arrow

टोखा नगरपालिकामा शहिदका नाममा एमाले कार्यकर्ताको खल्ती भर्ने मेसो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
thoka.jpg

काठमाडौं। स्थानीय तहको बजेट पार्टीका कार्यकर्ताले कसरी दुरुपयोग गरेका छन् भन्ने उदाहरण टोखा नगरपालिकामा हेरे पुग्छ । नगरपालिकाका प्रवक्ता बच्चु बस्यालले शहीदको नाम जोडेर भीरमा एउटा पर्खाल ठड्याएर कसरी ३५ लाख रुपैयाँ सकाए भन्नका लागि त्यो टोखा नगरपालिका वडा नं.११ मा बन्दै गरेको बाल उद्यान पार्क हेरे पुग्छ । यो त एउटा उदाहरण मात्र हो, नगरपालिकाभित्र यस्ता धेरै योजना छन्, जसले भौतिक निर्माणभन्दा पनि कार्यकर्ताको खल्ती भरिन्छ ।

उपभोक्ता समितिलाई मोहोरा बनाएर प्रवक्ता बस्यालको ३५ लाख रुपैयाँ खल्तीमा हाल्ने दाउ मात्र होइन, आउँदो वर्षको नगरपालिकाको बजेटमा थप ५० लाख रुपैयाँ निकासा हुने वातावरण बनाएको स्थानियहरुले आरोप लगाएका छन्।

जनआन्दोलनका बेला गोंगबुमा शहीद भएका १९ जनाको नाममा टोखा नगरपालिका वडा नं। ११ ले शहीद स्मृति बाल उद्यान पार्क निर्माण थालेको छ । उक्त पार्कका लागि नगरसभाको नवौं बैठकले पार्कका लागि ३५ लाख रुपैयाँ विनियोजन गरेको हो ।

बिना प्रतिस्पर्धा उक्त पार्क निर्माण प्रकृयामा जानु नै शंकास्पद भएको स्थानीयहरु बताउँछन् । टोखा नगरपालिका–११ का वडाध्यक्ष उत्तम अधिकारीलाई समेत जानकारी नदिइ सुरु गरिएको उक्त बाल उद्यान निर्माण कार्यस्थलमा डिपीआर त परै जाओस् सार्वजनिक सूचनासमेत छैन । निर्माण स्थलमा सार्वजनिक सूचना नभएपछि बाल उद्यानको नाममा ठूलै भ्रष्टाचारको काण्ड मच्चिदैछ भन्ने चर्चा चलेपछि मात्र त्यहाँ पार्क बन्दै गरेको स्थानीयहरुले थाहा पाए ।

बाल उद्यान बन्दै गरेको स्थानीयले थाहा पाएपछि भिरालो र पहिरो जाने स्थानमा पार्कका कसरी बन्छ भनी प्रश्न गर्न थालेका छन् । पार्कस्थलमाथि ढिस्को र तलतिर नागरिकको जमिन छ । ढिस्कोबाट माटो तलतिर बग्न रोक्नका लागि यतिबेला पर्खाल लगाउन थालिएको छ ।

उपभोक्ता समितिका अध्यक्ष हरिकुमार श्रेष्ठ एमाले कार्यकर्ता हुन् । उनैलाई मोहरा बनाएर पार्क निर्माण भइरहेको छ । एक महिनाभित्र सकेर नगरपालिकाले बजेट निकासा गर्नुपर्ने सम्झौतामा उल्लेख छ । त्यो वातावरण प्रवक्ता बस्यालले मिलाइसक्दा पनि नगरपालिकाको योजना अधिकृत अनविज्ञ छन् । निर्माणको सम्पूर्ण योजना प्रवक्ता बस्यालले बनाएका हुन् । प्रवक्ता बनाइएका बस्याल भने निर्वाचित पदाधिकारी होइनन् ।

‘११ नम्बर वडा कांग्रेसले जितेको छ, हामीले अघि सारेका योजना उसले स्वीकृति गर्दैन, त्यसैले नगरले सिधैं उपभोक्तामार्फत् निर्माण गर्न लागेको प्रवक्ता बस्यालको भनाइ छ । ठेक्का प्रकृया र निर्माण गर्दा अपनाउनुपर्ने प्रकृयाका बारेमा प्रवक्ता बस्याल बोल्न चाहदैनन् ।

उपमेयर ज्ञानीमाया डंगोलका अनुसार कुनै पनि निर्माणका लागि डिपिआर तयार गर्ने, सार्वजनिक सूचना टाँस गर्ने पैसासमेत नगरले उपलब्ध गराएको हुन्छ । उक्त निर्माणाधीन उद्यानको डिपिआर तयारी छैन र सार्वजनिक सूचना टाँस गरिएको छैन भने त्यो गलत भएको उपमेयर डंगोलले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ