बढी चर्चामा आएको बताए । उनले कानुनअनुसार उनको घर परिवारले प्राथमिक, दोस्रो, ओटीसी बजारमा किन बेच गर्न पाउने जिकिर गरे । उनले भने, “यो कानुनले दिएको अधिकार हो । यो उनीहरूको सम्पत्ति किनबेच गर्ने संवैधानिक अधिकार पनि हो । यो कारोबार म आफैँले गरेको होइन ।” बोर्डका पदाधिकारीका कुरा सुनेपछि अर्थ समितिले शेयर खरिद बिक्रीका सन्दर्भमा थप जानकारी लिन नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई पनि बोलाउने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ