arrow

यूएन प्रि-स्याट प्रश्नपत्र ‘लिक’ प्रकरण : परिक्षार्थी डीएसपीबाटै खुल्यो रहस्य, ३० जनासँग बयान 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २४ आइतबार
police-head-Q.jpeg

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागि लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्न पत्र ‘लिक’ भएको घटनामा परिक्षार्थीबाटै सुचना बाहिरिएको खुलेको छ ।

सो प्रकरणमा प्रहरी प्रधान कार्यालयले अहिलेसम्म तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेको छ भने ३० जनासँग प्रत्यक्ष बयानसमेत लिइसकेको प्रधान कार्यालय स्रोतले जनाएको छ ।

जारी अनुसन्धानबाट प्राप्त अहिलेसम्मको सूचना अनुसार प्रधान कार्यालयबाट साइबर ब्यूरोमा सरुवा भएका कुमार शाह र युएन शाखामा कार्यरत परिचर सुरेश बमको सो प्रकरणमा मुख्य संलग्नता पुष्टी भइसकेको छ । उनीहरु दुबै जनालाई आन्तरिक हिरासतमा राखिएको छ । शाहको भाइबरमा नै प्रश्न पत्र भेटिएको थियो ।

सो प्रश्न बाहिरिएको सूचना एक जना प्रशिक्षार्थी रहेका डीएसपीले नै प्रधान कार्यालयलाई गराएका थिए । त्यसपछि प्रश्नपत्र बाहिरिएको सूचना बाहिर पुगेको थियो ।

‘प्रश्नपत्र बाहिरिएको मूल सूचना प्रशिक्षार्थी रहेका एक डीएसपीबाट आएको थियो, सो सूचना अहिले लगभग पुष्टी भइसकेको अवस्था छ, ती प्रशिक्षार्थीले पहिले नै प्रश्न कसरी आयो भनेर सुचना दिएका थिए,’ सो प्रकरणको छानबिनमा रहेका एक प्रहरी अधिकारीले भने । 

प्रधान कार्यालयले सो घटनाको अनुसन्धानका लागि प्रहरी नायब महानिरीक्षक (डीआइजी)वसन्त लामाको नेतृत्वमा छानविन समिति बनाएर अध्ययन गर्दै आइरहेको छ । समितिले शनिबारसम्म तीन दर्जन प्रहरीलाई अनुसन्धानमा तानेको र सो प्रकरणमा जोडिएको आशंकामा ३० जनासँग भने प्रत्यक्ष सोधपुछ गरिसकेको हो । छानविन समितिका संयोजक डीआइजी लामाले अनुसन्धान अन्तिम चरणमा पुगेको बताए । 

‘अनुसन्धान अन्तिम चरणमा छ, एक दुई दिनमा नै सत्यतथ्य ल्याउँछौं,’ डीआइजी लामाले हाम्राकुरासँग भने । गत १५ र १६ साउनमा प्रधान कार्यालय तथा ७ वटै प्रदेश प्रहरी कार्यालयमा यूएनमा जाने प्रहरी कर्मचारीहरुका लागि प्रि-स्याट परीक्षा संचालन हुँदै थियो । परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी हुँदै थिए ।

तर १६ गतेको परीक्षा शुरु हुनु अघिल्लो दिन नै प्रश्नपत्र बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले रातारात नयाँ प्रश्नपत्रको सेट तयार गरेर परीक्षा लिएको थियो । त्यसमध्ये १५ गतेको परिक्षा भने पुरानै प्रश्नबाट भएको थियो । सो परीक्षाको भने प्रश्न पत्र आउट भए नभएको खुलेको छैन । प्रश्नपत्र लिक भएपछि प्रधान कार्यालयले यूएन शाखासँग जोडिएका प्रहरीहरुमाथिसमेत निगरानी र सोधपुछ बढाएको थियो ।

छानविनमा यूएन शाखामा कार्यरत डीएसपी वासुदेव पाठक, तालिम केन्द्रमा कार्यरत डीएसपी रुपेश खड्का, प्रहरी निरीक्षक दिनेश पुनलगायतको संलग्नताको आशंकामा छानवबन गरिरहेको हो । डीएसपी पाठक र खड्का दुबै जना परिक्षार्थी हुन् । खड्का भने केही समयअघिसम्म युएन शाखामा नै कार्यरत थिए ।

प्रश्नपत्र लिक भएको विषयमा युएनशाखा प्रमुख एसपी अनुपम राणासँगसमेत जानकारी मागिएको छ । शाखामा रहने हरेक वस्तु उनकै मातहत रहने गर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ