arrow

आर्थिक कसुर र किर्ते गरी पोर्चुगल भागेका केदारलाई नेपाल झिकाइयो

logo
रासस
प्रकाशित २०७८ साउन ३१ आइतबार
Arrest-Crime.jpg

काठमाडौं। बैङ्किङ तथा किर्ते लिखत बनाई झण्डै रु तीन करोड कर्जा लिएको कसुरमा संलग्न रही फरार भएका एक व्यक्तिलाई पोर्चुगलबाट झिकाइ कारबाही प्रक्रिया अघि बढाइएको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ बस्ने ४३ वर्षीय केदार ढुङ्गानालाई इन्टरपोलको सहयोगमा झिकाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

उनलाई शनिवार काठमाडौं ल्याइएको र आइतबार ललितपुर जिल्ला अदालतमा बुझाइने ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । 

ललितपुर जिल्ला अदालतले विसं २०७७ पुस २० को फैसलाले सरकारी छाप तथा दस्तखत किर्ते (हालको मुलुकी अपराध संहिता, २०७४ को लिखतसम्बन्धी कसुर) लगायत १० वटा मुद्दामा उनलाई १० वर्ष कैद र रु सात लाख जरिवाना हुने ठहर गरेको थियो । उक्त मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका प्रतिवादीको बयानबाट ढुङ्गानाको संलग्नता रहेको खुल्न आएपश्चात् विसं २०७५ पुस ४ गते पक्राउ अनुमति लिई खोजी सुरु गरिएको थियो । त्यसबेला उनी नेपालमा फेला नपरेको र संयुक्त अरब इमिरेट्समा रहेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

उनी विरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न विसं २०७५ पुस १७ गते डिफ्युजन जारी भएको र उक्त डिफ्युजन २०७८ वैशाख ३१ गते रेड कर्नर नोटिसमा रूपान्तरण भएको थियो । खोजीका क्रममा उनले पोर्चुगलमा आवासीय अनुमतिका लागि आवेदन दिएको जानकारी विसं २०७७ जेठ १६ गते प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा प्राप्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  

प्रहरीको इन्टरपोल शाखाले पोर्चुगलको ‘नेशनल सेन्ट्रल ब्युरो’सँगको समन्वयमा पोर्चुगलबाट पक्राउ गरी आज नेपाल ल्याइएको ब्युरोले जनाइएको छ । उनीसहित १२ जनाले काठमाडौँ र ललितपुरका बैङ्कमा सवारीसाधन सुरक्षणबापत बैङ्कका नाममा पास गरी सवारीसाधन कर्जास्वरुप रु दुई करोड ७१ लाख ७६ हजार रकम लिएका थिए । बैङ्कको कर्जा नबुझाएपछि लिलामी गर्ने प्रयोजनका लागि बैङ्कले यातायात व्यवस्था कार्यालयसँग पत्राचार गर्दा उक्त सवारीसाधन बैङ्कका नाममा नरहेको जानकारी आएको थियो । 

त्यसपश्चात् प्रतिवादीले बैङ्कलाई हानि नोक्सानी पुर्‍याउने कार्य गरेको देखिन आएकाले बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कारबाही गर्न उक्त ब्युरोमा २०७५ मङ्सिर २१ गते जाहेरी परेको थियो । अनुसन्धानका क्रममा ढुङ्गानासमेतले सवारी दर्ता प्रमाणपत्रसमेतका कागजात किर्ते बनाई पेस गरेको खुल्न आएको थियो । 

उनीहरूले सरकारी छाप तथा दस्तखत किर्ते कसुर शीर्षकमा काठमाडौँ जिल्ला अदालतमा पाँच र ललितपुर जिल्ला अदालतमा १० मुद्दा दायर भएकामा ललितपुर जिल्ला अदालतबाट १० वटै मुद्दा फैसला गरी प्रतिवादी ढुङ्गानासमेतका कसुरमा संलग्न प्रतिवादीलाई प्रत्येक मुद्दामा एक वर्ष कैद र रु ७० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । काठमाडौँ जिल्ला अदालतमा दायर भएका लिखतसम्बन्धी कसुरमा पाँच वटा मुद्दा र उच्च अदालत, पाटनमा दायर भएका बैङ्किङ कसुरसम्बन्धी १६ वटा मुद्दा विचाराधीन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ