arrow

१४औँ महाधिवेशन

काँग्रेसजनलाई सभापति देउवाको सन्देश, एक तीरले दुई निशाना

संस्थापन इतर दबाबमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ६ आइतबार
congress-leader.jpg

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १४औँ महाधिवेशनका लागि नेतृत्वमा दोहोरिने सन्देश शनिवार प्रदेश १ र २ का नेताहरूलाई निवासमै बोलाएर दिए। प्रदेश १ बाट पार्टी केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरू सुनिल थापा, ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सुजाता परियार  लगायतलाई बोलाएर देउवाले आफू पुनः पार्टी नेतृत्वका लागि अघि बढ्ने भन्दै सघाउन आग्रह गरे।

शनिवार दिउसो नै देउवाले प्रदेश २ का नेताहरूसँग पनि सोही आशय दोहोर्‍याए। सो क्रममा सभापति देउवालाई उपसभापति विमलेन्द्र निधिले आफू पनि सभापतिमा उठ्ने तयारी गरिरहेको हुँदा सघाउन देउवालाई आग्रह गरे। निधिले देउवालाई ‘तपाइकै समर्थनमा म सभापति लड्ने’ भन्दै सघाउन आग्रह गरेका थिए।

प्रदेश १ र २ बाट पार्टी केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरूलाई शनिवार भेटेका देउवाले आइतवार भने बागमती र गण्डकी प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरूलाई निवासमा बोलाएर छलफल गरेका थिए। देउवा निकट नेता मीन विश्वकर्मा सभापतिले पार्टी नेतृत्वका लागि पुनः चाहना राख्नु मुलुकको राजनीतिक अवस्थाका कारण पनि स्वाभाविक भएको बताउँछन्।

‘मुलुकको राजनीतिक अवस्थाका कारण पनि अहिले सभापतिजीले पुनः सभापतिमा इच्छा राख्नु भएको हो, आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाएरै छाड्ने इच्छा उहाँमा छ।’ नेता विश्वकर्माले भने।

देउवाले संविधान कार्यान्वयनको काम आफ्नो नेतृत्वमा भएको भन्दै आएका छन्। उनले आफ्नै नेतृत्वमा पार्टीलाई बलियो बनाएर मात्रै नेतृत्व छाड्ने उनी निकट अन्य नेताहरूको भनाइ छ। 

निधिको चुनौती
उपसभापतिमा देउवाले नै मनोनीत गरेका निधिले किन सभापतिमा दाबी गरे त ? यो प्रश्न काँग्रेस संस्थापन पक्षका नेताहरू भित्रसमेत मडारिएको छ। 

‘उपसभापतिमा देउवाजीले निधिजीलाई आफैँले ल्याउनु भएको हो, तर अहिले उहाँले किन सभापतिमा देउवालाई रोक्न खोज्नु भएको छ भन्ने नै बुझ्न सकिएन, तर अन्तिममा उहाँ मिल्नु हुन्छ,’ देउवा निकट एक नेताले भने।

तर निधिले पार्टी नेतृत्वका लागि अहिले आएर मात्रै नेतृत्व दाबी भने गरेका होइनन्। निधिले यसअघि पनि सभापति देउवालाई भेटेर सघाउन आग्रह गरेका थिए। उनले महामन्त्री डा. शशाङ्क कोइरालालाई समेत यसअघि निवासमा नै पुगेर आफू सभापतिमा उठ्ने भन्दै सघाउन आग्रह गरेका थिए।

आफू सहित पार्टी नेताहरूको घरघरमा पुगेर सभापतिमा उठ्ने चाहना व्यक्त गरेका निधिलाई प्रदेश २का अन्य नेताहरूलाई साक्षी राखेर स्वयं उठ्ने बताएर देउवाले एक तिरले दुई वटा निशाना लगाएका छन्।

उनले निधिलाई अझै आफ्नो उत्तराधिकारी मानेनन् भने कार्यकर्ता तहमा आफ्नो समूहको नेता र उम्मेदवार आफै भएको सन्देश प्रसारित गरेI निधिलाई जवाफ दिन उपयुक्त समयको पर्खाइमा रहेका देउवाले महाधिवेशनको संशोधित मिति सार्वजनिक भएको भोलिपल्टै प्रस्ट सन्देश प्रसारित हुने गरी जवाफ दिएका छन्।

संस्थापन इतर पनि दबाबमा
पार्टी नेतृत्वका लागि देउवाले दाबेदार प्रस्तुत गरेसँगै काँग्रेस भित्रको संस्थापन इतर समूह पनि दबाबमा परेको छ। काँग्रेस भित्रको संस्थापन इतर मानिएको वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारको नेतृत्व गरेका नेता कृष्णप्रसाद सिटौला समूह पनि महाधिवेशनमा आआफ्नै समूहलाई अघि सार्ने रणनीतिमा छन्।

अझै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा त पार्टी नेतृत्वका लागि आकाङ्क्षीहरू थेगिनसक्नु छ। सो समूहबाट वरिष्ठ नेता पौडेल आफैँ नेतृत्वका लागि अघि सर्ने सम्भावना छ। तर परिस्थिति हेरेर निर्णय गर्ने भन्दै अहिले मुख खोलेका छैनन्।

यस्तै सोही समूहका हालका महामन्त्री डा. शशाङ्क कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, पूर्व सह महामन्त्री अर्जुननरसिंह केसी, नेता डा. शेखर कोइराला, नेतृ सुजात कोइराला, नेता डा रामशरण महत लगायतले पनि नेतृत्वमा दाबी गर्ने बताउँदै आइरहेका छन्।

संस्थापन समूहबाट हालका उपसभापति निधिले पनि नेतृत्वमा दाबी गरेपछि इतर समूह हौसिएको हो। उनीहरूको बुझाइ निधिले दाबी कायम राखे इतर समूहले सभापति पद हात पार्छ भन्ने छ। तर, आन्तरिक रूपमा इतर समूहले आफूलाई एक ढिक्का राख्न सक्छ की सक्दैन भन्ने चाहिँ हेर्न बाँकी छ।

संस्थापन इतर समूहका एक नेताले आगामी महाधिवेशनमा संस्थापन इतर समूहबाट धेरै आकाङ्क्षी हुँदा देउवालाई नै फाइदा पुग्ने भन्दै उनलाई रोक्नका लागि पनि मिल्नै पर्ने बाध्यता रहेको बताए।

‘महाधिवेशनको विषयले भर्खरै गति लिएको छ, अब सशक्त छलफल हुन्छ, संस्थापन इतर समूहबाट धेरै आकाङ्क्षी हुनु त स्वाभाविक हो, तर हामी एक भएनौँ भने देउवालाई रोक्न सकिन्न, हामीलाई त्यो बाध्यता छ।’ इतर समूहका ती नेताले भने। 

सिटौला समूह पर्ख र हेरको नीतिमा 
काँग्रेस भित्रको तेस्रो धार मानिएको नेता कृष्णप्रसाद सिटौलाको समूह आगामी महाधिवेशनमा कसरी अघि बढ्ने भन्नेमा पर्ख र हेरको रणनीतिमा छ। सो समूह सभापतिका लागि मैदानमा उत्रने आकाङ्क्षीहरू हेरेर नीति बनाउने तयारीमा रहेको बताइन्छ। महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा सिटौला आफैँले भने अहिले मुख खोलिसकेका छैनन्। 

कोइराला परिवारको बन्ला छुट्टै समूह ?
पूर्व संस्थापन मानिएको कोइराला परिवारबाट डा. शशाङ्क, डा. शेखर र सुजाता एक भए भने उनीहरूलाई अरू क–कसले साथ दिन्छन् भन्ने पनि रोचक हुनेछ।

कोइराला परिवारबाट डा. शशाङ्क र डा. शेखरले सभापतिमा उम्मेदवारी दिने बताउँदै आइरहेका छन्। उनीहरूलाई एकै ठाउँमा राखेर नेतृ सुजात कोइरालाले बेलाबखत मिलेरै अघि बढ्ने भन्ने किसिमले सन्देशसमेत दिँदै आइरहेकी छन्। 

युवा नेता के गर्छन् ?
काँग्रेस भित्रका युवा नेताहरूको पनि यस पटक प्रमुख पदमा दाबी रहने सम्भावना छ। डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी, गुरुराज घिमिरे, गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, धनराज गुरुङ, बद्री पाण्डे लगायतको समूहले पनि आगामी महाधिवेशनमा आफ्नो बलियो स्थान ओगट्छन्। तर यी नेताहरू सबै एकै समूहमा भने छैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ