arrow

कुटपिटपछि दोषीमाथि कारबाहीको माग गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मी प्रदर्शनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
bheri-hospital-kutpit.jpg

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा सहकर्मीमाथि हातपात र कुटपिट भएपछि स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।

गए राति दाङका एक जना कोरोना सङ्क्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले ड्युटीमा खटिएका डाक्टर र नर्सलाई आक्रमण गरेको विरोधमा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन् । सबै स्वास्थ्यकर्मीले काम छाडेर दोषीमाथि तत्काल कारबाही हुनुपर्ने माग गर्दै अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । 

उनीहरूको प्रदर्शनका कारण अस्पतालको कोभिड वार्डको उपचार प्रभावित भएको छ । उनीहरूले दोषीलाई तत्काल कारबाही नहुँदासम्म काममा नफर्कने अडान लिएका छन् ।

बिरामीको मृत्युपछि उनका कुरुवा र आफन्तले आइसियु कक्षमै प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको भेरी अस्पतालले जनाएको छ । स्वास्थ्यकर्मीले शौचालयको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएका छन् ।

आक्रमणबाट ज्यान जोगाउन डा. चन्द्रप्रकाश साहु, नर्सहरू सदिक्षा गैरे, बन्दना श्रेष्ठ र आश्विन गुरुङले पहिलो तलाबाट हाम फालेर भागेका थिए । उनीहरूले आइसियु कक्षमा तोडफोड समेत गरेका थिए । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका भाइ मान बहादुर रावत र दुई छोरालाई प्रहरीले पक्राउ गरेको हो ।

घटनाबारे सत्य तथ्य छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ । मृतकका आफन्तले भने चिकित्सक र नर्सको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । 

बिरामीका आफन्तले आफूहरूले आक्रमण नगरेको जिकिर गरेका छन् । स्वास्थ्यकर्मीले बिरामीको मनोबल गिर्ने गरी व्यवहार गरेको, बिरामीलाई फरक व्यवहार गर्ने गरेको, आइसियुमा बोल्दै गरेको बिरामीलाई जबरजस्ती भेन्टिलेटरमा सारेको आरोप बिरामीका आफन्तहरूको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ