arrow

कर बक्यौता विवादले अवरुद्ध इन्टरनेट चल्न थाल्यो, विवाद तत्काल समाधान नहुने छाँट 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २१ शुक्रबार
internet-2081.jpg

काठमाडौं । कर बक्यौता विवादले अवरुद्ध इन्टरनेट सेवाको अवरोध हटेको छ । अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकले आपूर्ति नियमित गरेसँगै नेपालमा अवरुद्ध इन्टरनेट चल्न थालेको हो । 

बिहीबार अपरान्ह ४ बजेपछि एकाएक इन्टरनेट सेवा अवरुद्ध भएको थियो । वर्ल्ड लिंक, सुबिसु, भायानेट सहितका इन्टरनेट सेवा प्रदायकहरूले सामाजिक सञ्जालमार्फत इन्टरनेट सेवा अवरुद्ध भएको र समस्या समाधान गर्ने प्रयास भएको जनाएका थिए । 

त्यसपछि राति अबेरमात्र यसको समस्या समाधान भएको जानकारी सामाजिक सञ्जालमार्फत गराएका थिए । नेपालमा प्रमुख इन्टरनेट सेवा प्रदायकले एयरटेल, टाटा, रिलायन्सलगायत कम्पनीलाई आयात गरेको ब्यान्डविथ बापतको तीन अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

सरकारले भने कर नतिरेको भन्दै इन्टरनेट सेवा प्रदायकहरूलाई विदेशी मुद्रा भुक्तानका लागि सिफारिस गर्न रोक लगाएको थियो । लामो समयदेखि यो समस्या समाधानका लागि वर्ल्ड लिंक लगायतले सरकारलाई अनुरोध गर्दै आएका थिए । 

यो दिनको चुनौती भोग्नुपर्ने भन्दै महिनौँदेखि सरकारलाई आग्रह गर्दासमेत सुनुवाइ नभएपछि बिहीबार यो समस्या भोग्नुपरेको हो । 

तत्काललाई समस्याको समाधान भएको भए पनि सरकारले दाबी गर्दै आएको मर्मतसम्भार शुल्कको कर बक्यौता सम्बन्धी विवाद झनै लम्बिने देखिएको छ । बिहीबार साँझमात्रै  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत उपभोक्ताबाट अग्रिम संकलन गरेको महसुल कानून बमोजिम सरकारलाई बुझाउनै पर्ने अडान गरेसँगै यो विवाद थप लम्बिने निश्चित भएको हो । 

सरकारले बिहीबार विभिन्न कार्यक्रम गरेर सञ्चार तथा सूचना प्रविधि दिवस मनाइरहँदा सोही समयमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको हो । यसले नेपालको सञ्चार तथा सूचना प्रविधि के रहेछ भनेर छर्लङ्ग पार्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ