arrow

डिगलबैंक नाका जोड्ने सडक धमाधम कालोपत्रे

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ९ आइतबार
pich-road.jpg

झापा । कनकाई नगरपालिकादेखि सीमावर्ती भारतको विहार राज्यको डिगलबैंक नाका जोड्ने सडकमा धमाधम कालोपत्रे भइरहेको छ । 

‘अमरपथ सडक’ नामाकरण गरिएको उक्त सडकको १५ किलोमिटर कालोपत्रे निर्माण सम्पन्न भइसकेको पूर्वाधार विकास कार्यालय झापाले जनाएको छ । पूर्वपश्चिम राजमार्गको सुरुङ्गा चोकदेखि डिगलबैंकसम्मको २४ किलोमिटर सडकमध्ये अब नौ किलोमिटर कालोपत्रे हुन बाँकी रहेको कार्यालयका इन्जिनियर कुलानन्द चौधरीले जानकारी दिए । 

उनका अनुसार सो सडकको दुई खण्डमा निर्माण भइरहेको छ । मैनाचुली–रोशन जेभीले रु ५७ करोड १८ लाखमा सडक निर्माणको ठेक्का लिएको छ । जसमध्ये सुरुङ्गा चोकदेखि झापा गाउँपालिकाको सीमानासम्म पहिलो खण्डको आठ किलोमिटर सडक कालोपत्रे गत मंसिरमै सम्पन्न भएको थियो ।

अमरपथ सडक खण्डको दोस्रो चरणको निर्माण तीव्र गतिमा भइरहेको उनले जानकारी दिए । झापा गाउँपालिकादेखि दक्षिणतर्फ सात किलोमिटर सडकको कालोपत्रे भइसकेकोे बताए ।

इन्जिनियर चौधरीका अनुसार निर्माण कम्पनीले वि.सं. २०७६ मंसिर ३० गते चार वर्षको अवधिमा सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर कोभिड महामारी र सरकारले समयमा बजेट निकासी गर्न नसक्दा एक वर्षको म्याद थप गरी विसं २०८१ मंसिर ३० गते निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको उनले बताए । 

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत सो सडकको निर्माण भइरहेको छ । सडक निर्माणमा बजेट अभाव भएको कार्यालयले जनाएको छ । “सडक सम्पन्न गर्न अझै रु १५ करोड रकम चाहिन्छ”, उनले भने, “तर कार्यालयसँग अब रु १५ लाख जति मात्र बजेट बाँकी छ ।”

उनले मन्त्रालयले बजेटको सुनिश्चितता नगरी योजना कार्यान्वयन गर्दा तोकिएको मितिमा काम सक्न सकस हुने गरेको बताए । उनका अनुसार थप बजेट निकास भएमा तोकिएकै मितिमा सडकको निर्माण सम्पन्न हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ