प्रधानमन्त्रीका लागि भएन दावी पेश : राष्ट्रपतिको कार्यालय
रासस,
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
725
Shares
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेकोमा समयावधिभित्र कसैको पनि दावी पेश हुन नआएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
सो कुरा राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले आज राति विज्ञप्तिमार्फत जानकारी दिएका छन्। राष्ट्रपतिबाट दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई आज साँझ ९ बजेभित्र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका समर्थनमा प्रधानमन्त्रीमा नियुक्तिका लागि आफ्नो दावी पेश गर्न यही वैशाख २७ गते आह्वान गरिएको थियो।
नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम विसं २०७४ फागुन ३ गते नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले धारा १०० को उपधारा (१) बमोजिम सोमबार प्रतिनिधिसभामा विश्वासको मतका लागि राखेको प्रस्ताव उपधारा (३) बमोजिम पारित हुन नसकेपछि राष्ट्रपतिबाट सो आह्वान गरिएको थियो।