arrow

शुरु भयो यार्सा सिजन, मुगुका पाटनहरु जेठ  १५ देखि प्रवेश खुला 

logo
नृपेन्द्रबहादुर मल्ल, 
प्रकाशित २०८१ वैशाख २० बिहिबार
yarsha-collection-mugu.jpg
तस्बिर – फाइल ।

मुगु । मुगु जिल्लास्थित मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रहरुमा पाइने बहुमुल्य बुटी यार्चागुम्बा जेठ १५ गतेदेखि संकलनका लागि प्रवेश खुला गरिने भएको  छ ।

जेठ १५ गतेबाट पाटन क्षेत्रमा यार्सा संकलन शुरु गर्ने निर्णय भएको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए । जिल्ला बाहिरकालाई प्रतिब्यक्ति २ हजार ५ सय र जिल्ला भित्रकालाई प्रतिब्यक्ति २ हजार रुपैयाँ यार्सा संकलन प्रवेश शुल्क निर्धारण गरिएको छ ।
 
अध्यक्ष लामाका अनुसार प्रवेश शुल्क नतिरेर लुकीचोरी पाटनमा पुगेर यार्सा टिप्ने जो कोहीलाई कारबाही गर्ने निर्णय पनि पालिकाले गरेको छ । चैत महिनादेखि पाटनमा यार्सा उम्रिने शुरु गर्ने र जेठबाट स्थानीयले टिप्ने गरेको किम्री गाउँका स्थानीय फोन्जुक तामाङले बताए ।  

गर्मीले पाटन क्षेत्रमा हिउँ पग्लिदै जाने र यार्साको टुसा माथि जमीनमा देखिन थालेपछि टिप्न सजिलो हुने गर्दछ । मुगुका पाटन क्षेत्रहरुमा उम्रिने यार्सा संकलन गर्न जिल्ला बाहिर र जिल्ला भित्रबाट सयौँ जना बर्सेनि बैशाखदेखि असारसम्म पाटन पुग्ने गरेका छन् । 

छोटो समयमा यार्सा संकलनबाट राम्रो आम्दानी हुने भएकाले कार्मारोङ गाउँपालिकासहित मुगु जिल्लाका अन्य पालिकाका गाउँ बस्तीहरुका काम गर्न सक्ने उमेरका स्थानीयहरु,  बुढापाका र बालबच्चाको भारमा चौपाया बस्तु घरमा छोडेर पाटन उक्लिने गर्दछन् ।

पाटनमा डेढ महिनासम्म यार्सा टिपेर स्थानीय फर्किने गरेका छन् । गत वर्ष मुगुको पाटन क्षेत्रमा अत्यधिक मात्रमा यार्सा पाइएको र यो वर्ष खडेरी परेको र हिउँ कम परेकाले यार्सा कमै पाइने स्थानीयहरु बताउँछन् ।

मुगुको पाटन क्षेत्रमा पाइने यार्सा प्रति गोटा ५ सयदेखि १ हजारमा बिक्री हुने गरेको छ । यार्सा संकलन क्षेत्रमा चोरी डकैती लुटपाट नहोस् भन्ने हिसाबले जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मी  खटाउँदै आएको छ भने पाटनमा स्वास्थ्यका कर्मचारी पनि यार्सा संकलनको स्वास्थ्य उपचारका लागि खटिने गर्दछन् ।

मुगुम कार्मारोङ गाउँपालिकाको सानो कोइकी, ठूलो कोइकी, रिमार, टाके, हाङदाङखोला,छापाखोला, लगायत २ दर्जन पाटनहरुमा बढी यार्सा पाइने गरेको छ । 

यार्सा टिप्न कार्णालीका १० वटै जिल्ला र देशका अन्य जिल्लाहरु बाजुरा, अछाम, बझाङ, पोखरा, मनाङ, मुस्ताङ, सिन्धुपाल्चोकबाट पनि मान्छेहरु पाटनमा पुग्ने गर्दछन् । 

संकलकहरुबाट यार्सा खरिद गर्न काठमाडौँ, पोखरा, बझाङ, डोल्पाबाट व्यापारीहरु हेलिकोप्टरमै पाटनमा आउने गरेका छन् ।

गत वर्ष लुकिछिपी यार्सा टिप्न पाटन क्षेत्रमा पुगेका ३ जना संकलकको हिउँ पहिरोमा परी  मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ