काठमाडौं । नेपाली काँग्रेसमा तराई मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सप्तरीलगायतका स्थानमा भएको घटनाको छानविन गन माग गरेको छ । सात जना सभासदहरुले विज्ञप्ति जारी गर्दै विगत सय दिन भन्दा बढीदेखि तराई–मधेस–थरुहटमा अधिकार र प्रतिनिधित्वको सुनिश्चितताको लागि चल्दै आईरहेको शान्तिपूर्ण आन्दोलनलाई सार्थक संवादबाट टुंग्याउनुको सट्टा आतंककारी व्यवहार गर्दै राज्यको निर्देशनमा स्थानीय प्रशासनद्वारा गरिएको बर्बर दर्मनको भत्र्सना गरेका छन् ।
मंसीर ५ र ६ गते सप्तरी जिल्लाको भारदह, रुपनी र राजविराजमा चार जनाको हत्या र दर्जनौं निर्दोष व्यक्तिहरु घाइते भएकोमा बर्बतापूर्ण हत्या र गम्भीर मानवअधिकार उल्लंघनको भत्सर्ना गर्दै न्यायीक छानविन गरी दोषीलाई कारवाहीे र पिडितलाई उचित क्षतिपूर्तिको लागि उनीहरुले माग पनि गरेका छन् । साथै घाइतेको सिघ्र स्वास्थ्य लाभसँगै उनीहरुको उपचार खर्चको व्यवस्था गर्न पनि माग गरिएको छ ।
विज्ञप्ति निकाल्ने सांसदहरुमा सप्तरीका तेजु लाल चौधरी, सकलदेव सुतिहार, बाराका रामअयोध्या प्रसाद यादव, सर्लाहीका डा. अमरेश कुमार सिंह, धनुषाका दिनेश प्रसाद प्रसैला यादव, सिराहाका डा. गणेश मण्डल र कैलालीका बुद्धिसागर चौधरी छन् ।