बझाङ । बझाङको धमेना गाविसमा केन्द्र विन्दु भएर आधा घण्टामा चार पटक भूकम्प गएपछि स्थानीय त्रसित भएका छन् । भूकम्पका कारण देशले ठूलो क्षति व्यहोरीरहेका बेला यसरी आधा घण्टामै चार पटक भूकम्प गएपछि स्थानीय त्रसित भएका हुन् ।
वुधबार दिउँसो २ बजेर ५५ मिनेटमा ५ रेक्टर स्केलको, ३ बजेर १२ मिनेटमा ४.२ रेक्टर स्केलको, ३ बजेर २८ मिनेटमा ३.८ रेक्टर स्केल र ३ बजेर २९ मिनेटमा ३.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्काले केही घरहरु तथा विद्यालय भवन र स्वास्थ्य चौकीका भवन चर्किएका प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले बताए । नेपाल मै सबै भन्दा बढी भूकम्पको जोखिम मानिने बझाङको कडेलमा केन्द्र बिन्दु भएर वैशाख १८ गते ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक उमेश गौतमले नेपालमै भूकम्पको उच्च जोखिममा बझाङ, दार्चुला र बैतडी रहेको बताउदै २०३७ साल तिर पनि बझाङ केन्द्र बिन्दु भएर ६.५ र ६ रेक्टर स्केलको भूकम्प जाँदा थुपै्र जनधनको क्षती भएको बताए । यसअघि २०३७, २०२३ र १९९० सालको भूकम्पले बझाङमा ठूलो क्षति गरेको बुढापाकाहरु बताउन्छन् ।