arrow

नेपालले वेष्ट इन्डिजसँगको श्रृंखला गुमायो, चौथो खेलमा २८ रनको हार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २० बिहिबार
nep-wiA-rohit-poudel.jpg

काठमाडौँ । नेपालले वेष्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी–२० क्रिकेट श्रृंखला गुमाएको छ । लगातार तीन खेल हारेसँगै नेपालले घरेलु मैदानमा श्रृंखला गुमाएको हो । 

पहिलो खेल जितेको नेपालले त्यसपछिका लगातार तीन खेल गुमाउँदै श्रृंखला नै गुमाएको हो । 

बिहीबार भएको चौथो खेलमा वेष्ट इन्डिज २८ रनले विजयी भयो । जितका लागि २१० रनको चुनौती पछ्याउने क्रममा नेपालले २० ओभरमा सबै विकेट गुमाएर १८१ रनमात्र बनाउन सक्यो । 

नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा ८२ रन बनाए । उनलाई साथ दिने कुनै पनि ब्याटर नभएपछि नेपालले खेल हारेको हो । 

नेपालका लागि सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले समान १९ रन बनाए । 

म्याथ्यु फोर्ड र हाइडेन वाल्शले समान ३–३ विकेट लिए । 

यसअघि कीर्तिपुर मैदानमा टस जितेर वेष्ट इन्डिजले पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा २०९ रन बनायो । 

आन्द्रे फ्लेट्चरले ५४ बलमा अविजित रहँदै ८४ तथा जोन्सन चार्लसले ३० बलमा ५८ रन बनाए । 

नेपालका लागि कुशल भुर्तेलले २ तथा प्रतिस जीसीले १ विकेट लिए । 

नेपाली टिमले आगामी जुन २ तारिखदेखि वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपमा भाग लिने भएकाले यो श्रृंखला नेपाली टिमका लागि निकै नै महत्वपूर्ण रहेको छ । 

तर नेपाली खेलाडीहरु खुलेर खेल्न सकिरहेका छैनन् । पहिलो खेलमा नेपाल विजयी भयो । नेपालले घरेलु मैदानमा खेलिरहँदा पिचसँग अभ्यस्त हुन नसकेका वेष्ट इन्डिजका खेलाडीहरुले त्यसपछिका तीन वटै खेल जितेर श्रृंखलामा ३–१ को अग्रता भएको छ । 
    
अब पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ । 

नेपालको सबैभन्दा सशक्त पक्ष भनेको बलिङ हो । पछिल्लो समय नेपालको बलिङ निकै खस्केको छ । त्यस्तै ब्याट्सम्यान पनि सेट हुन सकिरहेका छैनन् । 

अब पनि लयमा नफर्कने हो भने नेपालको विश्वकप यात्रा केवल सहभागीका लागि मात्रै हुनेछ । 

यसअघिको एसीसी प्रिमियर लिगमासमेत नेपालले सेमिफाइनल र तेस्रो स्थानको भिडन्त हारेर कमजोर सावित भइसकेको छ । 

तेस्रो खेलको नतिजाः
खेलमा वेष्ट इन्डिज ७६ रनले विजयी भयो । वेष्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा २२७ रन बनायो । 

जोन्सन चार्लसले ६१ बलमा अविजित रहँदै ११९ रन बनाए । त्यस्तै आन्द्रे फ्लेच्चरले ३३ बलमा ५३ रन बनाए । 

कमजोर बलिङ गरेको नेपालका लागि करण केसी र सागर ढकालले १–१ विकेट लिए । एक खेलाडी रनआउट भएका थिए । 

जवाफमा नेपालले १९.२ ओभरमा अलआउट हुँदै १५१ रनमात्र बनायो । विश्वकपअघि खेलाडीलाई मौका दिने भन्दै नेपाल क्रिकेट संघ क्यानले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपाली टिम उतारको थियो । तर ऐरीको टिम सस्तैमा समेटियो । लोकेश बम र करण केसीले समान २८ रन बनाए । हेडेन वाल्शले ३ विकेट लिए । 

दोस्रो खेलको नतिजाः 
 दोस्रो खेलमा वेष्ट इन्डिज १० रनले विजयी भयो । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा जितका लागि १६१ रनको चुनौती पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १५० रनमात्र बनाउन सक्यो । 

कप्तान रोहित पौडेलमात्र टिकेको खेलमा पौडेलले ४८ बलमा अविजित रहँदै ७१ रन बनाए । त्यस्तै गुल्सन झाले ११ बलमा २६, लोकेश बलमे १६ बलमा १७ तथा आरिफ शेखले १६ बलमा ११ रन बनाए । 

त्यसबाहेक कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । वेष्ट इन्डिजका लागि गुडाकेश मोटी र अबेड म्याक्कोएले २–२ विकेट लिए । तीन खेलाडी रन आउट भए ।  

खेलमा टस जितेर वेष्ट इन्डिजले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १६० रनमात्र बनाउन सक्यो । 

यसअघि वेष्ट इन्डिजले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १६० रन बनाएको थियो । 

आन्द्रे फ्लेटचरले ३६ बलमा ४३ रन बनाए । गुडाकेश मोटीले ८ बलमा अविजित रहँदै ३३ रन बना । त्यस्तै कप्तान रोस्टन चेजले २२ बलमा २३ रन जोडे । 

नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले २–२ विकेट लिए । सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

यसअघि पहिलो खेल जितेर नेपाल निकै नै उत्साही देखिए पनि दोस्रो खेलमा भन फेरि खराब खेलेको छ । 

पहिलो खेलको नतिजाः 
शनिबार भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भयो । २०५ रनको चुनौती नेपालले २ बल खेल्न बाँकी छँदै ६ विकेट गुमाएर पूरा गरेको हो । 

नेपालका लागि कप्तान रोहित पौडेलले ५४ बलमा ६ छक्का र १० चौकाको मद्धतले ११२ रन बनाए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले १८ बलमा २४ रन बनाए । 

वेष्ट इन्डिजका म्याथ्यु फोर्ड र ओबेड म्याक्कोएले समान २–२ विकेट लिए । 

यसअघि नेपालले टस जितेर पहिले फिल्डिङ रोजेसँगै ब्याटिङ गरेको वेष्ट इन्डिजले आक्रामक खेल्दै ५ विकेटको क्षतिमा २०४ रन बनायो । 

कप्तान रोस्टन चेजले ४६ बलमा ७४ रन बनाए । त्यस्तै ओपनर एलिक एथानाजले २५ बलमा ४७ तथा केसी कार्लीले २६ बलमा ३८ रन बनाए । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरी, कमल ऐरी, अविनाश बोहरा र रोहित पौडेलले १–१ विकेट लिए । कमजोर बलिङ गरेको नेपालले १७ रन अतिरिक्तका रुपमा दिएको थियो । 

आगामी जुन २ तारिखमा वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने विश्वकपको तयारीका लागि नेपाललाई यो निकै राम्रो अवसर रहेको छ । पहिलो खेलबाट कप्तान रोहितको लामो समयदेखि खड्किएको ब्याटिङ पनि खुलेको छ । नेपालको सबैभन्दा ठूलो ‘स्ट्रेन्थ’ बलिङ भए पनि बलिङको लय पकड्न सकेको छैन । 

पाँच खेलको टी–२० श्रृंखला खेल्न पहिलो पटक वष्ट इन्डिजको ए टिम नेपाल आएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ