arrow

पूर्व परराष्ट्र मन्त्री ज्ञवालीका कारण परराष्ट्रमा भद्रगोल : आवश्यकभन्दा बढी सहसचिव भए पछि व्यवस्थापनमा समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १ शुक्रबार
pradeep-gyawali5.jpg

काठमाडौँ। पूर्ववर्ती केपी शर्मा ओली नेतृत्व सरकारले विधि र परम्परा मिचेर गरेको एक निर्णयको कारण अहिले परराष्ट्रमा आवश्यकभन्दा बढी उच्च कर्मचारी भएर भद्रगोलको अवस्था आएको छ ।  २०७७ असोजको अन्तिम साता लोकसेवा आयोगले परराष्ट्रमा विज्ञापन खुलाउँदा उपसचिवबाट सहसचिवमा आन्तरिक बढुवाको लागि सुरुमा २ सिटमा मात्र आह्वान गर्‍यो । तर २ सिटले तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको निजी सचिवालयमा बसेका तत्कालीन उपसचिव तेजबहादुर क्षेत्रीको बढुवा नहुने भयो । त्यसकालागि ५ सिटको लागि आह्वान गर्नुपर्ने भयो । आयोगले ५ सिटमा आह्वान गरेपछि मात्र क्षेत्रीको बढुवा उपसचिवबाट सहसचिवमा हुने भयो । 

आयोगका एक कर्मचारी भन्छन्, ‘५ सिटमा बढुवा गर्न परराष्ट्रका ३ जना कर्मचारीहरू परराष्ट्रको चिठी बोकेर आयोगमा धर्ना नै बसे ।’ रिक्त दरबन्दीमा पूरा गर्न परराष्ट्रले सङ्घीय मामिला मार्फत आयोगमा विवरण पठाउनु पर्ने नियम छ । तर पोहोर साल परराष्ट्रका कर्मचारीहरू सङ्घीयको चिठी नलिएर सोझै आयोगमा गए । दोस्रो ताकेता लाई आयोगले स्वीकार गर्‍यो । त्यसपछि आयोगले सहसचिवको लागि २ सिट नभई ५ सिटको लागि विज्ञापन खुलाउन तयार भयो ।

परराष्ट्रले आयोगमा चिठी पठाइसके पछि मात्र त्यसमा सहमति जनाइ सङ्घीय मामिला मन्त्रालयले आयोगलाई चिठी पठायो । सङ्घीयले चिठी पठाए पछि विज्ञापन खुलाउन प्रक्रिया पूरा भयो । त्यसमा सङ्घीय मामिला मन्त्रालय निरीह देखियो।

आयोगको विज्ञापन पछि अहिले परराष्ट्रमा आवश्यकभन्दा बढी सहसचिव कार्यरत छन् । डेढ हप्ता अघि मात्र ५ जना उपसचिव सहसचिवमा बढुवा भएका छन् । बढुवा हुनेमा ज्ञवालीको निजी सचिवालयमा बसेका क्षेत्र पनि बढुवा भए । बढुवा हुनेहरूमा कृष्णचन्द्र अर्याल, धनबहादुर ओली, सुधीर भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्री छन् । आयोगले ४ सिटको लागि मात्र विज्ञापन खुलाएको भए पनि क्षेत्रीको बढुवा हुने थिएन । पोहर साल परराष्ट्र सेवामा ५ सिटमा विज्ञापन खुलाउन तत्कालीन परराष्ट्र मन्त्री ज्ञवालीले नै अत्यधिक चासो देखाएको स्रोतको भनाइ छ । 

बढुवा भएका ५ जना सहसचिवलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय अहिले परराष्ट्रको टाउको दुखाइको विषय बनेको छ । सहसचिवमा बढुवा भएकाहरूलाई बस्नको लागि कोठा समेत उपलब्ध छैन । सहसचिवलाई महाशाखा प्रमुखको जिम्मेवार दिनुपर्ने हुन्छ । तर त्यसकालागि पर्याप्त सिट नभएको परराष्ट्र स्रोतको भनाइ छ । 

परराष्ट्रमा हाल सहसचिव मात्र १० जना कार्यरत छन् । एकात सरि यस्तो स्थिति छ भने अर्कोतिर राजदूत भएर विभिन्न देशमा गएका सहसचिव सरहका ३ जना कर्मचारीहरू राजदूतको कार्यकाल सकिए पछि फेरि परराष्ट्रमा फर्किएका छन् । उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने अर्को समस्या आएको छ । 

परराष्ट्रका एक उपसचिव भन्छन्, ‘राजदूत भई नियुक्ति लिएका सहसचिव सरहका कर्मचारीहरूले राजदूतको कार्यकाल पछि अवकाश लिएर घर गए भने समस्या भएन तर राजदूत पछि पनि फेरि परराष्ट्रमा फर्किए भने उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने समस्या हुन्छ ।’

दुवसु क्षेत्री, लोकबहादुर थापा सहित ३ जना सहसचिव सरहका कर्मचारी राजुदतको कार्यकाल पछि फेरि परराष्ट्रमा हाजिरी गर्न आएको परराष्ट्र स्रोतको भनाइ छ । 

सहसचिवको व्यवस्थापन कसरी गर्ने भन्ने टाउको दुखाइ भइरहेको बेला भरखरै मात्र परराष्ट्र सेवाका ३ जना शाखा अधिकृत उपसचिवमा बढुवा भएका छन् । हालै मात्र कुलबहादुर मगर, शिवानी बस्नेत र सविता नकर्मी शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएका छन् । उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने अर्को समस्या उत्पन्न भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ