arrow

गृहमन्त्री खाँणले प्रहरी हेडक्वाटरमा पुगेर दिए निर्देशनः संविधानको रक्षा र पालनामा दृढ रहनुहोस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३१ आइतबार
balkrishna-police-HQ.jpg

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री खाणले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलीग्राफ सेक्सन, डाटा सेन्टर र केन्द्रीय प्रहरी हेल्थ डेक्सको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी समेत लिए ।

निरीक्षण पश्चात गृहमन्त्री खाँणले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु, संघीय प्रहरी ईकाइ कार्यालयका प्रमुखहरू तथा सबै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन सम्बोधन गरे ।

सो क्रममा उनले प्रहरी र सरकार एउटै सिक्काका दुईवटा पाटा भएको चर्चा गर्दै सरकार र प्रहरीको सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाई जनताको संविधानको रक्षा र पालना तथा नागरिकको जिवन रक्षाको लागि सबै गम्भीर हुनुपर्ने बताए ।

आत्महत्या, महिला तथा बालबालिका विरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनिकरणको लागि गम्भीरतापूर्वक लिन समेत उनले उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । 

प्रहरी राज्य र समाजको अभिन्न अंग रहेको चर्चा गर्दै गृहमन्त्री खाँणले प्रहरीको साथ साथै नागरिकको भूमिकलाई समेत सहजता एवम् सफलताका साथ निर्वाह गर्न प्रहरी कर्मचारीहरुले सक्षमता प्राप्त गर्नेमा विश्वास व्यक्त गरे ।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री खाणले प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।
सो अवसरमा गृहसचिव टेकनारायण पाण्डेले विभिन्न अप्ठ्यारा परिस्थितिको सामना गर्दै आफ्नो कर्तव्य पालना मार्फत नागरिक रक्षा, सुखी राष्ट्र निर्माण एवम् नागरिकको जीवन रक्षाको लागि प्रहरी सदैव दृढ संकल्पित रहेको उल्लेख गरे । प्रहरी संगठनलाई अझ व्यवसायिक, पेशागत, स्रोत साधनयुक्त, प्रविधियुक्त बनाउनुपर्ने चर्चा गर्दै प्रहरी कर्मचारीको मनोवल विकासका लागि प्रभावकारी तवरले काम गर्नुपर्ने उनले बताए ।

सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहमन्त्रीबाट भएको अत्यन्त सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताए । संगठनले प्राप्त गरेको तालुक गृह मन्त्रालयको वर्तमान नेतृत्वबाट आगामी दिनमा नेपाल प्रहरी संगठन थप व्यावसायिक र उर्जावान हुने विश्वास उनले व्यक्त गरे ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अपराध रोकथाम तथा अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने प्रहरीको मुलभूत दायित्व रहेको साथै कालोवजारी नियन्त्रण तथा विपद्‍बाट हुने क्षतिको न्यूनीकरणका लागि नेपाल प्रहरी सदैव कटिबद्ध रहेको बताए । 

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउन प्रविधिको प्रयोगलाई प्राथमिकतापूर्वक अवलम्बन गरी कार्यान्वयन गरिएको बताउँदै फैसला कार्यान्वयन, हातहतियार तथा लागूऔषध बरामद र राजश्व चुहावट रोक्नमा नेपाल प्रहरीले उल्लेखनीय योगदान पुर्‍याएको चर्चा गरे ।

यसअघि गृहमन्त्री खाँण र गृहसचिव टेकनारायण पाण्डेलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गरेका थिए ।

निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री खाँण समक्ष प्रहरी नयाव महानिरीक्षक ईश्वर बाबु कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङक तथा विश्लेषण, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौति, भावी योजना र अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, संघीय प्रहरी ईकाइ कार्यालय एवम् सबै जिल्ला प्रहरी प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ