अबको पाँच महिनामा करिब दुई लाख संक्रमित थपिने आङ्कलन
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २५ सोमबार
1.1k
Shares
काठमाडौँ । अबको पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ सङ्क्रमित थपिने आङ्कलन स्वास्थ विभागले गरेको छ । कोरोना सङ्क्रमण जोखिम नियन्त्रण, उपचार व्यवस्थापनबारे स्वास्थ्य सेवा विभागका पदाधिकारीसँग सङ्घीय संसद्, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले गरेको छलफलमा विभागले यस्तो आकलन गरेको हो ।
अबको पाँच महिनामा एक लाख ९३ हजार ८ ५६ नयाँ सङ्क्रमित थपिने सम्भावनाको आङ्कलन प्रस्तुत गर्दै त्यसमध्ये ३८ हजार ७७१ जनालाई उपचार सेवा र नौ हजार ६९३ जनालाई सघन उपचार आवश्यक पर्ने जानकारी दिइयो ।
बैठकमा स्वास्थ्य विभागका महानिर्देशक डा तारानाथ पोखरेल मुलुकका ९६ वटा पिसीआर केन्द्रबाट कूल जनसङ्ख्याको १३.५ प्रतिशत जनताको कोरोना परीक्षण भएको जानकारी दिए । हालसम्म ३९ लाख ८१ हजार ५९५ परीक्षण भएकामा पिसीआर ३६ लाख ४४ हजार ४७२ र एन्टिजेन ३ लाख ३६ हजार ८२३ भएको छ । कोभिड-१९ सङ्क्रमण कूल जनसङ्ख्याको २.६ प्रतिशत अर्थात् सात लाख ६९ हजार ९२२ पत्ता लागेको जानकारी दिइयो ।
कोरोना सङ्क्रमितमध्ये मृत्यु अनुपात १.३ प्रतिशत अर्थात् नौ हजार ९५७ को साउन २० गतेसम्म मृत्यु भएको उनले बताए । साउन २० गतेसम्म पहिलो मात्र खोप ४२ लाख ९७ हजार ६१२ जनाले प्राप्त गरेको तथा पूर्ण खोप प्राप्त गर्ने नागरिकको सङ्ख्या २० लाख ७४ हजार रहेको बैठकमा जानकारी दिइयो ।
समितिले कोभिड-१९ सङ्क्रमण जोखिम नियन्त्रण र रोकथामका लागि गुणस्तरीय उपचार र परीक्षणको राष्ट्रिय क्षमता बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । विभागका पदाधिकारीसँग जानकारी लिएपछि समितिले खोपको अनियमितता भएको सम्बन्धमा आएका सूचनाका आधारमा छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन भएको सभापति निरादेवी जैरुले जानकारी दिइन् ।
स्वास्थ्य सेवालाई सर्वसुलभ, समान पहुँच र सरल बनाउन जोड दिँदै बैठकले स्वास्थ्य सेवा र स्वास्थ्यकर्मीको स्तरोन्नति गर्दै अघि बढ्न पनि समितिले निर्देशन दिएको छ ।
साउन २० गते उपचाररत सङ्क्रमितमध्ये घर आइसोलेसनमा ३० हजार २७०, संस्थागतमा तीन हजार १९४, आइसियुमा ७१४ र भेन्टिलेटरमा १५६ जना रहेको तथ्याङ्क प्रस्तुत गरियो । आइसियु कक्ष सङ्ख्या दुई हजार ६०० बाट बढाएर तीन हजार पुर्याइएको र ६३० थप प्रक्रियामा रहेको तथा भेन्टिलेटरको सङ्ख्या पनि एक हजार ८० पुर्याउने कार्य प्रक्रियामा रहेको जानकारी दिइयो ।