arrow

बालुवाटारबाट बाहिरिएका ती केपी र यी केपी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३० बुधबार
kp-and kishnujee.jpg

काठमाडौं । करिब ४१ महिना प्रधानमन्त्री निवास वालुवाटारमा बसेर बुधबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली तामझामका साथ बाहिरिए। बालुवाटार गेटबाटै ओलीका पक्षमा नारा जुलुश शुरु भयो र नारा लगाइयो :‘अघि बढ ओली बा, प्राण दिन तयार छौं।’ आफ्ना कार्यकर्ताले उनको पक्षमा ‘हाई हाई’ गर्नु स्वभाविक थियो। तर केही अस्वभाविक नारा पनि लाग्यो–‘‘माकुनेलाई फाँसी दे,  प्रचण्डलाई फाँसी दे’।

दुई तिहाइ बहुमतका साथ २०७४ फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका ओलीको बालुवाटार विदाइ साँच्चै ‘राजसी’ ठाँटको देखियो। विपक्षीलाई सँधै बैरी र तुच्छ देख्ने ओली समूह बालुवाटारदेखि बालकोटसम्म ठूलै युद्ध जितेर मनाइएको विजयोत्सव मनाइरहेको झैं गरिरहेका देखिन्थे।

बालुवाटारबाट बालकोटसम्म एमाले कार्यकर्ताले मोटरसाइकल र गाडीले स्कटिङ र कौशलटारमा स्वागतका लागि राखिएको घडा साथै बालकोटमा बाजागाजासहित स्वागतको दृश्य विजयोत्सव भन्दा कम थिएन। बिदाइ सम्बोधनका क्रममा बादल फाटेर फेरि सूर्य उदाउने भन्दै कार्यकर्तालाई हौसला दिएका ओलीले बालकोटको आफ्नो निवासको वार्दलीमा उभिएर सम्मानित सर्बोच्च अदालतमाथि आक्रमण गरे। बरिष्ठ नेता माधवकुमार नेपाललाई लाजशरम हराएका मानिसहरु भनेर गाली बर्षाए।

सर्वोच्च अदालतको फैसलाप्रति तिब्र असन्तुष्टी जनाएका उनले भने,‘ असंवैधानिक फैसलाबाट जनादेश विपरीत, जनतामा जान नदिएर अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहिं नभएको गलत नजिर कायम गरेर नेपाली जनतामाथि, लोकतन्त्रमाथि अतिक्रमण हुनु अपराध हो’ भन्न भ्याए। यानेकी अदालतको फैसला ‘आपाराधिक’ फैसला हो भनेर उनले बुझाउन खोजे । संवैधानिक इजलासमा ३२ घण्टाको बहस र रायपछि सर्वोच्चले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय बदर गर्दै निवेदक शेरबहादुर देउवासहितको पक्षमा फैसला सुनाएपछि ओलीले त्यसलाई अपब्याख्या गरे।

ओलीको यी सबै दृश्य हेरेपछि नेपालीहरुले सन्त नेता अर्थात पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई(केपी भट्टराई) अर्थात ‘किशुनजी’लाई स्मरण गरेका छन्। र अहिलेका केपी र उहिलेको ति केपीको तुलना गरेका छन्। कृष्णप्रसाद भट्टराईको सादगी र सम्झनलायक विशेषताहरुको सामाजिक संजालमा व्यापक चर्चा भइरहेको छ।  २०५५ सालमा दोस्रो पटक प्रधानमन्त्री बनेका किशुनजी बालुवाटारबाट बाहिरिंदा तामझामका साथ होइन छाता, कमाण्डलु र टिनको बाक्सा लिएर लुरुलुरु निस्किएको दृश्य नेपाली राजनीतिमा ओलीको बर्हिगमन भइरहँदा खुबै चर्चा पाएको छ।

छाता सुराही र टिनको बाकस लिएर बालुवाटारबाट बाहिरिंदै किशुनजी भनेर समाचार लेखेको स्मरण गर्दै बरिष्ठ पत्रकार तारानाथ दाहाल भन्छन्,‘किशुनजीको सादगी जीवनशैली, प्रजातन्त्रप्रतिको निष्ठा र दुई पटक प्रधानमन्त्री बनेपनि बेदाग रहनु नै जीवन्त स्मरणको विशेषता हो । उनको स्वभाव र जीवन शैलीलाई अन्य कोही नेतासँग पनि तुलना गर्न सकिदैन् ।’

दाहालले ओलीको बालुवाटार विदाइको विषयलाई आधार मान्दै सामाजिक संजालमा लेखेका छन्,‘ हुल्लडबाज मण्डलेहरुको याद आयो ! शक्तिको उन्मादबाट पछारिएपछि आक्रोसितहरु कसरी अराजकता प्रदर्शन गर्छन भन्ने उदाहरण छर्लंग भयो। विहानै वालकोटा जाने हाम्रो गल्लीमा मुसलधारे पानीको बीचमा अलकत्रा छरेको आश्चर्यजनक दृष्य देखेको, दिउँसोभरी गाडीको कर्कसा लस्कर। गज्जब ओली जात्रा थिमीमा !’

अन्तरिम सरकारका शक्तिशाली प्रधानमन्त्री रहँदारहँदै काठमाडौंबाट चुनाव हारेपछि भट्टराईले टिनको बाक्सा, सुराही र छाता बोकेर बालुवाटार छाडेको धेरैले बुधबार बालुवाटार देखि वालकोटसम्मको दृश्य नियालेपछि स्मरण गर्नुलाई अस्वभाविक पनि मानिएको छैन् । मात्र दुई प्रधानमन्त्रीको तुलना मात्र गर्न खोजिएको छ ।

बरिष्ठ कानुनविद मुमाराम खनाल लेख्छन्, सरकारबाट बहिर्गमन भइसकेपछि कमसेकम लोकलाजको लागि भए पनि संयम देखिने नाटक गर्नु नि। केपी ओलीले बालकोटको बार्दलीबाट बोलेको सुन्दा अप्ठेरो लाग्यो। मनमा जतिसुकै आक्रोश भए पनि सत्ता छोड्दा अझ खुसी भएको देखाए हुन्थ्यो। सबै नाटक गर्न सक्नेले यत्ति अन्तिम नाटक गरिदिएको भए पनि त हुन्थ्यो।’

त्यतिमात्र होइन नेता बन्न खोज्दा पूर्वराजा बनेका ज्ञानेन्द्र शाह र केपी ओलीको शैलीलाई पनि धेरैले आजकै दिनको अवसरमा तुलना गरेका छन् । राजगद्दीको सीमा र त्यसको भूमिका बुझ्न नसक्दा गद्दीच्यूत बन्नुपरेको कुरा ओलीले सम्झिएको भए हुनेथियो भनेर पनि धेरैले आफ्नो विचार पोखेका छन् ।

भिजनमा पोख्त, आफ्ना कुरा स्पष्ट राख्न सक्ने र हक्की स्वाभावका मानिने भएपनि ओलीको बालुवाटार विदाइ हेर्दा रमाइलो देखिए पनि इतिहासमा आलोचनायुक्त देखिने धेरैको बुझाइ छ । राजकीय पदका मर्यादा, सीमा र कर्तव्यका लक्ष्मणरेखा नाघेर गरिएको ओलीले किशुनजीबाट सिक्नुपर्ने र पूर्वराजाबाट सचेत बन्नुपर्ने थियो तर त्यसो हुन नसकेर पतनको बाटो रोज्नु दुर्भाग्य थियो भनेर धेरै नेपालीले विश्लेषण गरेका छन्। वामपन्थी लेखक प्रदीप नेपालले सरकारी अखबारमार्फत कम्युनिष्ट पार्टीभित्रका ‘तानाशाह’को सज्ञा दिएका ओलीको आगामी यात्रा कस्तो हुने हो त्यो हेर्न बाँकी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ