arrow

असार १५ र धान दिवसको सान्दर्भिकता 

logo
सोम नाथ घिमिरे 
प्रकाशित २०७८ असार १५ मंगलबार
dhan-diwas-ashar-15.jpg

दमक । नेपालमा असार १५ लाई महत्त्वपूर्ण दिनको रूपमा लिइने गरिन्छ । यो दिन परापुर्वकालदेखि नै दही चिउरा खाने र ‘मानो रोपेर मुरी फलाउने दिन’ को सुरुवाती दिनको रूपमा लिइन्छ । यस दिनलाई विगत १७ वर्षदेखि धान दिवसको रूपमा पनि मनाउने गरिएको छ । त्यसै अनुसार प्रत्येक वर्ष विभिन्न नाराका साथ विविध कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइने गरिएको छ ।

यस वर्ष २०७८ सालमा ‘धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भर र समृद्धि’ , २०७७ सालमा धान उत्पादन वृद्धि, आत्मनिर्भरता र समृद्धि , २०७६ सालमा “धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण” २०७५ सालमा धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि ” भन्ने नाराका साथ असार १५ मा प्रत्येक वर्ष धान दिवस मनाइने गरिन्छ । यस वर्ष पनि १८ औं राष्ट्रिय धान दिवस मनाउन लागिएको छ। प्रत्येक जिल्लाहरूले पनि धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै छन् ।  सन् २००४ मा “धान नै जीवन हो” भन्ने नारा सहित संयुक्त राष्ट्रिय सङ्घले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर धान दिवस मनाउने प्रचलन चलेको हो । यसैलाई आधार मानेर नेपालमा पनि सरकारले २०६१ साल मङ्सिर २९ निर्णय गरी असार १५ गतेलाई राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

नेपाली संस्कृति अनुसार असार १५ मा दही चिउरा खाने प्रचलन छ । यो दिन अधिकांश नेपालीले सकेसम्म जसरी पनि दही चिउरा खाने गर्दछन् । दहीको महत्त्व असाध्यै धेरै छ । दहीले खाएको पच्नेदेखि लिएर अरू धेरै नै फाइदा गर्छ भन्ने कुराको प्रमाणित भैसकेको छ । यो दिन अरू दिनको तुलनामा दहीको खपत धेरै हुन्छ र यसका लागि डेरी व्यवसायीहरूले एक हप्तादेखि जोहो गरेर राख्ने गर्दछन् ।

अघिपछि कहिल्यै दही नखानेले पनि यस दिन अनिवार्य आफ्नो परम्परा धान्न भए पनि दही खाने गर्दछन् । यो दिन दही नपाइएला भनेर मानिसहरू अघिल्लै दिनदेखि नै दही खरिद गरी राख्ने गर्दछन्। यस दिन बढी खपत भएपछि बजारमा बेलुकीपख दही अभाव हुन्छ ।

यस दिन मानिसहरू दही चिउरामा केरा र आँप पनि मिसाएर खाने गर्दछन् । गाउँघरमा जताततै सबैले घर घरमा दही चिउरा अनिवार्य खाने गर्दछन् । जसको घरमा दही जमाएर राखेको हुँदैन उनीहरूले पनि सहरमा झैँ किनेर भए पनि त्यस दिन खाने गर्दछन्।  यस दिन शहरी क्षेत्रमा पनि अघिल्लो दिन नै दूध किनेर दही आफैं जमाएर भोलिपल्ट दही चिउरा खाने चलन छ । आजभोलि यस दिनमा राष्ट्रिय स्तरका कार्यक्रमहरू गरेर यसको महत्त्व बढाउने गरिन्छ। पोखरामा प्रत्येक वर्ष पर्यटकका लागि रोपाइँ महोत्सव भनेर विगत १५ वर्षदेखि मनाउँदै आइएको थियो । यसले गर्दा आन्तरिक र बाह्य पर्यटकहरूको सङ्ख्या पनि बढ्ने गर्दथ्यो । तर गत वर्ष र यस वर्ष कोभिड–१९ (कोरोना भाइरस) का कारण यस्ता खालका कुनै पनि औपचारिक कार्यक्रमहरू हुन हुँदैनन्।

आजभोलि विद्यालयका विद्यार्थीहरुलाई पनि दही चिउरा खुवाउन रोपाइँमा सहभागी गराउने गरिन्छ । यो राम्रो पक्ष हो । यसले गर्दा हाम्रा बालबालिकाले हाम्रो रीतिरिवाजको बारेमा जान्ने र यसको संरक्षणमा टेवा पुग्ने हुन्छ । पहिले पहिले बाजा बजाएर नाचगान गर्दै, असारे भाका हाल्दै, हिलो खेल्दै रोपाइँ गर्ने चलन थियो । बाजा बजाएर हिलोमा खेल्दै रोपाइँ गरिने चलनलाई बेठी लगाउने भन्दछन् ।  तर, आजभोलि यो चलन अलि हट्दै गएको छ । यसले निरन्तरता नपाउने हो भने भोलिका दिनमा यो दन्त्य कथा जस्तो हुन जान्छ ।

वास्तवमा हाम्रो देश यस्तै खालका फरक रीतिरिवाज र संस्कृतीले गर्दा आफ्नो फरक पहिचान बनाउन सफल छ । यस्ता कुरालाई देखावटी मात्र नभई उपलब्धिमूलक बनाउन सक्नुपर्छ । त्यसैले हाम्रो जस्तो देशमा यस्ता कुराको जगेर्ना गर्दै अगाडि बढ्नुपर्छ । जसले गर्दा अरू ठुला–ठुला विकासका काम र उपलब्धि गर्न नसके पनि यस्ता खालका फरक संस्कृति बचाउन सक्दा पर्यटकको लागि आकर्षण बन्न सक्छ। अझ झन् हाम्रो जस्तो कृषि प्रधान देशमा यसको महत्त्व धेरै छ ।

हाम्रो देशमा धानको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७६/०७७ मा धान उत्पादन ५५ लाख ५० हजार मेट्रिक टन, आव २०७५/०७६ मा धान उत्पादन ५६ लाख १० हजार मेट्रिक टन, आव २०७४/०७५ मा धान उत्पादन ५१ लाख ५१ हजार मेट्रिक टन , आव २०७३/०७४ मा धान उत्पादन ५२ लाख ३० हजार मेट्रिक टन भएको थियो ।

नेपालको कुल जनसङ्ख्यालाई पुग्न वार्षिक ३९ लाख ९९ हजार ६२२ मेट्रिक टन चामल आवश्यक पर्छ । सरकारले ५ वर्ष भित्र कृषि उत्पादनलाई दोब्बर बनाउने लक्ष्य लिएको छ । धान उत्पादन वृहत् कार्यक्रम १५ जिल्लामा छ भने यसलाई अझ महत्त्व दिई झापा जिल्लालाई धानको सुपर जोनको घोषणा गरिएको छ ।

धानको उत्पादन प्रति हेक्टर ३.१ मेट्रिक टनबाट वृद्धि गरी ४ मेट्रिक टन पुर्‍याउने लक्ष्य छ। कुल ग्राहस्थ उत्पादनमा २० प्रतिशत योगदान धानको छ । हाम्रो देशमा चैते धानको उत्पादन ७ प्रतिशत मात्र छ ।  नेपालमा समुद्र सतहबाट ६० मिटरदेखि ३०५० मिटर सम्मको उचाइमा धान खेती हुन्छ ।  कुल ११८ जातका धान नेपालमा पाइन्छ ।

हामीले कतिपल्ट धान दिवस मनाइयो भन्ने कुरा ठुलो वा महत्त्वपूर्ण नहुन सक्छ । तर उपलब्धि के पाइयो भन्ने कुराले ठुलो महत्त्व राख्दछ । अहिले हामी यत्रो सम्भावना बोकेको क्षेत्रमा पनि आयात गर्दैछौं । हाम्रा प्रायजसो सबै खेतबारी बाँझो छ, सिँचाइको राम्रो प्रबन्ध छैन, आधुनिकीकरण छैन, गाउँघरमा काम गर्ने मान्छे पाइँदैन ।  भनेको बेला बीउ मलको अभाव हुन्छ भने काम गर्ने किसानले कसरी काम गर्ने ? यसकारण यी सबै समस्याको हल गर्ने हो भने मात्र हाम्रो देशमा धानको आयात घट्न सक्छ। अब यस्ता दिवस मनाउनका लागि मात्र नभएर परिणाममुखी हुनुपर्ने देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ