arrow

काठमाडौँमा चिनियाँ नागरिकको अवैध रक्सी उद्योग : प्रहरीको कारवाही

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १५ शुक्रबार
nepal-police12.jpg

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको ठमेलबाट चिनियाँ नागरिकले मेसिन नै राखेर सञ्चालन गर्दै आएको अवैध रक्सी उद्योग फेला पारेको छ ।  प्रहरीले शुक्रवार बिहान ठमेलको ज्याठाबाट चीनको जियांङ्सु प्रान्तका ५६ वर्षीय सी झिवेइलाई अवैध रक्सी उद्योग सञ्चालन गर्दै आएको पुष्टि भएपछि पक्राउ गरेको हो ।

उनलाई केही समय अघिदेखि नै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीको टोलीले निगरानीमा राख्दै आइरहेको थियो ।  उनी शुक्रवार बिहानैबाट प्रहरीको निगरानीमा परेका थिए । उनले शुक्रवार बिहानै २० लिटरको पानी राख्ने जारमा रक्सी बोकेका थिए । त्यो जारमा राखिएको रक्सी उनले एक रेस्टुरेन्टमा लगेर १५ हजार नेपाली रुपैयाँमा बेचेका थिए । त्यसपछि प्रहरीको टोलीले उनको पिछा गरेको थियो । 

अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार उनले अवैध रूपमा रक्सी बनाइरहेको सूचना प्रहरीले पहिले नै पाएको थियो । 
उनले काठमाडौँ महानगरपालिका वडा नम्बर २६ ज्याठास्थित छिन्ता लामाको पाँच तले घरमा फ्ल्याट भाडामा लिएरै रक्सी बनाउने गरेको खुलेको छ । सोही घरमा गत वैशाखबाट मात्रै ती चिनियाँ नागरिकले होम स्विट स्मेल होटल एन्ड रेष्टुरेन्ट पनि खोलेका थिए । 

प्रहरीका अनुसार सो स्थानबाट करिब ११३ ड्रममा राखिएका रक्सीका कच्चा पदार्थ र रक्सी बनाउने चार वटा मेसिन पनि फेला परेको छ । प्रहरीले ती चिनियाँ नागरिकलाई पक्राउ गरिसकेको जनाएको छ ।  सो मेसिनबाट रक्सी बनाएर तीन थरी बोतलमा उनले प्याकेजिङ गर्ने गरेको प्रहरीले जनाएको छ । बोतल बाहिर भने चिनियाँ अक्षरले लेखिएका छन् । ती अक्षरमा कोदोको रक्सी, जडीबुटी राखेको रक्सी भनिएको छ । ती चिनियाँ नागरिक गत अप्रिल २७ मा पर्यटक भिसा लिएर नेपाल आएको खुलेको छ । 

प्रहरीले सो रक्सी उद्योग सञ्चालनमा अन्य व्यक्तिको संलग्नताबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । यस्तै प्रहरीले सो फ्ल्याटलाई सिल गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ भने उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले राजश्व कार्यालयलाई बुझाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ