arrow

होटल खुल्ने लहर 

व्यवसायी नै आत्तिदै भन्छन् –मोफसलमै ४२ वटा फाइभ स्टार होटल कसरी धान्ने ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २० बिहिबार
binayak-shah-han-president.jpg

काठमाडौँ । नेपालमा बढ्दै गएको होटलको संख्याबाट होटल व्यवसायी नै आत्तिन थालेका छन् । देशमा पर्यटकको संख्याको वृद्धिभन्दा होटल खुल्ने क्रम बढ्न थालेपछि होटल क्षेत्रको स्थायित्व र दीगोपनप्रति उनीहरु सशंकित बनेका हुन् ।

सरकारले सन् २०२३ मा झण्डै १२ लाख पर्यटक भित्रिएको तथ्यांक प्रस्तुत गरेको छ तर यो संख्याले होटलहरुको ४० प्रतिशत अकुपेन्सी मात्रै हुने होटल एशोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाह बताउँछन् । 

उनी भन्छन्, ‘हामी क्रसरोडमा उभिएका छौँ । एकै महिना १ लाख २८ हजार पर्यटक आएको तथ्यांक छ, तारे होटेलको निर्माणसमेत राम्रो छ तर सप्लाईको तुलनामा हाम्रो डिमाण्ड बलियो भएन । त्यही भएर अहिले अधिकांश होटलहरु नोक्सानमा चलेका छन् ।’

उनले अहिले मोफसलमा मात्रै २२ वटा पाँचतारे होटल रहेको भन्दै आगामी २ वर्षभित्र थप २० वटा होटल तयार हुने बताए । यी सबैले पर्याप्त काम पाउने गरी पर्यटक भित्र्याउने चुनौती छ । भैरहवा र लुम्बिनी क्षेत्रमा होटल व्यवसायी सडकमा आइसकेको उनको भनाइ छ ।

अहिले देशभर एकैसाथ बन्दै गरेको सडकका कारण पर्यटनमा प्रभाव परिरहेको भन्दै तत्कालको लागि नेपाललाई ट्रेकिङ वा टुरको रुपमा भन्दा पनि समारोह र विडिङ डेस्टिनेसनको रुपमा ब्राण्डिङ गर्नुपर्नेमा उनको जोड छ ।

खुल्दै गरेका होटलहरुमा काम गर्ने जनशक्तिको समेत पछिल्लो समयमा अभाव हुँदै गएको छ । युवा विदेशिने क्रम बढ्दै जाँदा दक्ष जनशक्ति पाउन छोडेको र अर्धदक्ष र अदक्ष कामदारहरुको समेत अभाव रहेको शाह बताउँछन् ।

कोभिड महामारीसँगै भएको लकडाउनको प्रभावबाट होटल व्यवसाय मुक्त भइनसकेको भन्दै अहिले पनि अधिकांश होटल रेष्टुरेन्टले बैंकको सावाँब्याज तिर्नसक्ने अवस्था नरहेको उनको भनाइ छ ।

‘त्यही भएर होटलहरुको ऋणलाई पुनर्संरचना र पूँजीकरण गर्न भनिरहेका छौँ । मौद्रिक नीतिले यो विषयलाई समेट्नुपर्छ’, शाहले भने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ