arrow

गजुरेलको प्रश्न- दुई-दुई पटक अदालतमा जानुपर्ने स्थिति कसले सिर्जना गर्‍यो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
haribol-gahureal.jpg

काठमाडौं ।  सत्तसाझेदारी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता हरिबोलप्रसाद गजुरेलले विसं २०४७ को संविधानमा टेकेर दुई-दुई पटक संसद् विघटन गर्दा झण्डै दुई तिहाइको विगतको सरकार बाहिरिएको बताएका छन् ।

संविधानको भावनाविपरीत कोही पनि जान नपाओस् भनेर संविधानमा नै स्पष्टरुपले दलले सरकार बनाउन नसक्दा बहुमत सदस्य भएपछि प्रधानमन्त्री हुन पाउने व्यवस्था राखिएको कुरालाई जोड दिँदै उनले अघिल्लो सरकारले पटकपटक कानून मिचेको आरोप लगाए । 

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा उनले   पहिलो संसद् विघटन हुँदा तत्कालीन पार्टी नेकपामा र संसदीय दलमासमेत छलफल नभएका सन्दर्भ जोड्दै प्रतिप्रश्न गरे, “संसद् विघटन दलीय प्रणालीको विशेषता हो ? अनुशासन त्यही हो ? अनुशासन कसले मान्ने ? सबैभन्दा माथिकाले मान्ने हो नी ।” उनले थपे, “आफू अनुशासन पालना नगर्ने, पार्टीलाई बेवास्ता गर्ने, लिखित सम्झौता पूरा नगर्न, अनि ठूला कुरा गरेर हुन्छ ?” उनले अहिलेको यो जीत जनताको जीत हो भने । सबै नेताको साथ पाएर आज यो ठाउँमा मुलुक आइपुगेको बताए । 

नयाँ निरंकुशता लाद्ने प्रयास असफल भएको उल्लेख गर्दै उनले अहिलेको सरकार अदालतबाट नभई निर्वाचित सांसदको बहुमतले बनेको प्रष्ट्याए । उनले अदालतले संविधानको व्याख्या मात्रै गरेको हो भने । 

संविधानको व्याख्या अदालतले गर्नुपर्ने अवस्था दलले नै सिर्जना गरेको दाबी उनले गरे । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)तर्फ सङ्केत गर्दै उनले भने, “दुई-दुईपटक अदालतमा जानुपर्ने स्थिति कसले सिर्जना गर्यो ?” 

मुलुकलाई सङ्कटबाट बचाउन महत्वपूर्ण योगदान दिने पाँच राजनीतिक दललाई उनले धन्यवाद पनि दिए । उनले मुलुकलाई सही दिशामा लैजानका लागि प्रधानमन्त्री देउवालाई महत्वपूर्ण अवसर प्राप्त भएको भन्दै कार्यकाल सफलताको शुभकामना दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ