arrow

खोप अभियानमा ब्रेक लगाउने अर्को खेल, खोज्न थालियो विद्युतीय दर्ता नम्बर

फोन गर्न टावर नटिप्ने ठाउँका नागरिकले कसरी अनलाइन फारम भर्ने ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १० आइतबार
Vaccine-deuba-start.jpg
फाइल तस्बिर

काठमाडौं । सरकारको खोप अभियानमा ब्रेक लगाउन फेरि अर्को खेल शुरु भएको छ। यो खेलमा स्वास्थ्य अधिकारीहरु नै संलग्न रहेको पाइएको  छ ।

स्वास्थ्यका अधिकारीहरूले अब ५० वर्षभन्दा कम र १८ वर्षभन्दा माथिल्लो उमेर समुहका नागरिकले विद्युतीय दर्ता नम्बर लगेमा मात्रै खोप लगाउन पाउने व्यवस्था गरेबाट अभियानमा कहि न कहि ब्रेक लाग्ने भएको हो।

केपी ओली सरकारको पालामा रोकिएको यो व्यवस्था देउवा प्रधानमन्त्री भए लगत्तै सुरु गर्न खोजिएको छ। यसो गर्दा सर्वसाधरणलाई खोप लगाउन निकै कठिनाई हुने देखिन्छ। यसअघि हाम्राकुराले खोप अभियान असफल पार्न २४ लाख डोज खोप स्टोरमै रहेको समाचार प्रकाशित गरेको थियो ।

अब, अनलाइन फारम भरेकाले मात्रै खोप लगाउने निर्णयतर्फ स्वास्थ्य मन्त्रालय लागेको छ । खोप लगाउन मिल्ने उक्त फारम भ्याक्सिन डट एमओएचपी डट गोभ डट एनपी(vaccine.mohp.gov.npवेबसाइटमा गएर भर्न सकिन्छ ।

तर, दुर्गम एवं विकट क्षेत्रका नागरिकहरुलाई यो फारम भर्न नै समस्या हुने निश्चित देखिन्छ । फोन गर्नकै लागिसमेत नेटवर्क नहुने ठाउँका नागरिकहरुले कसरी फारम भर्न सक्छन् भन्ने अर्को गम्भिर प्रश्न उठेको छ।

उसो त यसअघि पनि अनलाइन फारम भरेर मात्रै खोप लगाउन सकिने भनिएको थियो । तर, यो अभ्यास सफल हुन नसकेपछि फेरि उमेर हद तोकेर खोप अभियान सञ्चालनमा आएको थियो ।

तर, अहिले फेरि खोप अभियानलाई ढिलासुस्ती गर्न अनलाइन फारम भरेपछि प्राप्त विद्युतीय दर्ता नम्बर लगेमा मात्रै खोप लगाउन मिल्ने विवादास्पद निर्णय भएको हो । अर्को कुरा अनलाइन फारमको पेजमै यो फारम भर्ने बित्तिकै खोप लगाउने सुनिस्चितता भने जनाउँदैन भनेर उल्लेख गरिएको छ ।

यसबाट फारम भरेपछि कहिले पालो आउने हो भन्ने टुंगो नै लाग्ने देखिँदैन भने अर्कोतिर हालसम्म फारम भरिसकेकाहरुको समेत पालो आएको छैन्।

एकातिर नयाँ व्यवस्थाको अलमल छ भने अर्कोतर्फ चीनबाट खरिद गरेको तथा अनुदानमा आएको र अमेरिकाबाट आएको जोन्सन एण्ड जोनसोनको खोप जिल्ला जिल्लामा पुगेर पनि द्रुतगतिले लगाउन सकेको छैन् । यसरी केन्द्रका स्वास्थ्य अधिकारीहरुले आफ्नो स्वार्थमा गरिरहेको निर्णयले देशभरकै खोप अभियान प्रभावित भएको छ ।

कोभिड१९को संक्रमण बढ्दै गइरहेका बेला चाँडो चाँडो खोप लगाउनु पर्नेको साट्टो सरकारलाई असफल बनाउने रणनीतिले खोप अभियान नै सञ्चालन नहुने चलखेलमा स्वास्थ्य अधिकारीहरु लागि परेको पाइएको हो ।

खासमा अनलाइन फारम भर्न सकिने यो वेबसाइट बनाउनमा स्वास्थ्य अधिकारीहरुले लाखौं रुपैयाँ खर्च गरेका छन् । जसको ठूलो हिस्सा अधिकारीहरुको पकेटमा गएपछि उनीहरुले अलिकति भएपनि काम देखाउन अनलाइन फारमको एजेण्डा अघि सारेको स्रोतको भनाइ छ।

यस बिषयमा स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीसँग बुझ्दा अनलाइन फारमको आधारमा खोप लगाउने बिषयमा छलफल भएको बताए । यद्यपि, यो निर्णय र कार्यान्वयन भएकोबारे भने आफुलाई जानकारी नआएको उनको भनाइ छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत  खोप शाखाका प्रमुख डा.झलक शर्मा गौतमले अनलाइन फारम भरेर खोप लगाउन आह्वान गरिरहेको बताए ।

अनलाइन फारम भर्न सबै सक्षम हुन नसक्लान कि भन्ने प्रश्नमा उनले खोपबाट कोहि पनि बञ्चित नहुने जवाफ दिए । अनलाइन फारम भर्न आह्वान गरिएको र फारम नभरेकाहरु पनि खोपबाट बञ्चित भने नहुने उनको भनाइ छ ।

हालसम्म नेपालमा ८१ लाख ८२ हजार ८५० डोज खोप भित्रिएको छ । यसमध्ये ३३ लाख ७७ हजार २२८ जनाले एक डोज र १३ लाख ६६ हजार ४६ जनाले पूर्णखोप लगाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ