प्रशासनको अनुमतिबिना फुटसल सञ्चालन गर्ने व्यवसायीको निर्णय
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १४ बिहिबार
521
Shares
सांकेतिक तस्विर ।
काठमाडौं। फुटसल व्यवसायीको छाता सङ्गठन नेपाल फुटसल व्यवसायी सङ्घले फुटसल पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना महामारीका कारण गत वैशाखदेखि बन्द रहेको फुटसल सञ्चालन गर्ने सङ्घले निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले कोभिड-१९का कारण खेल सञ्चालनमा प्रतिबन्ध लगाएको छ। उक्त प्रतिबन्धलाई अवज्ञा गर्दै फुटसल सञ्चालन गर्ने निर्णय सङ्घले गरेको बताइएको छ।
सङ्घले आज एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ का कारण निषेधाज्ञा जारी भएसँगै बन्द गर्नुपरेको फुटसल खोल्ने निर्णय गरेको जानकारी गराएको हो । सङ्घका अध्यक्ष राज महर्जन र महासचिव मदन कोइरालाले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा निषेधाज्ञा खुकुलो बनाएको अवस्थामा सावधानी अपनाई खेल सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयसमक्ष अनुमति मागे पनि नपाएको उल्लेख छ ।
सानो समूहमा खेल सञ्चालन गर्ने, प्रतियोगिता नगर्ने, खेलाडीले सबै मापदण्ड अनिवार्य अपनाउने, साबुन पानीले हात धुने, शौचालयलगायत फुटसल सञ्चालन गरिएको क्षेत्रलाई कीटाणुरहित बनाउने, मास्क र स्यानिटाइजरको व्यवस्था गर्नेलगायत सङ्घले प्रतिबद्धता जनाएको छ ।
जिल्ला प्रशासनले उदासीनता देखाएपछि बाध्य भएर सावधानी अपनाई फुटसल सञ्चालन गर्ने निर्णयमा सङ्घ पुगेको विज्ञप्तिमा उल्लेख छ । सरकारले होटेल, रेष्टुराँ, सार्वजनिक यातायातलगायत भिडभाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरे पनि समूहमा खेलिने खेलमा भने प्रतिबन्ध नै लगाएको छ ।