arrow

इन्टरनेट अवरोध समस्या समाधान भएकै हो ? यसो भन्छन् मन्त्रालय र नियामक 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २१ शुक्रबार
internet-2081.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । निजी क्षेत्रबाट सञ्चालित विभिन्न सेवाप्रदायकले प्रदान गर्दै आएको इन्टरनेट सेवा बिहीबार बन्द भयो । अपरान्ह ४ बजेपछि अवरुद्ध भएको इन्टरनेट सेवा मध्यरातदेखि मात्रै नियमित भएको थियो । इन्टरनेटको शुल्क समयमै नतिरे यसैगरी इन्टरनेट काटिन्छ भनेर देखाउने हिसाबले बिहीबार इन्टरनेट काटिएको सेवा प्रदायकहरु बताउँछन् । 

इन्टरनेट सेवा बन्द भएको विषयमा मन्त्रालयले विज्ञप्ति नै जारी गरेर ध्यानाकर्षण गरेको छ । मन्त्रालयका सहायक प्रवक्ता विशाल सापकोटाले जारी गरेको विज्ञप्तिमा इन्टरनेटजस्तो अत्यावश्यक सेवा अवरुद्ध हुनेगरी कोही कसैले कुनै कार्य नगर्न नगराउन भनिएको छ । 

मन्त्रालयले दूरसञ्चार विकास शुल्क र रोयल्टी जनताबाट उठाइएको तर राज्यलाई समयमा नबुझाइएको भनेको छ । मन्त्रालयले इन्टरनेट सेवा प्रदायक तथा नेटवर्क सेवा प्रदायकले वार्षिक कुल आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत ग्रामीण दूरसञ्चार शुल्क तिर्नुपर्ने व्यवस्था रहेको प्रष्ट पारेको छ । 

वार्षिक कुल आम्दानी अन्तर्गत ग्राहकसँग लिएको धरौटी, सेवा कर, मूल्य अभिवृद्धि कर लगायत अप्रत्यक्ष कर र दूरसञ्चारसम्बन्धी उपकरण बिक्री गर्दा प्राप्त हुने रकम बाहेक अरु सबै रकम समावेश हुनेसमेत मन्त्रालयले प्रष्ट पारेको छ । 

अहिले १२२ इन्टरनेट सेवा प्रदायक र २३ वटा नेटवर्क सेवा प्रदायकमध्ये केहीले मात्रै शुल्क बुझाउन बाँकी रहेको भन्दै मन्त्रालयले अरु सबैले शुल्क बुझाएको र मुद्रा सटही सुविधासमेत लिइरहेको उल्लेख गरेको छ ।

उता दूरसञ्चार क्षेत्रको नियामक निकायले भने अहिलेसम्म यसबारे केही बोलेको छैन । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल यसबारे शुक्रबार दिउँसोसम्म आधिकारिक रुपमा धारणा सार्वजनिक हुने बताउँछन् । ‘मन्त्रालयले यसबारे विज्ञप्ति जारी गरिसकेको छ । हामी पनि आधिकारिक धारणा बनाएर सार्वजनिक गर्छौं । मूलभूत रुपमा हाम्रो कुरा पनि मन्त्रालयको जस्तो नै हो ।’

बिहीबार वल्र्डलिङ्क, सुविसु, भायनेट, सीजी नेटलगायत शुल्कको विवाद कायम रहेका र भारतको अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकले एयरटेलबाट इन्टरनेट आपूर्ति गरिरहेका सेवाप्रदायकको इन्टरनेट सेवा बन्द भएको थियो । 

छिट्टै रकम बुझाउने प्रतिबद्धतापछि मध्यरातमा सेवा चालु गर्न एयरटेल तयार भएको आइस्पानका कार्यकारी अधिकृत सुनिल लम्साल बताउँछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ