सिंहदरबार भित्रका सबै सरकारी कार्यालयको कारोबार अब राष्ट्रिय वाणिज्य बैङ्कबाट : सांसदको तलब पनि नयाँ खातामा
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १७ आइतबार
349
Shares
काठमाडौँ । सिंहदरबार भित्रका सबै सरकारी कार्यालयको कारोबार अब पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कबाट मात्र हुने भएको छ । अर्थ मन्त्रालयको निर्देशनपछि सिंहदरबार भित्रका सबै कारोबार अब राष्ट्रिय वाणिज्य बैङ्कबाट हुने भएको हो ।
यो निर्णयसँगै निजी बैङ्कबाट हुँदै आएको सङ्घीय संसद सचिवालयको सम्पूर्ण कारोबारसमेत पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क मार्फत नै सुरु गरिएको छ ।
संसद सचिवालयका अनुसार आइतबारबाट संसद सचिवालयको सम्पूर्ण सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैङ्क मार्फत सुरु गरिएको हो । यस अघि सङ्घीय संसद्को बैठकमा सांसदहरूले पटक पटक सरकारी खाता निजी बैङ्क मार्फत सञ्चालन गरिएको भन्दै आपत्ति जनाउँदै आइरहेका थिए ।
संसद र अन्य सार्वजनिक कार्यक्रमहरूमा समेत सो विषय पटक पटक उठ्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले सचिवालयलाई पूर्ण सरकारी स्वामित्वको बैङ्कबाट नै कारोबार गर्न निर्देशन दिएका थिए ।
त्यसपछि सङ्घीय संसद सचिवालयले १८ मङ्सिर २०७७ मा सरकारी कारोबार गर्ने बैङ्क परिवर्तन गरी पूर्ण सरकारी स्वामित्व भएको बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क मार्फत गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।
त्यसपछि ११ माघ २०७७ को पत्रबाट आर्थिक वर्षको बिचमा खाता परिवर्तन गर्न कठिनाइ हुने जानकारी अर्थ मन्त्रालयबाट सचिवालयमा आएको थियो ।
सचिवालयले ३१ असार २०७८ मा पुनः ताकेता गरी अर्थ मन्त्रालयलाई खाता परिवर्तनका लागि अनुरोध गरेको थियो । त्यसपछि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैङ्क तथा महालेखा नियन्त्रकको कार्यालय मार्फत हालै सिंहदरबारस्थित सबै कार्यालयका सरकारी खाताहरू सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क मार्फत सञ्चालन गर्न निर्देशन दिएको हो ।
यो निर्णयसँगै राष्ट्रिय वाणिज्य बैङ्कलाई समेत सिंहदरबार शाखाको स्तरोन्नति र सेवा सुविधा विस्तारको लागिसमेत अनुरोध गरिएको छ । यस अघि सरकारी खाताहरू एभरेस्ट बैङ्क मार्फत सञ्चालन गरिएको थियो ।