arrow

एमाले एकताको तरङ्ग

मदन भण्डारीको स्मृतिमा एकतापछि चिसिएको एमालेभित्रको चिसोपन पुष्पलालको स्मृतिमा मेटिएला ? 

एमालेमा निभ्न लागेको एकताको दियो बल्ने आशा, बिहीबारको केन्द्रीय कमिटी हुनसक्छ निर्णायक   

logo
बाबु नेपाली, 
प्रकाशित २०७८ साउन ७ बिहिबार
oli-nepal.jpg
तस्वीर–फाइल ।

काठमाडौं । बिहीबार साउन ७ गते नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस । नेपालका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी उनको योगदानको सम्झना गर्दैछन् । उनले २००६ सालमा जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्य लिएर नेकपा स्थापना गरेका थिए । पुष्पलालले कोलकाताको श्यामबजारमा नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको सक्रियतामा नेकपा स्थापना गरेका थिए ।    

शहीद गङ्गालाल श्रेष्ठका माइला भाइ रहेका पुष्पलाल दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही विरोधी आन्दोलनमा सक्रिय भएका थिए । छोरा राजनीतिमा लागेकै कारण  पिता भक्तलालको सुब्बाको जागिर खोसिएको थियो । २०१७ सालको राजाको कदम पछाडि उनले भूमिगत निर्वासित जीवन बिताएका थिए । 

२०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने उनी पहिलो नेता हुन् । १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५ सालमा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

पुष्पलाको स्मृति दिवसका अवसरमा नेपालका कम्युनिष्ट पार्टीहरुले छुट्टाछुट्टै पुष्पलाललाई सम्झने गर्छन् । तर उनीहरु थुप्रै पार्टीमा टुक्रिदै जुट्दै गइरहेका छन् । 

एमाले एक हुने आशा 
नेपालमा कम्युनिष्ट पार्टीहरु जोडिने र टुक्रिने क्रम अझै रोकिएको छैन । जोडिँदा सबैभन्दा बलियो नेकपा बनेको पहिलो पटक २०७५ साल जेठ ३ गते थियो । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । त्यो एकताले अहिलेसम्मकै नेपाली राजनीतिको सबैभन्दा शक्तिशाली बहुमतको सरकार बनेको थियो । 

तर नेपालमा कम्युनिष्टहरु धेरै समय सँगसँगै बस्न सक्दैनन् भनेझैं आरोप प्रत्यारोप र खुट्टा तानातानको प्रवृत्ति हावी भएसँगै छुट्टिन वाध्य भए । नेकपा बन्दा एमाले र माओवादीका नेताहरु पनि लाखापाखा भए । 

सर्वोच्च अदालतले छुट्टाइदिँदा कोही माओवादीका नेता एमालेतिर आए कोही एमालेका नेताहरु माओवादीका नेताहरुसँग सहकार्य गर्न तयार भए । यसले गर्दा २०७५ जेठ २ को स्थितिमा न एमाले पुग्न सक्यो न माओवादी नै । 

माओवादीबाट एमालेमा आएका नेताहरुका कारण माओवादीमा विवाद नभए पनि राजनीतिक उतारचढाबबीच एमालेको केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच भने तिक्तता भयो । 

ओलीले संसद विघटन गरेपछि बढेको तिक्तता सडकमै छताछुल्ल भयो । जुन जोडिन संघर्षरत छ । संस्थापन ओलीको समूहले नेपाल समूहलाई पटक पटक कारबाही गरिरहेको छ भने नेपाल समूहले पार्टीभित्रै रहन संघर्ष गरिरहेको छ । 

दोस्रो तहका दुवै पक्षका नेताहरु पार्टीलाई एकढिक्का बनाउन प्रयास जारी नै राखेका छन् । त्यो कार्यदलसमेत पनि भङ्ग गरिएको छ । तर दश बुँदेको जग भने अझै रहेको छ । त्यसमै आधारित रहेर एकता गर्नका लागि प्रयास यद्यपि छ । 

बुधबार साउन ६ गते ओलीको केन्द्रीय कमिटी बैठकले दिउँसो नेपाल पक्षका प्रधानमन्त्री शेरबहादुर देउवा (नेपाली कांग्रेसका सभापति) लाई संसदमा मतदान गर्ने नेपाल पक्षका २२ सांसदलाई स्पष्टीकरणको पत्र पठाएकामा बेलुकी भने नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएको अभिव्यक्ति आएको छ । 

यही अभिव्यक्तिले फेरि आशा जगाएको छ । दिउँसो निभ्न लागेको आशाको दियो बेलुकी फेरि बल्न खोज्दैछ । बिहीबार के हुन्छ पत्तो छैन । 

किनकि एमालेको दुई खेमा अस्थिर छ । निर्णय गर्न छट्पटाइरहेको छ । 

ओलीको हातमा बागडोर रहेका अवस्थामा ओलीले गर्ने निर्णय महत्वपूर्ण हुन्छ । ढोका थुनेर नेपाल पक्षलाई आउन नदिए पार्टी स्वतः टुक्रन्छ । यदि नेपाल पक्षलाई ओलीले स्वागत गरे भने पार्टी बच्छ । 

नेपाल पक्षले पनि स्वागत खोजिरहेको छ । तर यदि ओलीले फेरि पनि कारबाही गरेर ढोका बन्द गरे भने वाध्य भएर नेपाल पक्षले अर्को पार्टी गठन गर्नेछ र देउवा सरकारमा सहभागी हुनेछ । 

नेपाल पक्षका एमाले उपाध्यक्ष युवराज ज्ञवाली आफूहरु अर्को पार्टी गठन गर्ने र देउवा सरकारमा सहभागी हुने कुरालाई चर्चामै नल्याएको बताउँछन् । उनी आफूहरुको एकमात्र एजेन्डा एमालेमा सम्मानजनक एकता भएको नै बताउँछन् । 

एमालेको बिहीबारको बैठक निर्णायक हुन सक्छ 
एमालेको बिहीबार पनि बैठक बस्दैछ । चार दिनदेखि एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । यो बैठक बिहीबार दिउँसो ३ बजे बस्नेछ । 

बुधबारको बैठकले विभिन्न निर्णय गर्ने क्रममा आफूहरु फेरि पुरानै ठाउँमा ‘कमब्याक’ हुने निष्कर्ष निकालेसँगै आशाको दियो बलेको छ । 

तर बिहीबार फेरि के हुन्छ भन्ने अझै टुङ्गो छैन । 

अस्थिर देखिएको एमालेको अहिलेको राजनीतिमा बिहीबारको बैठकले एकतालाई कसरी स्वागत गर्ला भन्ने महत्वपूर्ण छ । 

एकताका लागि एमालेभित्र दोस्रो र तेस्रो तहका नेताहरुले दबाब दिइरहेका बेला बुधबार ओलीले पार्टीको एकता बचाइराख्न नेपाललाई दोस्रो अध्यक्ष बनाउन  तयार रहेको बताएपछि जसरी आशाको दियो बलेको छ त्यही गतिमा उनले नेपालसँग वार्ता गरेर पार्टी एकता जोगाउन भूमिका खेलेका खण्डमा फेरि झण्डा फहराउन सक्ने एमालेका दुवै पक्षका नेताहरु बताउँछन् । 

ललितपुरको च्यासलबाटै पार्टी एक भएको सन्देश दिन सकिने छ । तर मानसिक विचलन आउँछ या दृढता आउँछ त्यो प्रतिक्षामा छ । 

मदन भण्डारीको स्मृति दिवस (२०७५ जेठ ३ गते) मा जोडिएको एमाले र माओवादीको एकतापछि विजारोपण भएको एमालेभित्रको चिसोपन पुष्पलालको स्मृतिमा आएर टुङ्गिने आशा धेरैको छ । के आशाको दियो बल्ला ?  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ